– डा. राजेन्द्र चापागाई ‘आहत‘ अर्जुनचौपारी- ५, आरुचौर बयाले, स्याङ्जा
“एउटा जीवन, जसले पदभन्दा ठूलो कर्म र भौतिक उपस्थितिभन्दा गहिरो स्मृति छोडेर गयो” कहिलेकाहीँ कुनै मानिसको मृत्यु एउटा व्यक्तिको अन्त्य मात्र हुँदैन; त्यो एउटा युगको अवसान हुन्छ, एउटा घरको आँगन सुनसान हुन्छ, एउटा गाउँको स्मृतिबाट एउटा उज्यालो पाना हराउँछ र आफन्तका हृदयमा कहिल्यै नमेटिने रिक्तता, खाली ठाउँ जन्मिन्छ। मेरा पूजनीय हजुर बुवा, मणिरत्न चापागाईंले ९७ वर्षको दीर्घ जीवन यात्रा पूरा गरी यस भौतिक संसारबाट बिदा लीइ महाप्रस्थानको यात्रा तय गर्नु भएको छ। उहाँको जीवनलाई सम्झँदा आजको जंक फुड र आधुनिकताको नामको अस्वस्थ जीवनशैलीको युगमा ९७ वर्षसम्म स्वस्थ, सक्रिय र फुर्तिलो रहन सक्नु आफैँमा एउटा जीवन-पाठ हो भन्ने लाग्दछ। उहाँको दीर्घ जीवनको रहस्य केवल लामो आयुमा मात्र थिएन, उहाँको जीवनको वास्तविक दीर्घता त उहाँले छोडेर जानुभएको माया, अनुशासन, कर्म, कर्तब्य, संस्कारमा थियो।
स्याना बा—गाउँ जाने बाटोको पहिलो गन्तव्य:
पचासको मध्य दशकतिर परिवारसहित जागिर र छोराछोरीको शिक्षाका लागि पोखरा बसाइँ सरियो। सत्तरीको दशकदेखि काठमाडौंमा जागिर कै शिलसिलामा बसोबास बन्यो। बसाइँ सहरतिर सर्दै गयो, तर मन भने गाउँकै माटोमा अडिइरह्यो। म गाउँ जानुको पहिलो गन्तव्य थियो हजुर बुवा/ स्याना बा लाइ भेट्नु, आशिर्बचन लिनु। गैराका जेठाबा, मणिरत्न स्याना बा भेट्नु, गाउँ पुग्नुको पहिलो अर्थजस्तै थियो। हातमा केही लिएर गएको भए उहाँहरूको हातमा राखेर ढोग्ने, केही नभए पनि खाली हातमै गएर श्रद्धाले शिर झुकाउने। वस्तुको मूल्य सानो-ठूलो हुन सक्थ्यो, तर उहाँहरूप्रतिको श्रद्धाको मूल्य कहिल्यै सानो थिएन। जेठाबा केही वर्षअघि नै हामीबाट विदा हुनुभयो। त्यसपछि हाम्रो चापागाईं टोलमा मणिरत्न स्यानाबा नै ज्येष्ठता, सम्मान र आत्मीयताको जीवित धरोहर बन्नुभएको थियो।
शहरबाट गाउँ जाने दाजुभाइहरू संग पनि कहिलेकाही उहाँलाई सम्झेर केही न केही पठाइदिन्थे। दूरीले बसाइ टाढा पार्न सक्थ्यो, बाटो लामो बनाउन सक्थ्यो, तर माया र सम्मानबीचको दूरी सधै नजिक रह्यो, हाम्रो हृदयमा रह्यो। म गाउँ पुग्दा स्यानाबा-स्यानिआमाको अनुहारमा देखिने खुसीको कुनै तुलना थिएन, मानौकि भोटेकोशीको भेलमा हराएको म अचानक फर्केर घरको आँगनमा आइपुगेको हु ।
