लेखकः भगवती न्यौपाने ( राष्ट्रिय सभाकी सांसद ) को फेसबुकबाट

नेपालको राजनीतिमा दुई शक्ति नेकपा (एमाले ) र नेपाली कांग्रेस बाहेक अरु कुनै पार्टी पहिलो र दोस्रो हुनै सक्तैनन् । यी दुई दलको तर्फबाट कमजोरी नै भयो भने पनि अर्को नयाँ विकल्पको सम्भावना शुन्य छ । एकथरी म त नेकपा (एमाले) को सुर्य चिन्ह छोड्दिन भन्ने जनता अत्याधिक छन भने अर्को थरी कांग्रेस र रुख चिन्ह छोड्दिन भन्ने छन । ०६४ मा माओवादी पहिलो पार्टी हुनुका धेरै कारण मध्येको एउटा कारण १० वर्ष सम्म युद्ध लड्दा उसले उठाएका मुद्दा थिए । मार्न र मर्न तयार हुनेहरुले सत्तामा पुगेपछि चमत्कार नै गरिहाल्छन की त भन्ने लागेको थियो जनतालाई तर गलत सावित भयो । छोटो समयको गतिविधिले नै माओवादीले सधैंका लागि पहिलो पार्टी बन्ने विश्वास गुमायो । जनताको बीच प्रचण्डको छवि दिन प्रतिदिन गिर्दो छ । त्यसको मुख्य कारण गल्ती गरिरहने , गल्ती गरें पनि भनिरहने र कहिले नसुध्रने , बोली र व्यवहारमा अस्थिरता , नातावादमा बढी विश्वास र पिडितहरुलाईभन्दा आफुलाई लाभ हुने नाममा कुनै त्याग नभएकाहरुलाई पद वितरण , वर्गीय रुपमा तीब्र विचलन, दलाल नोकरशाहीसँगको निकटता आदि आदि हुन । प्रचण्डको लोकप्रियता कति गिरेको रहेछ भन्ने जनताले गरेको प्रश्न पार्टी एकता भएपछि ३ वर्षसम्म सुनियो हामीले । आज पनि धेरै माओवादीका साथीहरू उकुसमुकुस भएर त्यहाँ रहनु भएको छ जुन कुरा धेरै साथीहरूले हामीलाई शेयर गरिरहनु भएको छ । विद्रोह गर्न खोज्ने केहिलाई माधव नेपालहरु आउँदै हुनुहुन्छ हामी ठुलो हुन्छौं भनेर रोकिएको छ भने केही कमरेडहरू विद्रोहको तयारीमा हुनुहुन्छ भन्ने बुझिएको छ । यस्तो अवस्थामा एमालेका केही कमरेडहरु पार्टीबाट अलग भइ प्रचण्डसँग मिसिन जाने तयारीमा हुनुहुन्छ भन्ने वहाँहरुकै गतिविधि र प्रस्तुतिले प्रष्ट संकेत गरेको छ । म चुनौती दिन चाहन्छु नयाँ पार्टी दर्ता गर्ने र माओवादीसँग मिसिने जब गर्नुहुन्छ आज तपाईंका पक्षमा उभिने कार्यकर्ताहरु ले नै तपाईंलाई दुत्कार्ने छन । यस्तो असफल हर्कत नगरी कन पार्टी अध्यक्ष कमरेड केपी ओलीसँग तपाईं बस्नुहोस , समिक्षा गर्नुहोस् , छलफल गर्नुहोस , भलाकुसरी गर्नुहोस र हात मिलाएर अगाडि बढ्नुहोस । अन्यथा तपाईंले लेख्न खोजेको इतिहास पढेर नयाँ पुस्ताले तपाईंलाइ धिकार्ने छन ।
