दमौली । तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद ई श्रीराम न्यौपानेले राज्यकोषबाट प्राप्त हुने नगद तलब र भत्ता नलिने सार्वजनिक घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित विजयोत्सव तथा धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै न्यौपानेले आफू राष्ट्रसेवा र जनताको कामका लागि समर्पित हुन राजनीतिमा आएकाले व्यक्तिगत सुविधा नलिने बताएका हुन् ।
उनी फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वािचत भएका हुन् । ‘म आफ्नो आम्दानीबाटै आफू र आफ्नो परिवार पाल्न सक्षम छु ।’ न्यौपानेले भने, ‘त्यसैले जनताले तिरेको करबाट प्राप्त हुने कुनै पनि नगद तलब, भत्ता वा नगद सुविधा म लिने छैन ।’
उनले राज्यबाट प्राप्त हुने उक्त रकमलाई पारदर्शी ढंगले तनहुँ २ का आमा समूह, पिछडिएको वर्ग, वृद्धवृद्धा, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूको हितमा खर्च गरिने स्पष्ट पारेका छन् ।
न्यौपानेले यो निर्वाचनले नेपाली राजनीतिमा नयाँ भाष्य निर्माण गरेको चर्चा गर्दै जनताले मत मात्र नभई काम गर्नका लागि जिम्मेवारी दिएको बताए । उनले अबका पाँच वर्ष आफ्ना लागि अग्निपरीक्षा भएको उल्लेख गर्दै प्रत्येक तीन महिनामा निर्वाचन क्षेत्रका ४३ वटै वडामा पुगेर जनगुनासो सुन्ने लिखित प्रतिबद्धता समेत दोहोर्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय ऊर्जा विभाग प्रमुख समेत रहेका न्यौपानेले काङ्ग्रेस उम्मेदवार शंकर भण्डारीलाई दोब्बर बढी मतान्तरले पछि पारेर विजयी भएका हुन्। उनले ३२ हजार ६८७ मत प्राप्त गरेका थिए ।
काङ्ग्रेस उम्मेदवार भण्डारीले १४ हजार १३५ मत नेकपा एमालेका उम्मेदवार केदार सिग्देलले ११ हजार ६६८ मत ल्याएका थिए । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सोमबहादुर थापा एसबी सहित अन्य दलका उम्मेदवारले जमानत समेत जोगाउन सकेनन् ।
निर्वाचन आयाेगका अनुसार तनहुँ क्षेत्र नं २ मा १ लाख २७ हजार ५१५ मतदाता रहेकोमा जम्मा ६६ हजार ७७२ मत खसेको थियाे ।








