काठमाडौ । एमालेको संघीय मामिला तथा सामान्य प्रशासन विभागका प्रमुख किरण गुरुङले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनलगत्तै ती ठाउँमा कार्यरत करार तथा अस्थायी कर्मचारीलाई हटाउने कार्यको विरोध गर्दै बहालमा रहेका सबै कर्मचारीलाई नियमित काम गर्न पाउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
निश्चित विधि र प्रक्रियाबाट नियुक्ति तथा अवकाश पाउने कर्मचारीलाई विधि प्रक्रिया विपरित हटाउने र प्रशासनको क्षेत्रमा अराजकता सिर्जना गर्ने काम भएको भन्दै एमालेले आपत्ति जनाएको छ ।
विज्ञप्तिमा वर्तमान गठबन्धन सरकार स्थायी कर्मचारीहरूको यो संयन्त्रलाई हतोत्साही बनाउने र दलगत स्वार्थमा प्रयोग गर्ने अनर्थकारी बाटोमा लागेको छ । नयाँ आर्थिक वर्षको थालनीसँगै संघ, प्रदेश र स्थानीय सरकारहरूले अस्थायी, ज्यालादारी र करारमा कार्यरत हजारौं कर्मचारीहरूलाई राजनीतिक पूर्वाग्रहका आधारमा बर्खास्त गर्न थालेको कुराप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै कुनै पनि तहका कर्मचारीलाई नहटाउन चेतावनी समेत दिएको छ ।








