भारतमा २४ घण्टामा कोरोना संक्रमित ४ नेपालीको मृत्यु

  • ख-
  • ख+

नयाँदिल्ली — कोरोना भाइरसको संक्रमणबाट भारतमा गएको पछिल्लो २४ घण्टामै चार प्रवासी नेपालीले ज्यान गुमाएका छन् ।
रोजगारीका लागि दिल्लीमा बस्दै ५४ वर्षीय विष्णु पौडेलको कोरोना भाइरसको संक्रमणबाट सोमबार मृत्यु भएको छ । आफन्त शिवलाल गौतमका अनुसार बुटवल निवासी गौतमको सोमबार दिउँसो करिब एक बजे दिल्लीको सफदरजंग अस्पतालामा उपचारका क्रममा मृत्यु भएको हो । पौडेललाई एक साताअघि ज्वरो आउने, सास फेर्न गाह्रो, अक्सिजनको लेभल घट्ने जस्ता समस्या देखिएको थियो । ती समस्या देखिनासाथ आफूहरुले अस्पताल भर्नाको प्रयास गरे पनि नपाइएको गौतमले बताए ।
बेड नपाएर चार दिनसम्म दिनभर अस्पतालको गेट धाउने र साँझ घर फर्कने क्रम चलेको उनले सुनाए । ‘कुनैले बेड छैन त कुनैले अक्सिजन छैन भनेर फर्काए । तीन दिनपछि मात्र निकै मुस्किलले सफदरजंग अस्पतालमा भर्ना गरिएको थियो,’ गौतमले भने । अस्पताल भर्ना गरेपछि पौडेलको स्वास्थ्यमा सुधार देखिए पनि सोमबार अचानक अक्सिजनको लेभल घटेपछि उनको मृत्यु भएको गौतमले जानकारी दिए ।

त्यसैगरी अर्का एक नेपाली कामदार ३५ वर्षीय दीपक विकले पनि आइतबार संक्रमणकै कारण ज्यान गुमाएका छन् । अर्घाखाँची घर भएका विकको दिल्ली छेउको नोयडाको जिम्स अस्पतालमा उपचारका क्रममा सोमबार नै मृत्यु भएको छिमेकी विष्णु केसीले कान्तिपुरलाई बताए । केसीका अनुसार ६ दिनअघि कोरोना पुष्टि भएपछि पहिले दिल्लीकै एउटा नर्सिङ होममा बाह्रदिन उपचार गरिएको थियो । तर, स्वास्थ्यमा सुधार नआएपछि ६ दिनअघि उनलाई नोयडाको जिम्स अस्पतालमा आईसीयूमा भर्ना गरिएको केसीले भने । उनलाई दुई पटक प्लाज्मा समेत चढाइएको थियो । तर, उपचार निधन भएको हो ।
त्यस्तै, अर्का एक नेपाली कामदार चन्द्रघर्ती मगरको पनि कोरानाले ज्यान लिएको छ । उत्तरभारत नेपाल तरुण दलका कोषाध्यक्ष चन्दरहम्जाली मगरका अनुसार मृतक मगरको उपचारका क्रममा सोमबार मृत्यु भएको हो । मगर दिल्लीको अलीगाउँमा रेष्टुराँ व्यवसाय गर्दै आएका थिए । उनलाई १० दिनअघि कोरोना संक्रमण देखिएको थियो । सास फेर्न गाह्रो भएपछि दुई दिन अघि दिल्लीकै होली फेमली अस्पतालको इमरजेन्सी पुर्‍याइयो । अस्पतालले बेड छैन भनेपछि सोही दिन साँझ आफन्तले आरएमएल लगे । बेड छैन भनिरहेको अस्पतालले निकै जोडबल गरेपछि २४ घन्टा राख्न दिएको चन्दरहम्जालीले बताए । आइतबार बिहान उनलाई अक्सिजन सिलिण्डिरसहित हरियाणाको फरिदाबाको सोनारोड अस्पताल पुर्‍याएको तर, त्यहाँ अवस्था सुधार नभएपछि दिल्लीकै अपोलो लगियो । तर, अस्पताल छिर्नु अघि नै उनको छटपटिएर निधन भएको चन्दरहम्जालीले बताए । ‘अस्पताल छिर्नै पाउनु भएन । गेट बाहिरनै छटपटिएर बित्नु भयो’ उनले भने ।
दिल्लीमा मात्र नभएर संक्रमणका कारण भारतका अन्य सहरमा पनि नेपालीहरुको मृत्यु हुने क्रम जारी छ । सोमबार नै गोवामा कैलालीकी ३० वर्षीय राधा तिरुवाको उपचारकै क्रममा मृत्यु भएको छ । कोरोना संक्रमित राधाको केहीदिनदेखि आईसीयूमा उपचार भइरहेको थियो । अखिल भारत नेपाली एक समाजका आरबी खड्काका अनुसार उपचारकै क्रममा सोमबार उनको मृत्यु भएको हो । उनका श्रीमान अमर तिरुवा पनि संक्रमित हुन् र हाल उनलाई पनि आईसीयू राखिएको छ ।

गएको २४ घण्टामै चार नेपालीको मृत्युले भारतमा रहेका नेपाली कामदारहरु संक्रमणको उच्च जोखिम रहेको प्रष्ट संकेत गर्छ । प्रवासी नेपाली संगठनहरुका अनुसार पछिल्लो एक सातामै ४० भन्दा बढी नेपालीको मृत्यु भइसकेको छ । उनीहरुको भनाइमा आफन्तहरुले कोरोनाबाट मृत्यु भए पनि नखुलाउने भएकाले संक्रमणबाट मृत्यु हुनेको संख्या निकै धेरै छ । ‘संक्रमित हुनेहरुको त हिसाब नै छैन । एक हप्तामै चालिसभन्दा बढीको मृत्यु भएको छ, अझ कति त कोरोनाबाट ज्यान गए पनि आफन्तहरुले नै बताउँदैनन्,’ अखिल भारत नेपाली एक समाजका आरबी खड्काले भने ।(कान्तिपुर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्