एक–दुई दिन गाउँ बस्दा जता डुले पनि फर्किने बेलामा एउटा काम मेरा लागि अनिवार्य हुन्थ्यो- स्याना बालाई भेटेर शहर तिर हिड्न बिदाइ लिनु। उमेरले शरीर कमजोर बनाइसकेको थियो, तर आत्मबल पहिला जवानीको जस्तै बलियो थियो। म शहर फर्कने बेला उहाँ सकी- नसकी बयाले डाँडासम्म मलाई बस चढाउन र बिदाइ गर्न आउनुहुन्थ्यो। म फर्किन्थेँ- आँखा रसिला बनाएर। गाउँका बन्धुहरू शहरमा भेटिँदा मेरो पहिलो प्रश्न हुन्थ्यो- “स्याना बालाई कस्तो छ?” जवाफ आउँथ्यो- “एकदम ठीक हुनुहुन्छ, अझै फुर्तिलो हुनुहुन्छ।” त्यो उत्तर सुन्दा मनभित्र एक किसिमको आनन्दानुभुति हुन्थ्यो। गाउँ जाने कुनै खास काम नहुँदा पनि मनले गाउँतिर तान्थ्यो, किनकि गाउँमा पुग्दा स्याना बा लाइ भेट्न पाइन्छ भन्ने भावनाले नै यात्रालाई अर्थ दिन्थ्यो। अरू आमाबुवा, गैह्राकि जेठिआमा, कान्छी आमा, पारीकि आमा, माथिकी जेठी आमा, इश्वरी, बिष्णु , बालाराम, दिर्घ काका-काकी, डिल्ली दाइ भाउजु लगायत टोलका आमा बुवा दाजुभाइ, दिदीबहिनी, भेट्नु त छँदै थियो; तर प्राथमिकताको पहिलो पानामा स्याना बा हुनुहुन्थ्यो।

दुःखद खबर र निस्तब्धता:
भाद्र १९ गते बिहान ८ बजे पोखराबाट दाजु कृष्ण चापागाईंको फोन आयो। हतारिएको र पीडाले भरिएको स्वरमा उहाँले दुखद खबर सुनाउनुभयो, थाह पाए -हाम्रा पुजनीय, प्रिय स्याना बा ९७ वर्षको लौकिक यात्रा पूरा गरी अनन्त महाप्रस्थानमा निस्किनुभएको रहेछ। म झसङ्ग भएँ, निस्तब्धता छायो, मन स्तब्ध भयो, कानले खबर सुन्यो, तर मनले स्वीकार्न सकेन। स्याना बा संगका अतितका दिनहरु, यादहरु फिल्मको रिल घुम्दा झैँ मानसपटलमा फनफनी घुम्न थाले, आँखा अनायासै रसाए। बिरामी परेको खबरसमेत सुन्न पाइएको थिएन। तत्काल विष्णु काकालाई फोन गरेँ। थाहा भयो- दुःखद घटना घटिसकेको रहेछ र उहाँहरू मदिमुनी घाटतिर अन्त्येष्टिका लागि हिँड्ने तयारीमा हुनुहुदो रहेछ। घरपरिवार र काठमाण्डौ बस्ने बन्धुहरुलाई पनि दुखद सुचना फोनबाट भने किनकि यो मेरो सस्कारागत कर्तब्य पनि थियो। शरीर काठमाण्डौ हुदा पनि मन उतै थियो। दिउँसो दीर्घ काकालाई फोन गरे, उहाबाट अन्त्येष्टि संस्कार सकिन लागेको खबर पाएँ। मन दिनभर बेचैन भइरह्यो। टाढा हुनुको पीडा, खबर ढिला पाउनुको पीडा, टिकट नपाउनुको विवशता र सडकको समस्याले घाटसम्म पुग्न नसक्नुको पीडा- यी सबै पीडा एउटै ठाउँमा आएर मनमा थुप्रिए। मन खिन्न भयो र अझै खिन्न छ। बारम्बार एउटा कुरा मनमा घुमिरहन्छ- गाउँ जानुको पहिलो प्राथमिकता र पहिलो चासो स्याना बा हुनुहुन्थ्यो। अब गाउँ जाँदा त्यो पहिलो प्राथमिकता के होला? एकछिन मनले भन्यो- सायद मैले जन्मेको बयाले टोल मात्र होइन, सिङ्गो गाउँ नै शुन्य भएको छ। तर हामि पिडा मिश्रित स्वास लिएर जिउन बिवस छौ, बाच्नेहरुको जीवन रोकिन्न।
इश्वरी काका-काकी, मलाई हुर्काउने-बढाउने आमा-बुवा, काका-काकी, दाजुभाइ, दिदीबहिनी भेट्न अब एक-दुई दिनमै गाउँ जानेछु। एक-दुई दिन बस्नेछु। हामी सबै दाजुभाइ, कुल खानदानको गौरव, आत्मीयता र सम्मानको धरोहर अकस्मात् ढलेको दुःख सबैसँग बाँड्नेछु। तर यसपटकको गाउँ यात्रा अघिल्ला यात्राजस्तो हुनेछैन। बाटो उही हुनेछ, गाउँ टोल उही हुनेछ, घरहरू उही हुनेछन, तर एउटा आवाज हुनेछैन, एउटा अनुहार आँगनमा देखिनेछैन, एउटा हातले मलाइ आशीर्वाद दिनेछैन। गाउँ उही हुनेछ, मणिरत्न स्याना बा हुनुहुने छैन, मेरो लागि गाउँको एउटा अर्थ हराइसकेको हुनेछ।
