कर्मचारी र हाकिमसाब् हरुको सास्ति

  • ख-
  • ख+

ठुलाबडाले दशैमा टिको लगाउदा होस् कि अरुले बेला आर्शिवाद दिदा होस् सजिलै आर्शिवाद दिनुहुन्छ बाबु नानी सरकारी जागिर खाएस् । हो ठुलाबडाको आर्शिवादलाई साकार पार्न मान्छेहरु मेहनत गर्छन् कोहि पढ्छन् कोहि नेताकोमा धाउछन् धनुष्टंकार हुने झै गरेर चाकडि गर्छन् र सरकारी तथा स्थानिय तहमा जागिर खान्छन् । ओहो ! घर परिवार, माईत मावली, ससुराली जताततै खुशीको लड्डु बाँडिन्छ । लामो सास फेरेर कर्मचारीहरु आफ्नो सपना अफिसको कुर्चिमा गएर बस्छन् । बल्ल लडाई शुरु हुन्छ हिजोको टुप्पी कसेर पढाई होस् कि त्यो कुर्चिमा पुग्न गरेको चाकडी केहि काम लाग्दैन अब नयाँ संघर्ष शुरु हुन्छ त्यो हो कुर्चिमा टिक्ने संघर्ष, कमाएको जोगाउने संघर्ष ।
स्थानिय निकाय अन्र्तगतका कार्यालयहरुमा भएपनि, संघ, प्रदेश, संस्थान अन्र्तगतका कार्यालयमा भएपनि कर्मचारी संघसंगठनहरुको त सदस्यता लिनै पर्यो आफुले भनेको ठाँउमा सरुवा बढुवा मिलाउन त नेताहरु कहाँ, बिचौलियाहरु कहाँ धाउनै पर्यो । गारो छ नि नेपालमा सरुवा बढुवा, आफुले रोजेको स्थानमा जान पाउनको लागि सजिलै कहाँ छ र ? नजराना नचढाईकन आफुले चाहेको काम बन्दैन भनेर पूर्व कर्मचारीहरुले बताईरहनुभएको छ । बल्लबल्ल सरुवा मिलाएर आफुलाई मन परेको स्थानमा गयो राजनितिक समस्या । जति नजराना चढाएर पुगेको भएपनि नुनको सोझो गर्नै पर्यो । नुनको सोझो गर्यो अर्को पार्टीको नेता तथा कार्यकर्ता छड्के हेरेर भन्छन् “तपाईको नुनको सोझो मलाई अलि चर्को लाग्यो, झिटीगुण्टा बोकर जानुहुन्छ कि के गरुँ ?” कति दुः ख कष्ट गरेर ठाँउमा आईपुगेको सजिलै कहाँ मान्ने कुरा हुन्छ र ? “त्यस्तो त गरेको छैन नि हजुर” भनेर ङिच्च हाँसेपनि अझै धम्कि आँउछ “ पख्नुस् न हाम्रो पनि पालो आउछ , हाम्रो पार्टीको पनि सरकार बन्छ नि त्यतिबेला देखाईदिन्छु ” भन्छन् ।
कर्मचारीको जागिरे जीवन बडो कष्टकर रुपमा बितिरहेको छ । दिमाग लगाएर अलिकति कमाएको कसैले पनि देखि सहदैनन्, यसो हात लम्काएको थाहा पाए भने त भागवण्डा खोज्न कति आउछन् कति ? झन् चुनाव आउनु पर्छ कस्को पक्ष लिने ? कस्को पछि लाग्ने ? चुनाव जित्ने जस्ता दुवै उमेदवार कहाँ कसैले नदेख्ने लुकिलुकि गई “हजुर म त हजुरकै हो नि” भन्नुपर्ने ठुलो समस्या छ । त्यस्तो समस्या त स्थानिय तहका कर्मचारीहरुमा बढि नै देखिदोरहेछ । प्याट्ट आफुले बिन्ति नबिसाएको उमेदवारले चुनाव जित्यो भने अफिसको एउटा कोठाको कुनामा थन्क्याईदेला भन्दाको डर, अरु कमाईरहने आफु र्याल काडिरहनुपर्ला भन्ने चिन्ता ।
सरकारी तथा स्थानिय निकायका हाकिमसाब् हरुको पनि पिडा कम्ता दुः ख छैन, जिल्ला जान लाग्यो नेताज्युले आफ्ना कार्यकर्ताको नाम थमाएर पठाउनुहुन्छ “यी मेरा मान्छेहरु हुन् उनीहरुको सल्लाह अनुसार चल्ने गर्नुस् ।” स्वागत कार्यक्रम तथा पहिलो पत्रकार सम्मेलनमा वहाँहरुलाई निम्त्याउनै पर्छ , कहिलेकाहि त मोवाईल थिचेर “के छ हजुर आरामै हुनुहुन्छ यसो आउनुस् न चिया खान हजुरको दर्शन नपाएको धेरै भयो” भनेर भन्नैपर्छ , बिल तिर्ने बेलामा हात अगाडि बढाउनै पर्छ । कहिलेकाहि झुक्किएर कार्यक्रममा बोलाउन बिर्सियो भने कतिबेला कहाँ रमाना हुने हो थाहै हुदैन । “के हो के हजुर त्यो फलाना अफिसको हाकिमले त हामीले भनेको टेर्दै टेर्दैन” भनेर नेताज्युहरु भएको ठाँउमा कुरा पुग्छ । बल्ल बल्ल चिनापर्ची भएर जरा फिजाँउन लागेको ठाँउ कुबेला छोड्न पर्यो भने घाटो । अलिकति नियम कानुन हाकिम जस्तै गरि लागु गरौ न त भन्यो भने सरुवा पक्का, कहिलेकाहि वालुवाको धुलो उड्न रोकौ भन्यो आफैलाई नै उडाईदिन्छन् ।
