मृत्युलाई जितेको अनुभव बाड्दै नेता गुरुङ्ग

  • ख-
  • ख+

२०७६ को चैत्र महिनामा १,२ जना नेपालीहरूलाई कोरोना भाइरस कोभिड १९ ले छुदा सबैजना त्रसित भयौ, बाटोघाटो बन्द गर्यौ , लकडाउन गर्यौ । लामो समयको लकडाउनले कोरोनाको महामारीलाई रोक्न सकेन झन् बढ्दो भयो । आजको मितिमा निको हुने, आईशोलेसनमा बस्ने, क्वारेन्टाइनमा बस्ने नेपालीहरुको संख्या १ लाख ५० हजार नाघिसक्यो, लकडाउनबाट आत्तिएका हामी नेपाली फुक्कालाल हिडिरहेका छौ र अधिकांशले भनिरहेका छौ जाबो कोरोना केहि पनि होईन बेसार पानी पियो, हाच्छ्यु गर्यो धपायो । गफ गरे जस्तो सजिलो होला त कोरोना भगाउन ? त्यति सजिलो भएर होला त केन्द्र सरकार जनतालाई अब आफ्नो उपचार आफ्नो हातमा भनेको ? कति सजिलो होला अस्पतालको बेड पाउन ? यीनै भावना समेटेर जिल्ला समन्वय समिति तनहुका प्रवक्ता, सामाजिक कार्यकर्ता एवं कलाकार गल गुरुङ्ग दिपु जो लामो लडाइँपछि कोरोना भाईरसबाट मुक्त हुनुभएको छ वहाँले फेसवुकमा मनछुने स्टाटस लेख्नुभएको छ , पढ्दा आङ्ग सिरिङ्ग हुने वहाँको भनाई पढौ सायद यस्ले फुक्काफाल हामीलाई कोरोना भाईरसको बारेमा अलि बुझ्ने मौका मिल्छ कि ?