मानिस ठूलो सोचले हुन्छ, कुर्सीले होइन:
मणिरत्न स्याना बा केवल हाम्रो परिवारका ज्येष्ठ सदस्य मात्र हुनुहुन्थेन, उहाँ हाम्रो गाउँको सामाजिक स्मृतिको एउटा महत्वपूर्ण अध्याय हुनुहुन्थ्यो। आरुचौरको सर्वोदय माध्यमिक विद्यालयमा उहाँले दुई दशकभन्दा बढी समय सेवा गर्नुभयो। तीस, चालीस र पचासको दशकमा त्यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि उहाँ केवल कर्मचारी हुनुहुन्थेन- उहाँ अभिभावक हुनुहुन्थ्यो। २०३२ सालभन्दा अघि पर्वत जिल्ला र त्यसपछि स्याङ्जा जिल्लामा पर्ने मेरो प्रारम्भिक र माध्यामिक शिक्षा प्रदान गर्ने हाम्रो विद्यालयमा स्याङ्जाभन्दा बढी विद्यार्थी पर्वतका विभिन्न गाउँबाट आउने गर्दथे। ती विद्यार्थीका तीन पुस्तासम्मलाई उहाँले नजिकबाट देख्नुभयो, अनुशासनमा राख्नुभयो, हुर्काउनुभयो र अभिभावकत्व दिनुभयो। आज उहाँको एकल सुपुत्र इश्वरी चापागाईं त्यही विद्यालयका प्रधानाध्यापक हुनुहुन्छ। आफूले जीवनको दुई दशकभन्दा बढी समय सबैभन्दा सानो पदमा बसेर सेवा गरेको विद्यालयको सर्वोच्च जिम्मेवारी पदमा आफ्नै सन्तानलाई आसिन भएको देख्न पाउनु पनि कुनै बाबुको जीवनको सानो उपलब्धि होइन। यो अशिम सन्तुष्टिको शिखर हो, एउटा मौन गौरव हो।
‘हेडसरभन्दा जीवा कडा छन्’:
मणिरत्न स्यानाबा को मिजास कर्तब्यपालानाका सवालमा अलिक कडा थियो। त्यस समयका विद्यार्थीहरू भन्ने गर्थे- “हेडसरभन्दा जीवा कडा छन्, पढाउने शिक्षकभन्दा जीवासँग बढी डर लाग्छ”। तर त्यो डरभित्र द्वेष थिएन; विद्यार्थीको भविष्यप्रतिको जिम्मेवारी थियो, कर्तब्य र अनुशासनको आग्रह थियो। यस बिषयमा क्यानडा बस्ने गोबिन्द पौडेल र अमेरिकामा बस्ने बिजय बगाले भाइले लामै लेखिसक्नु भएको छ। स्यानाबा विद्यार्थीको बिग्रिएको बाटो हेरेर चुप लागेर बस्न सक्नुहुन्नथ्यो। धेरै बिग्रिन लागेका विद्यार्थीलाई उहाँले सम्झाएर, हप्काएर, कहिलेकाहीँ कठोर भएरै सही बाटोमा फर्काउनुभएको थियो। आज ती विद्यार्थीहरूमध्ये कति स्वदेशमा उच्च पदमा रही सम्मानित जीवन बिताइरहेका छन्, कति विदेशमा पनि उच्च स्तरमा रही राम्रो आर्थिक, भौतिक सुबिधा सम्पन्ता सहित सहज जीवन बाँचिरहेका छन्। उहाँका अभिभावकत्वमा हुर्किएका हजारौँ विद्यार्थी छन्। ती विद्यार्थी हरूको जीवनमा उहाँले छोडेको प्रभाव कुनै नियुक्तिपत्र, पद वा तलबको अभिलेखमा भेटिँदैन। त्यो त उनीहरूको चरित्र, अनुशासन र सफलतामा देखिन्छ। सायद उनीहरूमध्ये धेरैले आज तत्कालिन मणिरत्न जीवा लाइ सम्झिरहेका होलान्।