नेता तथा कार्यकर्ताहरुको चित्त त कहिल्यै बुझ्दैन त्यो त भईहाल्योअहिले फेरि मिडियाको जमाना छ बिचार गर्नै पर्यो । कसलाई नजिक राख्ने कस्लाई टाढा राख्ने बिचार गर्नैपर्यो । यसो नजिकलाई च्याप्यो टाढाका रिसाउने ? टाढाकालाई आफ्नो बनाउन खोज्यो नजिककाले “एय ! के हो के तपाईको चाला, त्यो त हाम्रो मान्छे हैन नि” भन्ने बडो समस्या छ । कतिसम्म भने तनहूँकै एक सरकारी कार्यालयका हाकिमले आफुलाई मन पर्ने आफ्नो बारेमा खोकेको पनि समाचार छाप्नेहरुलाई होमस्टेतिर लगेर निकै मोजमस्ति गराएको, ठुला ठुला मलतिर सपिगं गराईदिएको, जिल्लातिर २, ४ जना बाहेक अरुलाई खासै गन्दै नगनेको एक समय चर्चा निकै चलेको थियो । कृषि प्रधान देशमा केहि न केहि गर्छु भनेर चर्का कुरा गर्ने एउटा हाकिमसाब् ले चाकडी बजाउन कार्यक्रममा उपस्थित नभएपनि सिमित व्यक्तिहरुलाई डाकेर दक्षिणा सहितको खाम कार्यक्रम भत्ता भनेर केहि दिनपछि बुझाएको खबर चुहिएको धेरै दिन भएको छैन ।
स्थानिय निकायका हाकिमसाब् हरुले त आफ्नो पार्टी निकटलाई बोलाई बोलाई भोज ख्वाउनु , कार्यक्रममा उपस्थित नभईकन पनि सर यसो एकदिन पाल्नुस् न भनेर केहि दिनपछि हस्ताक्षर गराएर खाम थमाउनु त प्रचलनै भएको छ । एकजना हाकिमसाब् नाम उल्लेख नगर्ने सर्तमा त्यसो नगरेको खण्डमा आफ्नोक्षेत्रको समाचार नै नआउने र सधै विभिन्न बाहनामा खेदिरहने, घरको सम्पत्ति बेचेर गाडि चढेको त परै जावोस् मोटरसाईकल चढेको पनि देखि नसहने र आफुलाई साथ दिने होस् वा ईतर पक्ष होस् जस्ले चर्कोसग सामाजिक संजाल तथा मिडियामा खेद्छ उक्त व्यक्तिलाई व्यालेन्समा राखिरहनु पर्ने बाध्यता भएको बताउनुहुन्छ । आफ्ना कृयाकलापको भण्डाफोर गर्छन् कि भनेर सपिगं गराईदिने, भनेको काम सजिलै गरिदिने, साईलीको भट्टीतिर समय समयमा जमघट गराउने, दशै तिहार मान्न खर्च दिने जिल्लाका सबै पार्टीका नेता तथा कार्यकर्ताहरुसग किप इन् टचमा बस्ने नगरिकन त प्रायजसो कार्यालयका कर्मचारीहरु टिक्नैै नसक्ने र कमाएको जोगाउनै नसक्ने पनि वहाँको तर्क छ, त्यसो गर्न नसक्ने कर्मचारी पक्का प्रेम संजेल बन्ने पनि वहाँले ढुक्कसग बताउनुभयो ।
तरवारको धारमा छ सरकारी तथा स्थानिय तहका कर्मचारीको जागिर । त्यसैले सरुवा बढुवामा चलखेल गर्न सक्ने, खोकेपनि मिडिया छाउने बनाउन सक्ने, काम जे जस्तो गरे पनि “वाह तपाईको काम त ! ” भनेर बयान गरिदिने वहाँहरुको प्रिय पात्रहरु हुने गर्दछन् तसर्थ सरकारी तथा स्थानिय तहका कर्मचारीहरुले कमाएको देखेर उनीहरुको रवाफ देखेरभन्दा पनि त्यो स्थानमा रहिरहन गरेको मेहनतलाई चाहि सलाम चाँहि गर्नैपर्छ किनकी अरुबेला कार्यालय समयमा कहिल्यै कार्यालयमा उपस्थित नहुने मान्छे पनि सरुवा भएपछि २, ४ दिन अफिसमा राति १२, १ बजेसम्म बसेर लिनुदिनुपर्ने हिसाब फरकफारक गरि जाने हाकिमसाव्हरु देखिएकै छ । त्यसैले भन्नुपर्छ कम्ता सास्ति छ सरकारी तथा स्थानिय तहका कर्मचारीलाई ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्