कमरेडहरु ! समुह बनाएर भागबन्डाको हिस्सा खोज्ने कुरा पार्टी, आन्दोलन र देशकै निम्ति अहित र घातक छ । तपाईंहरु जति चिच्याएर भने पनि अहिलेको संघर्ष बीचरका आधारमा हुँदै होईन यसलाई बिचार समुह भनिदैन । पद पाईएन , न्याय भएन तपाईंहरुले भन्ने र हामीलेसुनेको यही हो । कसले पद पायो , कसले पाएन , को माथि न्याय भयो कसलाई न्याय भएन यसमा लामो बहस गर्न सकिन्छ तर पटकपटक मन्त्री भएका , पार्टीको पदाधिकारी समेत भएका अनि पार्टीको प्रमुख त्यही पनि थोरै होर १५ वर्ष अनि प्रधानमन्त्रीसम्म भैसक्नु भएका कमरेडले मलाई अन्याय भयो भन्नु भनेको यो भन्दा बढी लज्जास्पद कुरा अरु केही हुन सक्दैन । महाधिवेशनले उचित नेतालाई उचित जिम्मेवारी दिने कुरा निश्चित छँदैछ । फेरि तपाईंले कमरेड केपी ओली माथि आफ्नो मान्छे भन्दा अरु कसैलाई पद दिनुहुन्न भन्ने जे आरोप लगाउनु भएको छ यदि तपाईंलाई त्यही लागेको हो भने मेरो प्रश्न छ पार्टी एकतको क्रममा केन्द्रिय कमिटी र स्थायी समितिमा ल्याईएकाहरु के सबै कमरेड केपी ओलीका मात्रै मान्छे थिए त ? मन्त्री हुने लालबाबु पण्डित त्यतिबेला माधव नेपाल निकट नै हुनुहुन्थ्यो , योगेश भट्टराई , घनस्याम भुसाल , गोकर्ण बिष्टहरु को निकट भनेर चिनिनुहुन्छ कमरेड ? त्यसैले को कसको मान्छे रु हेक्का होस कमरेड आज प्रधानमन्त्रीका सचिवालयमा हुने अधिकांश कमरेडहरु कुनै दिन कमरेड केपी ओली निकट हुनुहन्थेन । प्रतिनिधिसभाको विभिन्न समितिको सभापतिको जिम्मेवारी पाउनु हुने कमरेड कृष्णभक्त पोखरेल , कल्याणी खडका , पवित्रा निरौलाहरु कमरेड केपी ओली निकट हुनुहुन्थेन । त्यसैले समुहमा बसेर धम्क्याउने , थर्काउने गरेर होईन, कमरेड केपी ओलीलाई व्यक्ति भनेर होईन अध्यक्ष हुनुका नाताले र प्रधानमन्त्री हुनुका नाताले वहाँलाई सहयोग गर्दा कसैमाथि पक्षपात एवं अन्याय हुँदैन भन्ने उदाहरण कमरेड शेरबहादुर तामाङ , उसाकला राई लगायतबाट पुष्टि भएकै छ । पार्टी नेतृत्वलाई साथ दिनु कुनै चाकडी गर्नु होईन , दास बन्नु हुँदै होईन सबैको कर्तव्य हो तर लात हान्नु भने अराजकता हो । त्यसैले सोचौं , आजलाई मात्रै होईन भोलिसम्मलाई सोचौं । ०५४ मा पार्टी बिभाजन गर्ने कमरेडहरु आज पनि समनान्तर कमिटी र भेलाको तस्बिर फेसबुकमा पोष्ट गर्दै भव्य रुपमा सम्पन्न भयो भनेर आत्मसन्तुष्टि लिने काम व्यार्थ छ । यो भन्दा ठुलो भेला त ०५४ मा बिभाजित भएको नेकपा (माले ) को हुन्थ्यो होईन र कमरेड ? आखिर परिणाम के भयो ? सोच्नुहोस ! ठण्डा भएर सोच्नुहोस !!

अन्तिम पटक अध्यावधिक गरिएको 900 Viewed

प्रतिक्रिया दिनुहोस्