सयपत्री फुल खेतिको सफलतापछि धुप बनाउदै आँबुखैरेनी यान्चोकका महिला

बाबुराम नेपाली
  • ख-
  • ख+

 तनहुँ । आँबुखैरेनी गाउँ पालिका वडा नं. १, सत्रसय यान्चोक स्थित यान्चोक गाउँ आमा समुह घरमा जैविक धुप बनाउने ५ दिने तालिम सम्पन्न भएको छ । गरीबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत सन्चालन गरिएको सो तालिम प्रशिक्षक सुस्मिता थापामगरको प्रशिक्षणमा सम्पन्न भएको हो । यस कार्यक्रममा यान्चोक आमा समुह र आँदीमुल आमा समुहको सहभागिता रहेको थियो ।
यस अघि यी दुई आमा समूहले २२ रोपनी जग्गामा सयपत्री फूलको खेती गरी करीब ३ लाख बराबरको फूल तथा तयारी माला बिक्री गरेको थियो । आँबुखैरेनी गाउँपालिकाले बिरुवा , मल तथा प्राविधिक सहयोग नि: शुल्क उपलब्ध गराई सन्चालन गरिएको व्यवसायिक पुष्प उत्पादन कार्यक्रम निकै उत्साहप्रद रहेको आँदीमुल आमा समुहका अध्यक्ष ललिता थापा मगर बताउनुहुन्छ ।
सयपत्री मालाको लागि अत्याधिक प्रयोग हुने, यसमा किटनाशकिय गुण हुने हुनाले यसमा किराले दुख नदिने तथा यसको पातबाट हानिरहित जैविक किटनाशक बनाउन सकिने तथा ग्रेडिङबाट माला बनाउन तथा पुष्प गुच्छा बनाउन अनुपयुक्त तथा बिक्री नभएका फुलबाट धुप तथा अत्तर बनाउन सकिने हुनाले यो बहुपयोगी रहेको आँबुखैरेनी कृषि शाखा प्रमुख सन्तोष के. सी. बताउनुहुन्छ । उहाँका अनुसार सयपत्री खेती शुरु गर्दा नै गाउँ पालिकाले सुगन्धित धुपको अवधारणा ल्याएको हुनाले यो तालिम कार्यक्रम त्यसैको निरन्तरता हो ।
ग्रेडिङ्बाट निस्किएका , बिक्री नभएका तथा भाले फूल गरी ४ क्वीन्टल फूल सुकाएर भण्डारण गरि त्यसैको धुलो नै धुपको मुख्य कच्चापदार्थ हो । स्थानीय रुपमा उपलब्ध हुने काउलो, बिभिन्न सुगन्धित फूल तथा बनस्पति , साल धुप, बाँस ,अँगार तथा नेपाली कागज प्रयोग गरेर बनाइने भएकोले कुनै पनि रसायन तथा कच्चापदार्थ आयात गर्नु नपर्ने भएकोले स्वदेशी पैसा बाहिर नपठाइकन नै उद्योग संचालन गर्न सकिने हुनाले यसबाट राष्ट्रलाई नै ठुलो योगदान हुने देखिन्छ । यसमा प्रयोग हुने सम्पुर्ण जसो सामाग्री जैविक हुनाले वातावरण संरक्षणको लागि पनि यो निकै प्रभावकारी छ ।
सानो लागानीबाट शुरु गर्न सकिने यो व्यवसाय व्यक्तिगत रुपमा घरमा नै बसेर पनि गर्न सकिन्छ । सामुहिक रुपमा गर्दा आवस्यक कच्चापदार्थ उत्पादन तथा संकलन गर्न सहज हुने भएकोले एउटा सक्षम उद्योगको रुपमा अगाडी लैजान सकिने हुनाले सामुहिक उत्पादन नै आफ्नो प्राथमिकता रहेको ललिता थापामगर बताउनुहुन्छ ।
समापन समारोहमा बोल्दै आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले भन्नुभयो , ” तपाईंहरु उत्पादन गर्नुस् , गाउँपालिकाले बिक्री गर्ने बातावरण बनाउँछ । म आफै यसको ब्राण्ड एम्बेसडर बनेर हिँड्नेछु ।” यान्चोक आमा समुहका अध्यक्ष सुनिता आले गन्द्रमा भन्नुहुन्छ , ” हामी नेपालीहरु बढी नै आस्थावान छौँ त्यसकारण पनि बजार त्यति गाह्रो नहोला । हामीले आँदीमुल, अकला, छिम्केश्वरी, शिवालय मन्दिर लगायत गुम्बाहरुमा धुपको अत्याधिक प्रयोग हुने ठाउँ हरुमा हाम्रो धुप नै प्रयोग गर्ने लक्ष्य राखेका छौँ ! सम्पुर्ण रुपमा जैविक सामाग्रीहरु प्रयोग गरिएकोले यो स्वास्थ्यको लागि पनि लाभदायक रहेको छ ।” उहाँ भन्नुहुन्छ , ” हाम्रो लक्ष्य सामुहिक रुपमा उद्योगकै रुपमा संचालन गर्ने नै हो तर यदि कुनै कारण बस त्यो सफल नभएको खण्डमा व्यक्तिगत रुपमा भएपनि अब उप्रान्त यही काम गर्छु । यो काम गर्दा मलाई पवित्र अनुभुति भएको छ ।”
यान्चोक आमा समुहका २० जना र आँदीमुल आमा समुहका १३ जना गरी जम्मा ३३ जना सहभागी भएको तालिम कार्यक्रम समापन समारोहमा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले सहभागीहरुलाई प्रमाणपत्र बितरण गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्