नेपालमा अब जन्म दर्ता गराउँदा नै अब राष्ट्रिय परिचय नम्बर उपलब्ध गराईने

सर्वज्योति
  • ख-
  • ख+

सरकारले जन्म दर्ता गर्दा नै राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराउने निर्णय कार्यान्वयनमा ल्याएको छ।

उक्त निर्णय अनुसार नेपाली नागरिकका १६ वर्ष भन्दा कम उमेरका सन्तानको जन्म दर्ता गराउने क्रममा जन्म दर्ताको प्रमाणपत्रमा नै राष्ट्रिय परिचय नम्बर उल्लेख गरिनेछ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशकले नाबालिग रहेको समयमा दिइने परिचय नम्बर नै उल्लेख गरेर नागरिकता प्राप्त गरेपछि सम्बन्धित व्यक्तिबाट बायोमेट्रिकसहितका विवरण लिएर परिचयपत्र उपलब्ध गराइने बताए।

विक्रम सम्वत् २०६६।६७ को बजेट बुँदामा उल्लेख भएर अघि बढाइएको उक्त स्मार्ट कार्ड अभियान अन्तर्गत हालसम्म करिब १ करोड ४० लाखको विवरण सङ्कलन भएको छ।
तर हालसम्म ३ लाख ८१ हजार मात्रै कार्ड वितरण भएको सरकारी तथ्याङ्क छ जसलाई सुधार गर्ने प्रयास आफूहरूले गम्भीरतापूर्वक गरिरहेको अधिकारीहरू बताउँछन्।

नयाँ निर्णयमा के भनिएको छ ?
राष्ट्रिय परिचय नम्बरसहितको जन्म दर्ताको प्रमाणपत्र जारी गर्न अघिल्लो साताको सुरुमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशभरका सबै स्थानीय तह, घटना दर्ता प्रणाली सञ्चालन गर्न र दर्ता गर्न तोकिएका सबै निकाय र विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूलाई परिपत्र गरेको थियो।

उक्त निर्णयको कार्यान्वयन सुरु भइसकेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कटेलले बताए।

उनी भन्छन्, “कुनै पनि बच्चाको जन्म दर्ता गर्दा नै अबदेखि हामीले परिचयपत्र कार्डका लागि विवरण सङ्कलन गरिरहेका छौँ। यो मुलुकका सबै नागरिकहरूले राष्ट्रिय परिचय नम्बर पाए भने त्यसबाट उनीहरूलाई सेवा प्रवाह गर्न र पहिचान गर्न सकिन्छ भन्ने हाम्रो उद्देश्य हो।”

उनले जन्म दर्ताकै आधारमा परिचयपत्र दिँदा त्यसले नागरिकता वितरणलाई पनि सहज हुने उल्लेख गर्दै थपे, “घटना दर्ता गर्दाकै बखतमा राष्ट्रिय परिचयपत्र नम्बर दियौँ भने अब नागरिकता पनि थप व्यवस्थित हुने भयो। त्यसकै आधारमा व्यक्तिले राष्ट्रिय परिचयपत्र नम्बर पायो। त्यसले तथ्याङ्क सङ्कलनमा पनि मद्दत गर्ने भयो किनभने हाम्रो डेटाबेसहरू बढ्दै जाने भयो।”
आफ्नो परिपत्रमा विभागले जन्म दर्ताको प्रमाणपत्र संशोधन तथा प्रतिलिपि जारी गर्दा समेत राष्ट्रिय परिचय नम्बरसहितको संशोधित तथा प्रतिलिपि प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गर्न निर्देशन दिएको छ।
त्यसबाहेक कुनै प्राविधिक कारणले जन्म दर्ता गर्दा राष्ट्रिय परिचय नम्बर प्राप्त हुन नसकेमा विभागमा सम्पर्क गरी नम्बर प्राप्त भएपश्चात मात्रै जन्म दर्ता प्रमाणपत्र जारी गर्न उसले भनेको छ।

जन्मदर्ताका बेला प्राप्त हुने नम्बर र विवरणका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिहरूले बायोमेट्रिक, आँखाको रेटिना र फोटो बुझाएर परिचयपत्र लिनसक्ने अधिकारीहरू बताउँछन्।

उनले १५ वटा विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूबाट पनि यो अभियान सुरु भएको जनाए।

साभार बिबिसि

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्