आँबुखैरेनी-पढाई, चित्रकला अनि कमाई

बाबुराम नेपाली
  • ख-
  • ख+

दोस्रो आँबु खैरेनी महोत्सव २०८० मा आँबुखैरेनी गाउँ पालिका वडा नं. १ मित्रता माध्यमिक विद्यालयका विद्यार्थीहरुले बनाएका चित्रहरुको स्टल राखिएको छ ।
”पढाई सँगै सीप पढ्दै कमाउँदै ” भन्ने आँबु खैरेनीको गाउपालिकाको कार्यक्रम अन्तर्गत मित्रता माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रछात्राले बनाएका चित्रकलाहरु यस अघि गाउँपालिकास्तरीय शैक्षिक सामाग्री प्रदर्शनीमा प्रदर्शन गर्दा कार्यक्रमको मुख्य आकर्षण बनेको थियो । व्यवसायिक शिक्षाको नौलो प्रयोगको रुपमा शुरु गरिएको चित्रकलाले प्रदर्शनीमा अवलोकनकर्ता ध्यानाकर्षण गर्न सफल भएपछि यसलाई दोस्रो आँबुखैरेनी महोत्सवमा पनि प्रदर्शन गरियो ।
तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार ईकाईको आयोजना फागुन १० गते देखी २० गते सम्म सन्चालन भएको दोस्रो आँबुखैरेनी महोत्त्सव २०८० मा चित्रकला प्रदर्शनीको लागि निशुल्क स्टल उपलब्ध गराइएको थियोे । यस प्रदर्शनीमा महोत्सवमा उपस्थित दर्शकहरुको निकै राम्रो प्रतिक्रिया रहेको बताउने प्रशिक्षक पवन नेपालीका अनुसार विद्यार्थीले बनाएका केही चित्रकलाहरु बिक्री पनि भएको छ । यसबाट चित्र कोरेर आम्दानी पनि गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश आएको उहाँ बताउनुहुन्छ । छोटो समयमा दिएको आधारभुत प्रशिक्षणले पनि राम्रो र अर्थपूर्ण चित्र बनाउन सक्षम भएका तालिममा संलग्न विद्यार्थीहरु मध्ये केही विद्यार्थीहरुले भविष्यमा निकै राम्रो चित्रकला बनाउन सक्ने सम्भावना रहेको छ ।
मित्रता माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बोगटी भन्नुहुन्छ ”अल्वर्ट आइन्सटाइनको भनाइ अनुसार ज्ञान भन्दा कल्पना बढी महत्वपूर्ण छ । ज्ञान सिमित छ , कल्पनाले संसार घेरेको छ । हामीले आइन्सटाइनको यही भनाइलाई मध्यनजर गर्दै विद्यार्थी को कल्पनाशिलता बृद्धि गर्ने उद्देश्यले गाउँपालिकामा चित्रकला तालिमको लागि अनुरोध गर्‍यौं र पालिकाबाट प्रशिक्षक उपलब्ध गराइयो । २…३ हप्ताको छोटो तालिमले पनि राम्रो परिणाम आएको छ। वास्तवमा मैले अपेक्षा गरेभन्दा पनि राम्रो कलाकार मित्रता माध्यमिक विद्यालयमा रहेछन् । परिस्थिति अनुकुल रहेमा यो प्रशिक्षणलाई निरन्तरता दिइनेछ ।”
”विद्यालयमा कलाको प्रवेश गराउन आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानको ठुलो भुमिका रहेको” प्रशिक्षक पवन नेपाली बताउनुहुन्छ।
”कहिलेकाही घरमा आफ्नै किसिमले पेन्सिल स्केच गरेर मान्छेको अनुहार बनाउने मनिषा भुजेल पहिलोपटक रङ्ग र कुचीसँग खेल्न पाउँदा निकै खुशी भएको ” बताउनुहुन्छ । प्रशिक्षण अवधिमा उहाँले बनाउनुभएको नारी उत्पिडन तथा यौन दुर्व्यवहार झल्काउने सांकेतिक चित्रकला सबैको नजराना परेको र महोत्सवमा सबैभन्दा पहिला बिक्री भएको थियोे ।
एक्रेलिक कलर प्रयोग गरी पृष्ठभुमिमा हिमाल बनाएर घुमाउने घर सहितको प्राकृतिक दृश्यलाई क्यानभासमा उतार्नुभएको प्रतिक्षा गुरुङ ”थोरै तालिमले नै यति गर्न सकिएको र यो तालिम अझै विस्तारित रुपमा लिन पाए धेरै राम्रा चित्र्हरु बनाउन सकिने” आशा व्यक्त गर्नुहुन्छ ।
नाङ्लोमा चित्र बनाउनु हुने अबिगेल भुजेल ”चित्रकला क्यानभासमा मात्रै सिमित नभएर विभिन्न बस्तुहरुलाई बहुमुल्य बनाउने रहेछ भन्ने कुराको जानकारी पाएको” बताउनुहुन्छ ।

यस चित्रकला तालिमका प्रशिक्षक तथा पुर्व शिक्षक पवन नेपाली ”आफुले शिक्षण गर्दा पनि अतिरिक्त समयमा विद्यार्थीलाई चित्रकला सिकाउने गर्नुहुन्थ्यो र त्यस समयमा विद्यार्थीहरुले देखाएको उत्साहको कारणले यसरी तालिम सन्चालन गर्ने सोच आएको” बताउनुहुन्छ । ”स्थानिय सरकार र सम्बन्धित विद्यालयको सहकार्य भएमा यसलाई पाठ्यक्रममा नै राखेर नियमित गराउन चाहेको” उहाँ बताउनुहुन्छ ।
दोस्रो आँबुखैरेनी महोत्सवमा विद्यार्थीहरुले तयार पारेका ६ वटा चित्रकला बिक्री भएको थियो र त्यसबाट बीस हजार रुपैया आम्दानी भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?