तनहुँ । देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि आँबुखैरेनी गाउँपालिकामा यस वर्ष आयोजना हुने आँबुखैरेनी पर्व, श्रीकृष्ण जन्माष्टमी जात्रा तथा हरितालिका तीज कार्यक्रम स्थगित गरिएको छ।

आँबुखैरेनी पर्व तथा श्रीकृष्ण जन्माष्टमी जात्रा भदौ १९ गते आयोजना गर्ने गरी सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा रसुवालगायत देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको हो। उक्त दुःखद् घटनाका कारण सिंगो देश नै शोकमा रहेको भन्दै यस वर्षका निर्धारित सांस्कृतिक तथा धार्मिक कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको जनाइएको छ।

आयोजकले विपद्को यस कठिन परिस्थितिमा उत्सव तथा जात्राभन्दा पीडित नागरिकको उद्धार, राहत र सहयोगलाई प्राथमिकता दिनुपर्ने आवश्यकता महसुस गरी कार्यक्रम स्थगित गरिएको जनाएको छ।

कार्यक्रम स्थगित गर्दै आयोजकले बाढी तथा पहिरोमा परी ज्यान गुमाउने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै विपद्मा परेका तथा प्रभावित नागरिकको शीघ्र उद्धार, प्रभावकारी राहत र सुरक्षित जीवनको कामना गरेको छ।

धार्मिक तथा सांस्कृतिक पर्वहरू सामाजिक एकता, सद्भाव र भाइचाराको प्रतीक भए पनि विपद्को घडीमा सबै एकजुट भएर प्रभावित नागरिकलाई सहयोग गर्नु नै अहिलेको प्रमुख दायित्व भएको आयोजकको भनाइ छ।

आयोजकले विपद्को यस कठिन घडीमा “सबै एकजुट बनौँ, एकअर्कालाई सहयोग गरौँ” भन्ने भावना आत्मसात् गर्दै प्रभावित परिवार तथा समुदायको सहयोगमा जुट्न सबैमा अपिलसमेत गरेको छ।