दुलेगौाडा । विद्यार्थीहरुको शैक्षिक अवस्था सुधार गर्न तनहुँको शुक्लागण्डकी नगरपालिकाले कक्षा ८ को परिक्षालाई कक्षा १० को एसइइकै मोडेलमा सञ्चालन गरेको छ ।
आइतबारबाट सुरु भएको परिक्षालाई थप ब्यवस्थित बनाउन र विद्यार्थी तथा शिक्षकहरुको वास्तविक क्षमता पहिचान गर्न नगरपालिकाले एसइइको मोडलमा परिक्षा सञ्चालन गरेको शिक्षा शाखा प्रमुख नवराज चापागाईले जानकारी दिनुभयो ।
उहाँले कक्षा ८ मा अध्ययन गर्ने नगरपालिका अन्तर्गतका सामुदायिक र निजी विद्यालयका विद्यार्थीहरुलाई फरक विद्यालयमा परिक्षा केन्द्र र फरक विद्यालयका शिक्षकलाई केन्द्राध्यक्ष बनाएर परिक्षा सञ्चालन गरिएको बताउनुभयो । शाखा प्रमुख चापागाईले विषय विज्ञहरुको उपस्थितीमा नगरपालिका आफैले प्रश्नपत्र तयार पारेको जानकारी दिदै उत्तर पुस्तिका समेत नगरपालिकामै विषय विज्ञहरु मार्फत जाँच गराएर नजिता प्रकाशन गर्ने बताउनुभयो ।
नगरपालिकाले विद्यार्थीहरुलाई पायक पर्ने गरि विभिन्न १० विद्यालयमा परिक्षा केन्द्र तोकेको छ । आगामी आइतबारसम्म चल्ने परिक्षाका लागि सरस्वति माध्यमिक विद्यालय थप्रेक, हंशबाहिनी मा.वि. एक्लेखेत, पञ्चमुनीदेव मा.वि. दुलेगौँडा, जनकल्याण मा.वि. बेलचौतारा, खैरेनी मा.वि. खैरेनीटार, सरस्वति नमुना मा.वि. खैरेनीटार, गाउँफर्कोदय मा.वि. ढोरफिर्दी, तालबेसी मा.वि. घारी, जनप्रेमी मा.वि. लामागाउँ र आधारभुत मा.वि. साँखेमा परिक्षा केन्द्र सञ्चालन गरिएको शिक्षा शाखाका अधिकृत सुशिल नरालले जानकारी दिनुभयो ।
यस बर्षका शुक्लागण्डकी नगरपालिकामा सामुदायिक विद्यालयका ६८२ र संस्थागत तर्फका ४४३ गरि एक हजार १२५ विद्यार्थीले कक्षा आठको परिक्षा दिईरहेका छन् । नगरपालिकाले विगत सात बर्षदेखि कक्षा आठको परिक्षा आफैले सञ्चालन गर्दै आएको छ ।








