तनहुँ । व्यास नगरपालिका–६ शिसाघाट स्थित महेन्द्रज्योती माध्यामिक विद्यालयका पूर्व विद्यार्थीहरुको पूर्नमिलन कार्यक्रम दमौलीमा भव्यताका साथ सम्पन्न भएको छ । पूर्व विद्यार्थी मञ्च महेन्द्रज्योतीको आयोजना शनिबार सम्पन्न भएको हो ।
पूर्नमिलन तथा भेला कार्यक्रम शिक्षाविद तथा सो विद्यालयका सस्थापक प्रधानाध्यापक डम्बरदेव कैनीको प्रमुख आतिथ्यमा भएको थियो । सो अवसरमा कैनीले यस्ता कार्यक्रममले साथीहरुबीचमा एकता, सद्भाव र प्रेम जगाउन मद्धत पुग्ने बताएका थिए । कार्यक्रमको विशिष्ट अतिथि संविधान सभाको सदस्य सवित्री दुराले आगामी दिनमा पनि यस्ता कार्यक्रम गरेर एकतालाई मजबुद बनाउनु पर्ने बताईन् । कार्यक्रम मञ्चका अध्यक्ष भानु चापागाईको अध्यक्षमा भएको थियो ।
कार्यक्रममा विद्यालयका व्यवस्थापन अध्यक्ष विनोद हिमाल, विद्यालयका प्र.अ. हरिराज काफ्ले, नेपाल शिक्षक महासंघ तनहुँका अध्यक्ष चन्द्रमणी कोइराला निबर्तमान अध्यक्ष रामचन्द्र पोख्रेल आरसी, नागर्जुन नगरपालिकाका शिक्षा उपसचिव तथा पूर्व विद्यार्थी सूर्यनाथ कोईराला, सल्लाहकार रामचन्द्र पन्थ, नारायण नागिला, मञ्चका सचिव राजिव ओझा, सदस्य सविता कर्माचार्य, पूर्व विद्यार्थीहरु बलराम घिमिरे, कृष्ण नागिला लगायतले पूर्व विद्यार्थी मञ्चले सामाजिक कार्य गरेर आफ्नो पहिचान बनाएको र आगामी दिनमा पनि सामाजिक काम गरेर विशिष्ट पहिचान गराउनु पर्नेमा जोड दिएका थिए ।








