तनहुँ । तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाई र तनहुँ उद्योग वाणिज्य संघ सत्रसय बजार इकाईद्धारा आँबुखैरेनीका दुई सामुदायिक विद्यालयका छात्रावासको लागि ६० बोरा चामल सहयोग गरेको छ । बजार ईकाईले आँबुखैरेनी गाउँपालिकामा रहेका मित्रता मा.वि. ररामशाह मा.वि. को छात्रावासको लागि ६० बोरा चामल सहयोग गरेका हुन् ।
एसईई (SEE) परिक्षाको तयारीमा विद्यार्थीहरु लागेको अवस्थामा विद्यार्थीहरुको हितलाई ध्यानमा राखेर सहयोग हस्तान्तरण गरिएको तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाई र तनहुँ उद्योग वाणिज्य संघ सत्रसय बजार इकाईले जनाएको छ ।
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको उपस्थितिमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा छात्रावासलाई तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाईले ५० र सत्रसय बजार इकाईले १० बोरा चामल उपलव्ध गराईएको थियो ।
आँबुखैरेनी गाउँपालिकाले एसईई नतीजा सुधार कार्यक्रम अन्तर्गत गाउँपालिका अन्तर्गतका चारवटा सामुदायिक विद्यालयमा गाउँपालिका, अभिभावक तथा विभिन्न संघ संस्थाको सहकार्यमा आवासीय व्यवस्थापन सहित फागुन १ गतेदेखि माध्यमिक शिक्षा परीक्षा SEE तैयारी कक्षा तथा छात्रावास सञ्चालन गर्नुका साथै कन्यादेवी मा. वि. मा सञ्चालित छात्रावासको व्यवस्थापन, लक्ष्मी मा. वि. मा सञ्चालित छात्रावासको शिक्षकको पारिश्रमिकको व्यवस्था गाउँपालिकाले र खानपानको व्यवस्थापन अभिभावकले गर्ने, छिमकेश्वरी मा.वि. का बिद्यार्थीहरुलाई रामशाह मा. वि.को छात्रावासमा व्यवस्थापन, रामशाह मा. वि. र मित्रता मा. वि. मा सञ्चालित छात्रावासमा शिक्षकको पारिश्रमिकको व्यवस्था तथा उद्योग वाणिज्य संघ तथा बजार इकाईको नेतृत्वमा निजी संघरसंस्थाहरुले खाद्यान्न सामग्रीहरुको व्यवस्थापन गर्ने गरि कार्यक्रम संचालन गरेको छ जस्मा अभिभावकहरुको पनि उल्लेख्य साथ र सहयोग मिलेको पाईएको छ ।
तस्विरः निर्मला कुवर








