दमौली । राष्ट्रिय विपत्तिको समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता जनाउँदै दमौलीका केही युवा व्यवसायीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार १५१ रुपैयाँ सहयोग गरेका छन् ।
विपत्तिबाट प्रभावित नागरिकलाई राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले व्यवसायीहरूले आपसी सहकार्यमा उक्त रकम प्रदान गरेका हुन् । उनीहरूले विपत्तिको समयमा सबै क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
सहयोग गर्ने व्यवसायीहरूमा कुमार मल्ल (रोयल प्यालेस दमौली), प्रकाश हड्खले (दमौली टायर), वीरु बस्याल (वेवी ल्याण्ड), ईकप्रसाद श्रेष्ठ (बिन्सन्स सपिङ), किनकुमार श्रेष्ठ (फ्रेन्जी क्लोथिङ स्टोर्स), लायन प्रदीप मल्ल (मल्ल प्रिन्ट्स), किशोर श्रेष्ठ (प्रजिता इन्टरप्राइजेज), ब्रजेश शाह (राधेकृष्ण स्टोर्स), राजु गोशाली (गोशाली स्पोर्ट्स) र विवेक सापकोटा (पिजन हिल रिसोर्ट) रहेका छन् ।
व्यवसायीहरूले विपत्तिको समयमा आर्थिक तथा मानवीय सहयोगमार्फत पीडितको दुःखमा साथ दिनु सबैको साझा दायित्व भएको बताएका छन् । उनीहरूको यो सहयोगले अन्य व्यक्ति तथा व्यवसायीलाई समेत राहत तथा उद्धार अभियानमा सहभागी हुन प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।











