चितवन । आठौँ नेपाल एग्रीटेक अन्तर्राष्ट्रिय एक्स्पोको अवसरमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले माघ ३ गते रसायनिक मलको समुचित प्रयोग विषयक सेमिनार कार्यक्रम आयोजना गरेको छ । सेमिनारमा डिलर-बिक्रेता, सहकारी संस्थाका प्रतिनिधि, किसान तथा सरोकारवाला सहभागी थिए ।
कार्यक्रममा कृषि विज्ञ भगवान खतिवडाले अन्तरक्रिया सत्र सञ्चालन गर्दै मल र माटोबीचको सम्बन्ध, माटोको स्वास्थ्य र दिगो कृषि उत्पादनका विषयमा जानकारी गराउनुभयो । उहाँले स्थानीय तहलाई थप जिम्मेवार बनाउँदै कृषकको हितमा केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश कुमार झाले नेपाल सरकारको निर्देशन, आम नागरिकको अपेक्षा र आवश्यकतालाई पूरा गर्न कर्पोरेसन निरन्तर क्रियाशील रहँदै आएको बताउनुभयो । उहाँले मलखाद, आयोडिनयुक्त नुनलगायत अत्यावश्यक वस्तुको सहज पहुँच विस्तारमा कर्पोरेसनले खेलेको भूमिकाबारे चर्चा गर्नुभयो ।
त्यसैगरी, कर्पोरेसनका नारायणगढ शाखा प्रमुख बुद्धि विनोद दाहालले मलखाद आपूर्ति तथा सेवासम्बन्धी कुनै समस्या आएमा समाधानका लागि कर्पोरेसनले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सेमिनारमा स्वस्थ माटो नै जीवनको आधार भएकाले माटोको गुणस्तर सुधार गर्नुपर्ने, सन्तुलित र यथेष्ट प्राङ्गारिक मलको प्रयोग गर्नुपर्ने, माटो परीक्षणको नतिजाका आधारमा मात्र बालीअनुसार रसायनिक मलको छनोट र प्रयोग दर निर्धारण गर्नुपर्ने विषयमा जानकारी दीयो । साथै, मलखादसम्बन्धी प्राविधिक जानकारीका लागि स्थानीय निकायका कृषि प्राविधिक, कृषि ज्ञान केन्द्र तथा माटो परीक्षण प्रयोगशालासँग समन्वय गर्न सुझाव दीयो ।
कार्यक्रममा एकै तत्व भएको रसायनिक मलको निरन्तर प्रयोगभन्दा बहुतत्वयुक्त रसायनिक मलको प्रयोग गर्न आग्रह गरिएको थियो । साल्ट ट्रेडिङबाट बिक्री हुँदै आएको सिङ्गल सुपर फस्फेट मलमा १६ प्रतिशत फस्फोरस, २१ प्रतिशत क्याल्सियम, ११ प्रतिशत सल्फर तथा जिङ्क र बोरोनजस्ता सूक्ष्म तत्वहरू रहेको र यसले माटोको अम्लियपन सुधार गर्दै बहुपोषक मलको रूपमा काम गर्ने जानकारी दीयो ।
त्यसैगरी, २१ प्रतिशत नाइट्रोजन र २४ प्रतिशत सल्फरयुक्त एमोनियम सल्फेटलाई सिफारिसअनुसार प्रयोग गर्नुपर्ने, यो सबै प्रकारका बालीका लागि उपयोगी तथा विशेषगरी तेलहन बालीका लागि महत्वपूर्ण हुने उल्लेख गरियो ।
नेपाल सरकारबाट अनुदान प्राप्त युरिया, डिएपी, पोटासका साथै गैरअनुदानित बहुतत्वयुक्त रसायनिक मल सिङ्गल सुपर फस्फेट र एमोनियम सल्फेट साल्ट ट्रेडिङ कर्पोरेसनका सबै कार्यालयबाट सहज रूपमा उपलब्ध हुने जनाउँदै सिफारिस गरिएको परिमाणअनुसार मलखाद खरिद गरी प्रयोग गर्न कर्पोरेसनले कृषक समुदायसँग अनुरोध गरेको छ ।








