महँगी दर १४ महिनायताकै उच्च

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । गत आर्थिक वर्षमा केही नियन्त्रणमा देखिएको मूल्यवृद्धि चालु आर्थिक वर्षको दोस्रो त्रैमासदेखि पुनः बढ्न लागेको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को मंसिरमा वार्षिक उपभोक्ता मुद्रास्फीति १४ महिनायताकै उच्च पुगेको छ । २०८१ मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ को मंसिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९५ प्रतिशत रहेको थियो । २०८० असोजमा ७. ५० प्रतिशत रहेको मुद्रास्फीति त्यसयता लगातार ६ प्रतिशतभन्दा तल रहेको थियो । चालु आर्थिक वर्षको मंसिरमा भने ६ प्रतिशत नाघेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

महंगी दर बढ्दै जाँदा खाद्य तथा पेयपदार्थको समूहको मुद्रास्फीति दोहोरो अंकनजिक पुगेको छ । मंसिरमा उक्त समूहको वार्षिक बिन्दुगत मुद्रास्फीति ९ .९९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९२ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षको मंसिरमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.९२ प्रतिशतले वृद्धि भएको थियो ।

खाद्य तथा पेयपदार्थ समूहको महंगीदर करिब दोब्बरले वृद्धि हुँदा गैरखाद्य तथा सेवा समूहका महंगीदर भने घटेको छ ।

खाद्य तथा पेयपदार्थ समूहमा पनि उपभोक्ताको दैनिक भान्समा अत्यावश्यक तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४३. ०५ प्रतिशतले बढेको छ ।

त्यस्तै, दाल तथा गेडागुडीको १०.६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.७० प्रतिशत र घ्यू तथा तेलको ९.३९ प्रतिशतले बढेको छ । मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १.१८ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको ०.८३ प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ७.९८ प्रतिशत, मदिराजन्य पेयपदार्थको ७.०१ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.७५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ५ . २९ प्रतिशतले बढेको छ ।

ग्रामीण क्षेत्रमा महंगी उच्च

शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा महंगी उच्च देखिएको राष्ट्र बैंकले जनाएको छ । मंसिरमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ६.५२ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.८९ प्रतिशतले बढेको छ ।

मंसिरमा प्रदेशगत रूपमा कोशी र मधेश प्रदेशमा महंगी उच्च देखिन्छ । कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३६ प्रतिशत, मधेश प्रदेशको ६.७७ प्रतिशत र बागमती प्रदेशको ५.८४ प्रतिशत छ ।

त्यस्तै, गण्डकी प्रदेशको ४.८१ प्रतिशत, लुम्बिनी प्रदेशको ५.५३ प्रतिशत, कर्णाली प्रदेशको ४.१९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.६६ प्रतिशत रहेको छ । मंसिरमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.८२ प्रतिशत, तराईको ६.३१ प्रतिशत, पहाडको ५.६५ प्रतिशत र हिमालको ६.५८ प्रतिशत रहेको छ ।

उपभोक्ता मुद्रास्फीति मात्रै नभएर थोक मुद्रास्फीतिसमेत बढेको छ । २०८१ मंसिर महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.५२ प्रतिशत रहेको छ । गत आवको मंसिरमा यस्तो मुद्रास्फीति २.६३ प्रतिशत मात्रै थियो ।

मंसिरमा उपभोग्य वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १२.५९ प्रतिशतु, मध्यवर्ती वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.७७ प्रतिशत र पूँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.२० प्रतिशत रहेको छ । मंसिरमा निर्माण सामग्रीको थोक मुद्रास्फीति ४.१४ प्रतिशतले घटेको छ ।

 

साभारः अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?