म जन्मेको दिनदेखि आजसम्म काँधमा नै बोकेर हिड्ने मेरो बा लाई कुशे औँशीको शुभकामना

बाबुराम नेपाली
  • ख-
  • ख+

सँगैका साथीहरु खाली खुट्टा टार र भन्ज्यांग दौडिन्थे, मलाई बाक्लो बबी चप्पल किनिदिनुभएको थियो। चप्पलमा बल्ल बल्ल खुट्टा घुसाउँथें र हिँड्न खोज्थें, चप्पल खुट्टा छोडेर अगाडी पुग्थ्यो। फेरी लगाउँथें बा आएर उल्टो भयो भन्नुहुन्थ्यो। कमिज , जाँगे उल्टो हुँदा फर्काएर लगाउने म चप्पल उल्टो भयो भन्दा अलमल्ल पर्थें। चप्पल त फर्काएर लगाउन मिल्थेन। म ट्वाँ परेको देखेर बाले चप्पल सुल्ट्याइदिनुहुन्थ्यो। म ठुलै हुँदा पनि चप्पल र जुत्ता कसरी उल्टो हुन्छ भनेर पत्तो पाउन सक्दैनथें। स्कुलमा अरुका किताब पुराना हुन्थे नयाँ किताब पनि बिना गाताका हुन्थे मेरो बाले किताबमा प्लाष्टिकको गाता हालेर स्टिच मारिदिनुहुन्थ्यो।त्यसरी स्टिच मार्नु पनि हाम्रो लागि अनौठो थियो। कापी किताबमा जस्तै यस्तो कसरी हाल्यो भनेर साथीहरु अचम्म परेर हेर्थे। किनभने त्यति बेलासम्म धेरैलाई स्टिच मेशिनको बारेमा थाहै थिएन। मेरा साथीहरु अमला र तीजु सँग कापीका पानाहरु साटेर लेख्थे तर मसँग नेपाली , सामाजिक र गणित तीनवटा विषयका छुट्टाछुट्टै कापी थिए। तीनवटा कापी बोकेर गएको भोलिपल्टै हराएको थियो। त्यसको २(३ दिनपछि मेरो नाम मेटेर उसको नाम लेखेको कापीको कभर चौरमा भेटेर उसँग कापी माग्न जाँदा पिटाई खानुपरेको थियो। त्यो कुरा रामजी सरसम्म पुर्याउँदा पनि मैले न्याय पाइन त्यतिबेला। मलाई मेरो कापीकिताब जतन गरेर राख्नको लागि भनेर काठमाण्डौबाट सानो ट्याङ्का ९टीनको बाकस० ल्याइदिनु भएको थियो। म त्यो ट्याङ्कामा किताब हालेर स्कुलमा लिएर जान्थेँ। मेरो साथीहरुलाई जलन हुन्थ्यो। कतिपयले खिल्ली उडाए। त्यो फुच्चे ट्याङ्काको फुचुने साँचो त १ हप्ता नहुँदै बिगारिदिए। कोही त्यसै माथि बसिदिने कसैले तल काँटी राखेर गुडाइदिने गरेर कुच्च्याएर कुरुप बनाइदिएका थिए।
त्यतिबेला रेडियो र घडी हुने मान्छे निकै सम्पन्न मानिन्थ्यो। म जस्ता बच्चाहरुले १ रुपियाँमा पाइने आलु घडी (प्लास्टिकको नक्कली घडी ) लगाउँथे तर बाले मलाई ९ वर्षमा नै साँच्चिको घडी किनिदिनुभएको थियो। बालसुलभ जिज्ञासाले पानीमा डुबाएर , घडीको आन्द्राभुडी खोतलेर २-३ महिना पनि नभई घडी बिगारेको थिएँ। समयको महत्व बुझाउनलाई नै होला बाले मलाई १० कक्षा सम्म पढुन्जेल करीब १० वटा जति नै घडी किन्दिनुभयो होला। गाउँमा एउटा लाहुरे आउनासाथ नयाँ सिको फाइभ घडी किन्नुहुन्थ्यो र बाले लगाइराखेको घडी मेरो भागमा पर्थ्यो।
गाउँमा बत्ती थिएन। मट्टीतेलको धिब्री बालेर पढिन्थ्यो। कतिपय घरमा त अगेनाको आगोको उज्यालोमा पढ्नुपर्ने बाध्यता थियो। अलिकति हावा चल्नासाथ धिब्री निभिहाल्थ्यो। सम्पन्न हरुको घरमा लालटिन हुन्थ्यो तर ठुलो हावा आएपछि लालटिन पनि निभ्थ्यो। मलाई बाले लाल्टिन जस्तै सिसा लाग्ने तर माथि झुण्ड्याउने नभएको युनिक खालको बत्ती ल्याइदिनुभएको थियो। त्यति बेला अरु औसत विद्यार्थीले पाउने भन्दा अलि बढी नै सुबिधा पाएको थिएँ मैले। क्ीऋ पछि पनि मैले चाहेको ठाउँमा मैले चाहेकै क्याम्पस पढाउनुभएको हो। स्कुलमा अलि राम्रो विद्यार्थी भएकोले बाले ठुलो सपना देख्नुभएको थियो तर उमेर बढ्दै जाँदा मेरो पढाई पनि ओरालो लाग्दै गयो।बाका धेरै साथीहरु छोराछोरीको निमन्त्रणामा युरोप , अस्ट्रेलिया , अमेरिका घुमेर फोटो हाल्छन तर मैले यहीँ बन्दीपुर पनि लान सकेको छैन। मेरै नालायकीपनले गर्दा ७० को दशकमा पनि चैनको सास फेर्न पाउनुभएको छैन। मैले बा को सपनाहरुलाई छताछुल्ल पारिदिएको छु। मेरो बा को सबैजसो धोकोहरुलाई मैले बन्धक बनाइदिएको छु। अझै पनि मलाई माउ कुखुराले झैं छपक्क छोपेर राख्नुहुने मेरो बा यस धर्तीकै महान बा हुनुहुन्छ। मेरो आमको स्वार्गबास भएको डेढ दशक बितिसकेको छ। मेरो बाले मेरो आमा र बा दुबैको कर्तव्य निभाइरनुभएको छ। बा हजुरको यो ऋण तिर्न मैले थुप्रै जुनी हजुरकै छोरा भएर जन्मिनु पर्छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?