बेलायतमा नेपाली इन्जिनियरलाई ‘इन्टरनेसनल इमर्जिङ इन्जिनियर अवार्ड’

  • ख-
  • ख+

बेलायतको लिड्समा कार्यरत एक युवा नेपाली इन्जिनियरले ‘इन्टरनेसनल इमर्जिङ इन्जिनियर अवार्ड’ जितेकी छन् ।

बेलायतसहित विश्वभरका इन्जिनियरहरु आबद्ध प्रोफेसनल संस्था ‘इन्स्टिच्युट अफ सिभिल इन्जिनियर’ (आइसीइ) ले सेलिना राईलाई यो अवार्ड प्रदान गरेको हो ।

अवार्डका लागि विभिन्न समूहबाट फाइनलमा छनोट भएका प्रतिस्पर्धी इन्जिनियरहरुमध्ये उत्कृष्ट ठहर हुँदै उनले अवार्ड जितेकी हुन् ।

प्रतिस्पर्धाको प्रारम्भिक चरणमा विश्वभरबाट सयौं इन्जिनियरहरुले आफ्नो ‘सिनोप्सिस’ पठाएका थिए । जसमध्ये उत्कृष्ट ४ फाइनालिस्टहरुले प्रस्तुत गरेको ‘फुल पेपर’ को मुल्यांकनपछि सेलिना विजेता बनेकी हुन् ।

प्रतिष्ठित प्रोफेसनल अवार्डसंगै सेलिनाले नगद १५ सय पाउन्ड पुरस्कार समेत पाएकी छन् । बेलायतको लिड्स शहरमा एक ‘स्ट्रक्चरल इन्जिनियर’ का रुपमा कार्यरत छन् सेलिना ।
आफूले आर्जन गरेको ज्ञान र सीपलाई तिखार्न यो अवार्ड प्रतिस्पर्धाले महत्वपूर्ण भूमिका खेलेको उनले सुनाइन् ।

विश्वभरबाट हालसालै पढाई पूरा गरी काम शुरु गरेका, पढाई पूरा गर्दै गरेका नयाँ एवम् ट्रेनी इन्जिनियरहरुबीच प्रतिस्पर्धामार्फत उत्कृष्ट छनोट हुनेलाई हरेक वर्ष यो अवार्ड दिइने गरेको छ । कोरोना महामारीका कारण यसपटक फाइनल राउन्डसम्मको पूरै प्रतिस्पर्धा ‘भर्चुअल’ माध्यमबाटै गराइएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्