सानो पद, ठूलो योगदान:
जीवनको एउटा ठूलो सत्य यही हो- मानिस ठूलो कुर्सीले हुँदैन, ठूलो सोचले हुन्छ। मणिरत्न स्याना बा यसको जीवन्त उदाहरण हुनुहुन्थ्यो। आफू सानो पदमा रहेर पनि उहाँले आफ्नो कर्मसंस्था-विद्यालय र त्यससँग जोडिएका विद्यार्थी, शिक्षक र समुदायको हितलाई आफ्नो जिम्मेवारी ठान्नुभयो। तत्कालिन युवा हेडसर कृष्ण सापकोटा र शिक्षकहरुलाई समेत उहाँ अनुभवको आँखाले सल्लाह दिनुहुन्थ्यो। हेडसरले पनि उहाँलाई एउटा अनुभवी अभिभावकका रूपमा सम्मान, माया गर्नुहुन्थ्यो। मणिरत्न बा ले शिक्षक र विद्यार्थीको मन जित्नुभएको थियो। विद्यालयको निर्माणदेखि विकास र प्रगतिसम्म उहाँको महत्वपूर्ण भूमिका छ। कुर्सी सानो थियो, तर दृष्टि ठूलो थियो, पद सानो थियो, तर योगदान ठूलो थियो, आवाज कडा थियो, तर हृदयभित्र विद्यार्थीप्रतिको माया गहिरो थियो।
एउटा सानो सपना: मणिरत्न स्मृति प्रतिष्ठान :
बिद्यालयका पुर्व कर्मचारी मणीरत्न चापागाईको स्मृतिलाई केवल शोकमा सीमित नराख्न पाए हुन्थ्यो भन्ने एउटा विचार मनमा आइरहेको छ। विद्यालयको अग्रसारितामा र हामी स्वदेश तथा विदेशमा रहेका पूर्वविद्यार्थी, शिक्षक, शुभेच्छुक र घरपरिवारको सहकार्यमा “मणिरत्न स्मृति प्रतिष्ठान” स्थापना गर्न सकिए कस्तो होला? उहाँले जीवनभर विद्यार्थीलाई सिर्जनशीलता, अध्ययन, कर्तव्य, अनुशासन र सामाजिक सेवातर्फ डोर्याउनुभयो। त्यही भावनालाई संस्थागत रूप दिन सकिएला कि ! विद्यालयका विद्यार्थीलाई सिर्जनात्मक कार्य, अध्ययन, अनुशासन, सामाजिक सेवा वा अन्य कुनै क्षेत्रमा उत्कृष्ट बन्न प्रेरित गर्ने गरी छात्रवृत्ति वा पुरस्कार स्थापना गर्न सकिएला कि । विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान गर्न सकिएलाकि। सायद यसले एउटा सुन्दर सन्देश दिनेछ- ठूलो पदमा पुगेर मात्र ठूलो काम गर्नुपर्दैन। सानो पदमा बसेर पनि ठूलो मन र ठूलो सोचले काम गर्न सकिन्छ र, त्यस्तो कर्मले मानिसलाई उसको मृत्युपछि पनि जीवित राख्छ। शरीर एक दिन माटोमा विलीन हुन्छ; तर असल कर्महरू मानिसका स्मृतिमा, संस्थाका भित्तामा, सहकर्मी र अनुजका चरित्रमा, समाजका कथाहरूमा लामो समयसम्म बाँचिरहन्छन्।
मृत्यु अन्त्य हो कि अर्को यात्राको सुरुवात?:
मृत्यु प्रत्येक जन्मसँगै आएको सत्य हो। मान्छे जीवनका हरेक क्षण आफ्नो काँधमा मृत्युको छाया बोकेर हिँडिरहेको हुन्छ। हामी सबै कुनै न कुनै दिन त्यही यात्राको अन्तिम मोडमा पुग्नेछौँ। कवि जोन डनका कविता “मृत्युमा” मा निद्रा र मृत्युबीचको गहिरो दार्शनिक सम्बन्ध भेटिन्छ -“निद्रा क्षणिक विश्राम हो र मृत्युको तस्बिर मात्र हो। निद्रा अर्थात मृत्युको तस्बिर देख्दा त मान्छेले