चलचित्र ‘जुनाः एक व्यथा’ को दोस्रो पोस्टर सार्वजनिक

सर्वज्योति
  • ख-
  • ख+

काठमाण्डौ । बालविवाह तथा महिला हिंसा निरूत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको बहुप्रतिक्षारत चलचित्र ‘जुनाः एक व्यथा’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ। आउँदो माघ २५ गते रिलिज हुने चलचित्र गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको हो। चलचित्रमा जीवन सेञ्चुरीको निर्देशन छ।

पोस्टरमा चलचित्रका प्रमुख कलाकार अस्मिता ढकाल र कृष्णप्रसाद धिताललाई प्रस्तुत गरिएको छ। विवाहित अस्मिता काखमा सन्तान बोकेर निराश भावमा कतै टोलाएकी छन्।

त्यस्तै कलाकार कृष्ण भने कोहीप्रति रिस व्यक्त गरिरहेका छन्। दाह्रीजुँगा र दौरा, टोपीको गेट अपमा देखिएका उनले कर्के नजर र अनुहारको भावले रिसाएको देखिन्छ। पोस्टर राकेश दाहालले डिजाइन गरेका हुन्।

चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मि भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ।

निर्देशक सेञ्चुरीले चलचित्रले ‘बालविवाह सामाजिक अपराध हो। त्यसकारण यसलाई अन्त्य गरौं’ भन्ने नारा लिएको बताए। ‘जुनाः एक व्यथा’ एक ऐतिहासिक र विशिष्ट प्रकृतिको चलचित्र हो।

नेपाली समाजमा व्याप्त महिला हिंसा, बालविवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई यस चलचित्रको माध्यमबाट सम्बोधन गर्ने प्रयास गरिएको छ’, निर्देशक सेञ्चुरीले भने।

उनले चलचित्रले बालविवाह तथा महिलाको मुद्दा बोकेको हुँदा नेपाल सरकारले सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्न लिएको लक्ष्यलाई सघाउने बताए।

पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको चलचित्रमा दीपकप्रसाद घिमिरेको लगानी छ। चलचित्रमा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ। चलचित्रको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन्।

यो चलचित्र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसद, विज्ञ, लेखक, समालोचक लगायतले हेरिसकेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?