लमजुङको राइनास ५ मा शिक्षक, कर्मचारी र जनप्रतिनिधीद्धारा छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय

सर्वज्योति
  • ख-
  • ख+

५ चैत । लमजुङ । लमजुङको राइनास नगरपालिका वडा नं. ५ अर्न्तगतका विद्यालयका प्रधानाध्यपक, शिक्षक, कर्मचारी र जनप्रतिनिधीले आफ्ना छोरा छोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेका छन् ।

वडा समितिको आयोजनामा वडाका जनप्रतिनिधि, वडामा रहेको तिन वडा सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी, व्यवस्थापन समिति, स्थानीय समाजसेवी वुद्धिजिवीहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले वडाभित्र बसोवास गर्ने सरकारी तलब भत्ता र सेवासुविधा लिएका शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिले आउँदो शैक्षिकसत्रदेखि आफ्ना छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको हो ।

वडामा रहेका सामुदायिक विद्यालयको शैक्षिकस्तर वृद्धि र सकारात्मक सन्देश दिनका लागि यस्तो निर्णय भएको वडा अध्यक्ष शंखबहादुर सार्कीले बताउनुभयो । वडाअध्यक्ष सार्कीको अध्यक्षतामा वसेको बैठकले शैक्षिक सत्र २०८१ को भर्ना अभियान सफल बनाउन वडाका तीनवटै विद्यालयमा एकैसाथ भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
.
वडा नं. ५ मा शिशु विद्याश्रम मा. वि., प्रगति प्रा. वि. र बसन्तावती प्रा. वि. गरी तिन सामुदायिक विद्यालय रहेका छन् । आगामी शैक्षिक सत्रको भर्ना अभियान, वार्षिक कार्यतालिका, अतिरिक्त क्रियाकलाप, त्रैमासिक परिक्षा लगायतका शैक्षिक गतिविधि शिशु विद्याश्रम मा. वि. को नेतृत्वमा एकै साथ सञ्चालन गर्ने गराउने निर्णय भएको वडा समितिले जनाएको छ ।

बैठकमा कार्यापालिका सदस्य कल्पना सुनार, वडा सदस्यहरु, तिन वटै विद्यालयका प्र.अ., शिक्षक प्रतिनिधि, स्थानीय लगायतको उपस्थिती थियो ।

साभारः मर्स्याङदी समाचार

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्