सुर्योदय आधारभूत विद्यालय को ७० औं वार्षिक उत्सव तथा अभिभावक मिलन समारोह सम्पन्न

बाबुराम नेपाली
  • ख-
  • ख+

तनहुँ । आँबु खैरेनी गाउँ पालिका वडा नं १ यान्चोकटार मा अवस्थित श्री सुर्योदय आधारभूत विद्यालय को ७० औं वार्षिक उत्सव तथा अभिभावक मिलन समारोह सम्पन्न भएको छ। आँबु खैरेनी गाउँ पालिका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्यमा संचालन भएकोसो कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमाल बाचेमगरले ग्रहण गर्नुभएको थियो भने विशेष अतिथि भुतपुर्व ब्रिटिश सैनिक अधिकारी तथा दाता हुकुमराज बाचे , गाउँ पालिका उपाध्यक्ष दुर्गा अर्याल , आँबु गाउँ पालिका वडा न। १ का वडाध्यक्ष प्रेम बहादुर गुरुङ लगायत हुनुहुन्थ्यो । शिक्षकद्वय बिन्दा कोइराला र तीना गुरुङ्गले संचालन गर्नुभएको सो कार्यक्रममा शिक्षक खिनमाया थापाले स्वागत मन्तव्य दिनुभएको थियो भने प्रधानाध्यापक बिष्णु अधिकारीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सो समारोहमा विशेष अतिथि हुकुमराज बाचेले विद्यालयलाई खेल तथा शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको थियो भने समाजसेवी हस्त बहादुर किचिम, प्रेम बहादुर किचिम, देउ बहादुर किचिम, मोतीलाल किचिम, महादेव किचिम लगायत अन्यले आर्थिक सहयोग प्रदान गर्नुभएको थियो। त्यस अवसरमा विद्यालयमा कार्यरत शिक्षकहरुले पनि विद्यालयको लागि आर्थिक सहयोग गर्नुभएको थियो।
६ लाख साठी हजार भन्दा माथीको अक्षय कोष स्थापनाको लागि प्रमुख दायित्व निभाउनुहुने तथा स्कुलको सौचालयको टाइल र मैदानमा इन्टरलकको लागि आर्थिक सहयोग गर्ने तःता खेलकुद तथा शैक्षिक सामाग्री उपलब्ध गराएर सहयोग गर्ने समाजसेवी तथा भुतपुर्व ब्रिटिश सैनिक अधिकारी हुकुमराज बाचेले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यालयको शैक्षिक तथा भौतिक स्तर वृध्दिको लागि सबैजनाको सहयोगको अति आवस्यकता रहेको बताउनुहुँदै सहयोग गर्नुहुने सम्पूर्ण दाताहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो। गतवर्ष ५५ हजार रुपैया सहयोग गर्नुभएको समाजसेवी हस्त बहादुर किचिमले यस वर्ष ४५ हजार रुपैया थप गरी सहयोग रकम एक लाख पुरा गर्नुभएको थियो।
उक्त समारोहमा शुभकामना मन्तव्य दिनुहुँदै प्रमुख अतिथि शुक्र चुमानले गाउँ पालिकाले वार्षिक १ करोड ५० लाख शिक्षकको तलबको लागि मात्रै खर्च गर्ने तथा यस सुर्योदय आधारभूत विद्यालयको लागि मात्रै मासिक १ लाख रुपियाँ तलब खर्च भार व्यहोरिरहेको बताउनुभयो।
शिक्षक तथा विद्यार्थीद्वारा कागजले हातैले तयार पारिएको व्याज तथा स्थानिय फूल बाट तयार पारिएको मालाले अतिथिलाई स्वागत गरिएको सो कार्यक्रममा सेल रोटी , बारा र स्थानिय अचार खाजाको रुपमा वितरण गरिएको थियो। सहयोगी दाताहरुलाई प्रमुख अतिथि शुक्र चुमान, विशेष अतिथि दुर्गा अर्याल तथा प्रेम गुरुङले दोसल्ला ओढाएर सम्मान गरिएको थियो। विद्यालयमा अध्ययनरत बाबु नानीहरुले विभिन्न नृत्यले मनोरंजन प्रदान गर्नुभएको थियो भने स्थानिय गायिका तथा शिक्षिका सिर्जना गुरुङले गीत गाएर अभिभावकलाई नचाउन सफल हुनुभएको थियो।

बि.सं. २०१२ सालमा स्थापित यो विद्यालय यस आँबुखैरेनी गाउँ पलिकाकै पहिलो विद्यालय हो। यस विद्यालयका भूतपूर्व प्रधानाध्यापक स्व. गिर बहादुर थापाको भनाइ अनुसार यस यान्चोक गाउँका ब्राम्हणहरुले बि.सं. २०१० तिरबाट नै घरमा तथा चौरमा शिक्षा दिएर विद्यालय संचालन गर्न शुरुवात गरेता पनि रुखको फेदमा बसेर पढाउन शुरु गरिएको यो विद्यालय अस्थायी रुपमा बि.सं. २०१२ मा दर्ता भई बि.सं. २०१६ सालमा स्वीकृत भएको हो। उहाँका अनुसार संस्थापक शिक्षक सुर्य प्रसाद अधिकारीको नामबाट नै यस विद्यालयको नाम सुर्योदय रहन गएको हो।
गाउँले मिलेर स्याउलाको छाप्रो बनाएर संचालन गर्न थालिएको । तत्कालिन ब्रिटिश सैनिकका मेजर नर बहादुर थापाको सक्रियतामा साउने पानीको पाखाबाट स्थानीयको श्रमदानबाट ढुङ्गा माटोको भवन बनाएर बर डाँडामा स्थानान्तरण गरियो। समयक्रममा बस्ती बिस्तारै याञ्चोकबाट टारमा स्थानान्तरण हुन थालेपछि विद्यालय अहिलेको स्थानमा सारिएको हो। अहिले यो विद्यालय सुविधायुक्त खेल मैदान सहित १० कोठे पक्कि भवनमा परिणत भएको छ। बि.सं.२०१६ सालमा स्थायी स्वीकृति पाएपछि बि.सं. २०२२ देखि कक्षा ५ सम्म संचालन हुँदै आएको र बि.सं. २०७६ मा कक्षा ६, बि.सं. २०७७ मा कक्षा ७ र बि.सं. २०७८ मा कक्षा ८ सम्म संचालनमा आएको थियो। २०८० सालबाट गाउँ पालिका स्तरिय शैक्षिक सुधारको अभियानसंगै यो विद्यालय पुनः कक्षा ५ सम्म मात्र संचालन गरिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्