दमौली । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएपछि पीडितहरूको राहत तथा उद्धारका लागि एकदेव आले स्मृति प्रतिष्ठानले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा आर्थिक सहयोग गरेको छ।
प्रतिष्ठानले रु. २८,९४०/- (अक्षेरूपी अठ्ठाइस हजार नौ सय चालीस रुपैयाँ मात्र) जिल्ला प्रशासन कार्यालय, तनहुँमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो।
देश नै प्राकृतिक विपत्तिको पीडामा रहेको संवेदनशील घडीमा मनाइँदै आएको १९औँ राष्ट्रिय पुस्तकालय दिवस यस वर्ष औपचारिक रूपमा ठूलो कार्यक्रम आयोजना नगरी मनाइएको प्रतिष्ठानले जनाएको छ। पुस्तकालय दिवसकै अवसर पारेर सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै प्रतिष्ठानका पदाधिकारी, सदस्य, संरक्षक तथा सल्लाहकारहरूबाट स्वस्फूर्त रूपमा संकलित सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको हो।
प्राकृतिक विपत्तिका कारण ठूलो पीडामा परेका नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै प्रतिष्ठानले दुःखको यस घडीमा पीडित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सानो भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।