जनप्रतिनिधि भएको नाताले विभिन्न भेला विभिन्न ठाउमा जानू पर्ने, कतिबेला कसरी अदृश्य भाइरसले संक्रमित भैयो थाहा नै पाईएन कोभिड हो भन्ने शंका नै थिएन त्यसैले मौसमी ज्वरो होला निको भै हालिन्छ भनेर एक्लै क्वाटरमा आईशुलेट भएर बसे, दमौलीकै हस्पिटलहरुमा चेकअप गर्दै दबाई खादै बसे तर ज्वरो झन बढ्दै गयो ९,१० दिन पानी भन्दा केही पनि रुचेन । ज्वरो बढेर १०३ डिग्रीसम्म पुग्यो , पछि ओछ्यानबाट चल्न नसक्ने अवास्थामा पुगे । झन्नै बेला बेलामा होस नै हराएको जस्तो हुने, सास फेर्न एकदमै गारो हुँदै थियो। बिचमा बिचमा पोखरा जाने सोच पनि नबनाएको होईन तर जरो भनेपछि गाडी पनि पाइएन । केही दिनपछि अफिसबाट चेकअप गर्न जाने भनेर जि. स. स. प्रमुख, उप प्रमुख, समन्वय अधिकारी र जि. स. स. सदस्य साथीहरूले जि. स. स. सदस्य दिब्यश्वरी बैनी र कार्यालय सहयोगी दिल राना दाईलाई एम्बुलेन्स लिएर क्वाटरमा पठाउनु भएको रहेछ र दमौलीको हस्पिटलमा एक्सरे र ब्लड चेक भएपछि फोक्सोमा समस्या आईसकेकोले तुरुन्तै पोखरा जानु भनेपछि एम्बुलेन्स लिएर पोखरा गण्डकी हस्पिटल पुगे तर गण्डकीमा उच्च ज्वरो भनेपछि भर्ना लिन मानेन। पि सि आर को लागि भोलि आउनु भनेर घर जानु भनेपछि झन पीडा थपियो । एकातिर सास फेर्न एकदमै गारो भै रहेको थियो अर्कोतिर उच्च ज्वरोले सपना जस्तै भै रहेको थियो केही सोच्न पनि सकिरहेको थिईन । अब भर्ना नलिने भएपछि दमौली फर्कन गाडी खोजे त्यहा पनि त्यहि समस्या भयो ज्वरोको बिरामी भनेपछि गाडी नै मानेनन् । केही विकल्प नदेखेपछि हस्पिटलको प्राङ्गणमा नै थचक्क बसे, केही समय पछि पुर्बमन्त्री संकर भण्डारी दाईले गण्डकी अस्पतालको ईन्चार्ज अर्जुन आचार्य सरलाई कुरा गर्नु भएछ र बल्ल बल्ल ईमर्जेन्सीको एउटा कुनामा लगेर राखी दियो । केही समयपछि त्यहाबाट पनि प्री आईशुलेशनमा लगियो र अक्सिजन दिईयो बल्ल केही राहत महसुस भयो र ज्वरोका औषधी चलाउन शुरु गरेपछि ज्वरो पनि कम भयो र पीडा पनि कम भयो तर सास फेर्न चाहिँ गारो भै रहेको थियो, भोलिपल्ट पि सि आर टेस्ट भयो र पर्सिपल्ट रिपोर्ट पोजेटिभ आयो । सास फेर्न एकदम गारो भै रहेको बेला सिस्टरले रिजल्ट पोजेटिभ आएको खबर सुनाउदा त्यो समय झन पीडा भयो तैपनि आफुलाई सम्हाले। रिपोर्ट पोजेटिभ त आयो फेरि आईशुलेशनमा बेड छैन भनेर तनाब दिए, एक दिन प्री आईसोलेसनमै बसेपछि बल्ल बल्ल भोलिपल्ट आईशुलेशनको आई सि यु मा लगेर राखियो । आइ सि यु मा पुगेपछि बल्ल थाहा भयो कोरोना के हो भन्ने, स्वास फेर्न गारो भएर आफ्नै अगाडी मान्छेहरु भटाभट मरि रहेको प्रत्यक्ष देखे, आफ्नै आँखा अगाडी मान्छे मर्दै प्लाष्टिकमा बेर्दै लादै गर्दा कति आत्तिए त्यो पल सम्झ्दा पनि जिउमा काँडा उम्रेर आउँछ। मरिसकेपछि पनि आफ्नो आफन्तले लास लान नपाउने आर्मीहरु आएर लाने नियम रहेछ, आर्मीहरु आउन ढिलो भएको दिनहरुमा कति दिन त छेउको बेडको लासहरु सङ्गै रात बिताउन पर्यो । मान्छे नमरेको दिन हुदैनथ्यो । आफ्नै बेडको छेउमा मान्छे मर्दा कति रात आँखा चिम्म नगरी छर्लङ्गै पारियो।
धेरैले कोरोना साधरण फ्लू हो केही होईन भन्छन तर त्यसो भन्नेहरु कोरोनाको आई सि यु मा मात्रै ३,४ मिनेट गएर हेर्नुभयो भने कोरोना के हो प्रष्ट हुन्छ। केहिदिन आई सि यु मा बसेर केही रिकभर भएपछि नर्मल बेडमा सारियो बल्ल केही राहत भयो त्यसपछि भने बाच्छु भन्ने आश पलायो। दशै भरी आईसोलेसनमा नै बसियो ।आईसोलेसनमा रहदा धेरै स्वास्थकर्मीहरु हामी सङ्गै आईसोलेसनमा नै थिए। धेरै स्वस्थकर्मीहरु आफ्नो परिवार छाडेर संक्रमितको उपचारमा खटिएका छन त्यसैले सबै स्वास्थकर्मीलाई सम्मान गरेर उनीहरुको मनोबल बढाउन पर्छ आजकल झन् संक्रमितहरु बढ्दै गइरहेको छन् त्यसलै संक्रमितहरुलाई घृणा नगरी आईसोलेसनम बस्न सहज वातावरण मिलाउन पर्छ अनि मात्र कोभिडको यो लडाईमा सफलता पाउन सकिन्छ।

अबको दिनहरु झन् भयावह हुने निश्चित छ त्यसैले थोरै बेडको भए पनि हरेक पालिकाले आईसोलेसन बनायो भने केही सहज होला हैन भने अब सरकारी हस्पिटलहरुमा बेड पाउन ठुलै युद्ध जित्न पर्छ त्यो सर्वसाधारणको पहुचको कुरा पनि भएन।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?