आनन्दाभुती गर्छ भने साच्चैको मृत्यु देख्दा, भोग्दा कति आनन्द अनुभूति गर्छ होला! मृत्यु गहिरो विश्राम, निद्रा हो, जहा शरीरको जेलमा थुनिएको अमर आत्माले मुक्ति पाउछ, शरीरका मांसपेसी र हड्डिहरुले चिरकालीन बिश्राम पाउछन्। शरीर भौतिक बन्धनबाट मुक्तिको अर्को अवस्था पुग्छ र सम्बन्धित ब्याक्तिमा रहेको मृत्युको आफ्नै मृत्यु हुन्छ”। अंग्रेजीमा एउटा भनाइ पनि छ- “Life is a journey from womb to tomb. (जीवन गर्भदेखि घाटसम्मको यात्रा हो)। तर केही जीवनहरू घाटमा पुगेर पनि समाप्त हुँदैनन्। उनीहरू आफ्ना सद्कर्मका अदृश्य पाइलाहरूबाट यही समाजमा हिँडिरहन्छन्। मणिरत्न स्याना बा त्यस्तै जीवन बाँचेर जानुभएको छ। उहाँको शरीर अब हामीबीच छैन। तर उहाँले हिँडेका बाटाहरू छन्, उहाँले सेवा गरेको सस्थाहरु छन् , उहाँले अनुशासन सिकाएका विद्यार्थी छन्, उहाँले माया गरेका आफन्त छन्, उहाँले दिएको सुसंस्कार छ। उहाँलाई सम्झने अनगिन्ती मनहरू छन्। त्यसैले उहाँको मृत्यु एउटा शरीरको अन्त्य होला; उहाँको प्रभावको होइन। आज हाम्रो चापागाईं टोलको एउटा गौरव–धरोहर ढलेको छ। एउटा ज्येष्ठ आवाज मौन भएको छ। एउटा आशीर्वाद दिने हात रोकिएको छ। गाउँ जाने यात्राको मेरो एउटा पहिलो गन्तव्य हराएको छ तर संझनाहरु उपस्थित छन्, जिवन्त छन्, उहाँले छोडेर जानुभएको स्मृति अझै हृदयमा उभिएको छ- पहाडझैँ अटल।
स्याना बा ! अब गाउँ जाँदा तपाईंलाई भेट्न म तपाईंको घरतिर जानेछु। तपाईंको बस्ने पिंडी होला , आसन होला, आँगन होला, घरको भित्तामा तपाईंका फोटाहरु होलान तर तपाईं शसरीर हुनुहुनेछैन। सायद त्यही क्षण मैले फेरि बुझ्नेछु- मानिस घरमा बस्दैन रहेछ, मानिस त अरूका हृदयमा बस्दोरहेछ। तपाईं हामी सबैका हृदयमा बसिरहनु भएको छ बसिरहनु हुनेछ। तपाईंको लामो आयु वर्षको गणना मात्र थिएन, त्यो त हजुरको कर्म, अनुशासन, माया र संस्कारले लेखिएको एउटा दीर्घ अध्याय थियो। आज तपाईं शरीरले हामीबाट टाढा हुनुभएको छ, तर तपाईंका सम्झनाहरू हामीबाट कहिल्यै टाढा हुने छैनन् ।
हजुरको उन्मुक्त अमर आत्माप्रति फेरी पनि भावपूर्ण श्रद्धाञ्जली !
शोकसन्तप्त परिवारजन, आफन्त, पुर्व विद्यार्थी, सहकर्मी तथा सम्पूर्ण चापागाईं परिवारमा हार्दिक समवेदना !
भाका, भुल, दया र ममता, सन्तोष जान्दैन त्यो
इन्द्रै बिन्ति गरुन झुकेर पदमा, त्यो बिन्ति मान्दैन त्यो
थुप्रोमा उंधिनी मिठो र नमिठो, रोजेर छान्दैन त्यो
खाता जाँची, सबै दुरुस्त नबुझी, बिर्सेर हान्दैन त्यो
राजा रंङ्क सबै समान उसका, वैषम्य गर्दैन त्यो
आयो टप्प टिप्यो लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो – कविशिरोमणि
अस्तु
@ ‘आहत‘ कुटी
किपु- २, ट्याङ्गलाफ़ाट , काठमाण्डौ
२०८३/०५/२०












