दशैंमा कसैको घरमा पनि जान्न, तपाई‌हरु पनि मेरोमा नआउनु होला : हरिव‌श

  • ख-
  • ख+

काठमाडौं । वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्यले शुरुमा कोरोना लाग्नबाट डराउन र लागिसकेपछि नडराउन सुझाव दिएका छन्।

यति गर्न सकेमा कोरोनाबाट मुक्त हुन मनोवल बढ्ने उनको अनुभव छ ।

युवाहरुको समूह गठित कम्पासले कोभिडको आगमन र बहिर्गमनको विषयमा शनिबार गरेको कार्यक्रममा कलाकार आचार्यले कोरोनालाई सामान्य रुपमा नलिन सबैसँग आग्रह गरे ।

‘यो वर्षको दसैंमा टीका थाप्न म कसैको घरमा पनि आउँदिन, तपाईंहरु पनि कोही पनि मेरो परिवारमा नआउनुहोला’, उनले भने, ‘कोरोनाबाट बच्नका लागि हामी आफूले आफूलाई नै मन्दिर सोचौं, आफनो घर नै मन्दिर सोच र आआफ्नै घरमै बसेर दशैं मनाऔँ।’

कोरोना पोजेटिभ रहेका आचार्यले दशैं दशा हुनेतर्फ विशेष सतर्क रहन आग्रह गरे । उनले आफू बच्ने मात्रै होइन, अरुलाई कोरोनाबाट बचाउनु पनि आफ्नो दायित्व सम्झन आग्रह गरेका छन्।

यो वर्षको दशैं बाँच्ने उत्साहको रुपमा लिन उनले सबैसँग आग्रह गरे ।

‘हामी बाँचिराखे दशैं अर्काे वर्ष पनि आउँछ, भगवान हामीसँगै रहन्छन्’, उनले भने, ‘सार्वजनिक सवारीसाधन प्रयोग गरी दसैंमा यताउती नजानु होला, कोरोनासँग जोगिनु अहिलेको प्रमुख काम हो।’

आफूलाई कोरोना लागेको शनिबार १३ दिन भएको उनले बताए।

‘आइतबार टेष्ट गर्ने योजनामा छ। भोलिको टेस्टबाट म र श्रीमती दुवै कोरोनामुक्त हुने विश्वास छ’, उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्