एउटा सडकमा खटिने राष्ट्रसेवकले दिउसै देखेको सपना

  • ख-
  • ख+

राजेन्द्र खड्का / लकडाउन र कोरोनाको कारण बजारका घरका सबै ढोकाहरु बन्द छन । यो प्रचण्ड गर्मीले प्याक प्याक बनाईरहेको छ । सडकमा सिट्टी फुक्दै डिउटीमा खटिएको बेला के छ बाबु आरामै भनेर कहिले काहीँ बोलाउने आमा र दिदी आजकल एक अंखरा पानी दिन डराउनुपर्ने अवस्था सृजना भएको छ , उहाँहरु मात्र होईन आजकल म आफै पनि उहाँहरुसग परपर नै हुन्छु उहाँहरुलाई मेरो डर मलाई उहाँहरको डर । राष्ट्रको सेवा गर्छु भनेर कसम खाएपछि घाम होस् कि पानी आफ्नो कर्तव्य निभाउनै पर्छ । न भोक भन्न पाईन्छ न तिर्खा भन्न पाईन्छ । कहिलेकाँहि यस्तै हुनछ डिउटीमा बस्दा जेठको चर्को घाममा तिर्खाले सताएको छ , आँखाहरुले धाराहरु खोज्दा पर धारो देखिन्छ तर मलाई थाहा छ त्यो पाईपमात्र भएको पानी नभएको धारो हो । त्यतिबेला हामी जस्ता डिउटीमा खट्नेको लागि पानी आउने धारो पनि बनाईदिएको भए हुने नि भन्ने सम्झन्छु , हामीले मात्र होईन वटुवाहरुलाई पनि हुन्थ्यो होला नि भन्ने सम्झन्छु अनि एक घर एक धारा नारा लगाउने जिम्मेवारी व्यक्तिहरु सम्झन्छु । त्यतिकैमा मेरो धारो खोज्ने कामलाई ब्रेक लगाउदै लखनतरान परेको काँधमा झोला बोकेको थकित पुरुष अर्तनाद सुनिन्छ ‘‘सर मलाई गाडी चढाई दिनुस् न घरमा बच्चा बिरामी छ औषधी लिन आएक , हिड्दा हिड्दा थाकेर हैरान भए कसरी जानु ? ” खुईय सूस्केरा सहितको वाक्य सुनेर तिर्खाएको मेरो तिर्खा हराउछ । तिर्खाले आत्तिएको मेरो सामु शरण मागे जसरी विन्ती गरेको पुरुष देखेर सबै प्यास मेटिन्छ , आफ्नो पिडा भन्दा उहाँको पिडा ठुलो लाग्छ । म केहि बोल्न नै सक्दिन सडकमा हेर्छु सडक रित्त्तो छ म के गरुँ ? उहाँले पनि सरकारीको वर्दी लगाएको देखेर मसग आश गर्नुभएको होला ? यो देशमा यस्ताको लागि सुख पाउने दिन कहिले आँउला ? कस्ले ल्याउला भनेर सोच्न बाध्य हुन्छु त्यतिकैमा १, २ बर्षको जस्तो देखिने बच्चा अनि साथमा कपडाको झोला बोकेर एक महिला आउनुहुन्छ ” बाबुलाई औषधी लिन अघि त हिडेर आएको अहिले त तपाईलाई देखे गाडि चढाईदिनुस् है सर तरकारी बोक्ने गाडी भएपनि हुन्छ ट्रक नै भए पनि हुन्छ ।” म कस्लाई गाडि चढाउने ? कसरी चढाउने ? सडक सुनसान छ, घाटी सुकेको छ पानीको तिर्खाले पानी खान जान्छु भनेर नि जान सक्दिन । सिटी फुकेर गाडी रोकेर गाडि चढाएर पठाउन पनि सक्दिन सडक सुनसान छ ।

बर्षौसम्म शासन गर्दा पनि सर्वहारा र सधै पसिना बगाउने जनता झन् झन् गरिब भईरहेका छन् , बच्चा बोकेर घण्टौ हिड्नु पर्ने पनि यहि देशमा छन् । तिनको मत पाएर पदमा पुगेर चिल्लो गाडिबाट नउत्रने पनि यहि देशमा छन् कहिले पाउलान् मान्छेले सहज सुविधा ? आज लकडाउनमा मात्र होईन हिजो पनि यस्तै थियो धेरै नागरिकको अवस्था, जनताको लागि म गर्नेछु नि कस्ले भन्ला ? यसको उत्तर दिन सक्ने यो देशमा को छ त ? पसिनाले भित्री वस्त्र पुरै भिजेर बाहिरी वर्दी पनि भिजी सकेको म एउटा सामान्य राष्ट्र र जनताको सेवकको दिमागमा प्रश्नहरुले लखेटेको छ , म त ति दुई मानिसका समस्या र टुलुटुलु हेरिरहने एउटा विबश सोच भएको मानिस बन्न पुग्छु ।
त्यतिबेला नै एउटा खाली गाडी आउछ दुबै यात्रीहरुलाई सवारी चालकसग अनुरोध गरि जहाँसम्म अनुकुल पर्छ त्यहाँसम्म पुर्याईदिन आग्रह गर्छु । उ गारो मान्दा मान्दै पनि नाई भन्न सक्दैन दुवैजना चढ्नुहुन्छ, दुबै जना खुशी भएर नमस्कार गर्दै आफ्नो यात्रामा लाग्नुहुन्छ । मेरो तिर्खा पनि उहाँहरको पिडाले मेटाईदिन्छ । निकै ठुलो काम गरेजस्तो प्यास भुलेर ड्युटिमा खटिन्छु फेरि त्यस्तै अनगिन्ति अनुहारहरु भेट्छु अनगिन्तिसग सात्क्षात्कार हुन्छु सक्दो सहयोग गर्ने प्रयास गर्छु तर मेरो सानो सहयोगले के हुन्छ र तैपनि अरुको पिडाले आफ्नो तिर्खा भुल्ने प्रयाश गर्छु । केही समयपछि आफ्नो डियुटी पनि सकिएर अफिसमा पुग्छु र मजासग प्यास मेटेर पानी पिउछु । हरेक विवश यात्रीहरुको दुः खमा साथी बन्न पाउँदा आफुले आफैलाई भाग्यमानी सम्झन्छु र खुशी हुन्छु । म अझै बढी खुशी त सामान्य जिवनयापन गर्ने जनताहरुको जीवनस्तरमा परिवर्तन र पसिनाको मूल्यको कदर राज्यले गरेको दिनमा हुनेछु भन्ने हरदम दिउसै सपना देखिरहन्छु , पुरा होला त मेरो सपना ? जय नेपाल ! जय जनता !

( लेखक राजेन्द्र खड्का)

( राजेन्द्र खड्काको फेसबुक पेजबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्