काठमाडौँ । कलाकार तथा निर्माता दीपकराज गिरीले आफ्नो नयाँ फिल्म २०८३ सालको दसैँमा ल्याउने घोषणा गरेका छन् । ‘छक्कापञ्जा कमेडी टुर’का लागि अहिले अमेरिका रहेका गिरीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उक्त जानकारी दिएका हुन् ।
‘देशको राजनीतिक अवस्था साथै प्राकृतिक प्रकोपका बिच दसैँमा सोचे जस्तो पक्कै भएन होला १ हामीले पनि यो साल चलचित्र ल्याउन सकेनौ’, उनी अगाडि भन्छन् ‘तैपनि दसैँमा प्रदर्शन भएका नेपाली चलचित्रहरूलाई दिनु भएको मायाका लागि धेरै धेरै धन्यवाद । अर्को साल दसैँमा भेटौला ।’
विगतका बर्सहरूमा दसैँमा ‘छक्का पन्जा’ सिरिज फिल्म दिँदै आएका दीपकको यो वर्ष दसैँमा फिल्म आएन । दसैँमा दीपकको फिल्म नहुँदा दसैँ नै खल्लो महसुस भयो भन्दै सामाजिक सञ्जालमा फ्यानले टिप्पणी गरेपछि गिरीले अर्को दसैँमा आफूले फिल्म ल्याउने बताएका हुन् ।
गतबर्षको दसैँमा दीपकको फिल्म ‘छक्का पन्जा ५’ रिलिज भएको थियो । फिल्मले २० करोड माथिको व्यवसाय गर्न सफल भएको थियो ।








