विदेशबाट स्वास्थ्यका शैक्षिक कार्यक्रममा डिप्लोमा गर्नेहरु बढे, सीमा क्षेत्रमा भारतीय कलेज थपिदैं

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं—चिकित्सा शिक्षा आयोग स्थापना भएर डिप्लोमा तहका शैक्षिक कार्यक्रम संचालन गर्ने संस्थाहरु घटेसँगै विदेशबाट पढेर आउनेको संख्या बढेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी)मा विदेश पढेर आउने विद्यार्थीले गराउने समकक्षता प्रमाणिकरणको तथ्यांकले विदेशमा चिकित्सा शिक्षाका डिप्लोमा तह पढ्नेहरुको संख्या बढेको देखिन्छ । सिटीइभिटीले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्ला दुई वर्षमा ४ सय ७ जनाले बाहिर पढेर आएको समकक्षता प्रमाणीकरण गरेका छन् । आर्थिक वर्ष २०७१/०७२ देखि ०७७/०७८ सम्म जम्मा ४१६ जनाले मात्रै समकक्षता प्रमाणीकरण गराएका थिए । समकक्षता प्रमाणीकरण गराउनेमा ल्याब, एचए, डिप्लोमा इन फार्मेसी र पिसीएल नर्सिङ गरेर अध्ययन गरेर आउनेहरु छन् । वि.सं. २०७५ मा चिकित्सा शिक्षा ऐन र वि.सं. २०७६ मा चिकित्सा शिक्षा आयोग बनेपछि आफ्नै १०० शैय्याको अस्पताल हुनेले मात्रै डिप्लोमा तहका चिकित्सा शिक्षाका कार्यक्रम संचालन गर्न पाउने र विश्वविद्यालय र प्रतिष्ठानहरुले डिप्लोमा तहको कार्यक्रम संचालन गर्न नपाउने भएपछि नेपालमा डिप्लोमा तहमा पढाइ हुने सिट संख्या घटेको हो ।
सिट संख्या घटेसँगै छिमेकी देश भारमा गएर चिकित्सा शिक्षाका डिप्लोमा तहका कार्यक्रम अध्ययन गरेर आउनेको संख्या बढ्न थालेको हो । सिटिइभिटीको तथ्यांकअनुसार वि।सं। २०७१/७२ मा ९ जना, ०७२/०७३ मा १४ जना, ०७३/०७४ मा २८ जना, ०७४/०७५ मा ५३ जना, ०७५/०७६ मा ११३ जना, ०७६/०७७ मा १०९ जना, ०७७/०७८ मा ९० जना विदेश पढेर आएको देखिन्छ । आयोग स्थापना भएर ऐन कार्यन्वयनमा आएपछि त्यो संख्या झण्डै दोब्बरले वृद्धि भएको छ । ०७८/०७९ मा १४६ जना र ०७९/०८० मा २६१ जनाले विदेश पढेर आएर समक्षकता प्रमाणीकरण गरेका छन् । यी विद्यार्थीहरु आर्थिक वर्ष ०७५/०७६ र ०७६/०७७ मा अध्ययन गर्न गएर आएका हुन् । सिटीइभिटीको पाठ्यक्रम विकास तथा समकक्षता महाशाखाका प्रमुख अनुज भट्टराई बाहिर पढेर आउने ८२ प्रतिशत विद्यार्थी भारतमा पढेर आउने गरेको बताउँछन् । भारतमा पिसिएल नर्सिङ पढाइ नहुने हुँदा यो संख्या देखिएको छैन । तर, यस वर्ष भारत सरकारले नै १५७ वटा नयाँ नर्सिङ कलेज स्थापना गरेर नेपाली विद्याथी तान्ने रणनीति बनाएपछि यो संख्या बढ्ने जानकारहरु बताउँछन् ।
भारतीय कलेजहरुले नेपालबाट विद्यार्थी लैजानका लागि सिटीइभिटीद्वारा मान्यता प्राप्त र नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भन्दैं नेपालका सीमा क्षेत्रका सहरहरुमा विज्ञापन गर्न थालेका छन् । तर, दुवै परिषद्ले विदेशी कुनै पनि संस्थालाई मान्यता नदिएको र दर्ता नगरेको दावी गरेका छन् । भारतीय कलेजहरुले निकालेको विज्ञापनअनुसार उनीहरुले स्वास्थ्यको डिप्लोमा तहको कोर्सका लागि नेपाली विद्यार्थीलाई तीन लाख भारतीय रुपैयाँ लिने भनिएको छ । तर, जानकारहरु यो विशुद्ध कलेजले लिने ट्युसन शुल्क मात्रै रहेको थप अन्य शुल्क जोड्दा नेपाली १० लाख रुपैयाँ पुग्ने बताउँछन् । ती कलेजहरुले सिटीइभिटीकै पाठ्यक्रम कपी गरेका छन् । स्रोतकाअनुसार पढाउने शिक्षक पनि नेपाली नै हुन्छन् भने विद्यार्थी पनि नेपालबाटै लगेर पढाइन्छ ।

साभारः हेल्थ आवाज

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्