अमेरिकाबाट नेपाल आउँछ गाँजाः लागुऔषध किन्न मोबाइल घडी धरौटी राख्छन् युवायुवती

  • ख-
  • ख+

केही दिनअघि नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोली ललितपुर महानगर(१७ दुपाटका अनिश महर्जनको घर पुग्यो। लागुऔषध प्रयोगकर्ताको जालो पछ्याउँदै जाँदा प्रहरी २९ वर्षीय महर्जनको घर पुगेको थियो।

महर्जनको घरमा भेटिएका सामान देखेर प्रहरीले नयाँ तथ्य फेला पार्‍यो। बैंकहरूले ऋण दिँदा धितो राखेर जसरी अनिश पनि लागुऔषध बेच्दा धितो राख्दा रहेछन्। पैसा नहुने प्रयोगकर्तालाई मोबाइल र घडी धितो राखेर अनिशले लागुऔषध दिने गरेको खुलेको ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले जानकारी दिए।

अनिशको घरसम्म पुग्नुअघि प्रहरीले अरू लागुऔषध सेवन गर्नेहरूलाई पक्रेको थियो। भदौ १६ देखि २० सम्म ब्युरोले विशेष अप्रेशन चलाएको थियो। यो अप्रेशनमा पक्राउ परेका १५ जनालाई ब्युरोले मंगलबार सार्वजनिक गरेको छ।

गत बिहीबार प्रहरीले ललितपुर महानगरपालिका-९ भोलाखेलबाट च्यासलका सञ्जय कपालीलाई प्रहरीले पक्राउ गर्‍यो। उनीसँग लागुऔषध थियो। त्यसको स्रोत खोज्दै जाँदा प्रहरी रामेछापको मन्थली-१३ फुलासीका २७ वर्षीय कुमार तामाङसम्म पुग्यो। उनी पनि सोही दिन पक्राउ परे।

उनीहरूको साथबाट प्रहरीले नियन्त्रित लागुऔषध ब्रुप्रेनोर्फिन ३१ एम्पुल, डाइजेपाम ३१ एम्पुल र फेनारगन ३० एम्पुल बरामद गर्‍यो। सोधपुछ गर्दा अर्को व्यक्तिले लागुऔषध दिएको उनीहरूले बताए।

उनीहरूकै बयानका आधारमा प्रहरी अनिशको घरसम्म पुगेको हो। अनिश घरमा एक्लै बस्थे।

‘लागुऔषध प्रयोगकर्ताले लागुऔषध किन्नको लागि मोबाइल, घडी, गितार धरौटीमा छाडेर गएका रहेछन्। पैसा तिर्न नसक्नेलाई उनी ती सामान धितो राखेर लागुऔषध बेच्दा रहेछन्’ खनालले भने, ‘उनको सम्पर्कमा २८ जना प्रयोगकर्ता रहेको खुलेको छ।’

प्रहरीले अनिशको घरबाट ५६ एम्पुल बुप्रेनोर्फिन, २५ एम्पुल डाइजेपाम र ७९ एम्पुल फेनारगन बरामद गरेको छ। २२ हजार एक सय रुपैयाँ, १७ थान विभिन्न कम्पनीका मोबाइल, ७ वटा घडी र चार वटा गितार पनि फेला पारेको हो।

ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्काका अनुसार अनिश पनि लागुऔषधका प्रयोगकर्ता हुन्। यसअघि उनी पटक(पटक रिह्याबमा बसेका थिए।

अनिशले बेच्ने लागु‍औषध सप्तरी डाक्नेश्वरी -७ का २७ वर्षीय धरमदेव रामसँग ल्याउँथे। रामलाई प्रहरीले गत आइतबार ललितपुरको महालक्ष्मी-१ बाट पक्राउ गरेको छ।

रामले कहाँबाट लागुऔषध ल्याउँथे भन्नेचाहिँ खुलिसकेको छैन।

‘हामीले सोधपुछ गरिरहेका छौं, उनले स्रोत खुलाएका छैनन्,’ एसएसपी खनालले भने, ‘दुई जनाले उनीबाट लागुऔषध लिने गरेको भनेका छन्। अरू कुराहरू पनि खोल्ने प्रयास गर्दैछौं।’

धरौटी नै राखेर लागुऔषधको किनबेच हुने देखिएकाले अभिभावकले पनि आफ्ना बालबच्चाको ख्याल गर्नुपर्ने एसएसपी खनाल बताउँछन्।

‘अहिले सबै केटाकेटीलाई अभिभावकले मोबाइल, घडी दिएका हुन्छन्। ती सामान कहाँ छन् त भनेर पनि बुझिरहनु पर्ने अवस्था देखियो,’ उनले भने।

अमेरिकाबाट गाँजा पार्सल

ब्युरोले पार्सलमा आएको गाँजा पनि बरामद गरेको छ। सोमबार गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट प्रहरीले दुई किलो गाँजा बरामद गरेको हो।

उक्त गाँजा अमेरिकाको क्यालिफोर्नियाबाट आएको एसएसपी खनालले जानकारी दिए।

‘हुलाकमा पनि प्रहरी परिचालन गरेका हुन्छौं। हिजो एउटा शंकास्पद पार्सल आयो। खोलेर हेर्दा त्यसमा गाँजा रहेछ,’ उनले भने,‘त्यसपछि हामीले अनुसन्धान गर्‍यौं।’

गाँजा भएको उक्त पार्सल लिन आएका काभ्रे मण्डेनदउपुर-७ का मनोज राईलाई प्रहरीले पक्रेको छ। अमेरिकाबाट पार्सलमार्फत् हुने गाँजा आपूर्तिमा मनोज भरियामात्र रहेको अनुसन्धानमा खुलेको छ। उनले ३० हजार रुपैयाँ लिएर उक्त गाँजा हुलाकबाट ल्याएर मालिककहाँ पठाइदिन्थे।

मनोजले दिएको बयानका आधारमा प्रहरी उनलाई गाँजा लिन पठाउने काठमाडौं महानगरपालिका १७ खुसिबुका ३० वर्षीय राहुल क्षेत्री र यसमा सहयोग गर्ने नक्सालका अंकितकुमार श्रेष्ठलाई पनि पक्राउ गरेको छ।

अमेरिकाबाट उनीहरूलाई पार्सल पठाउने को हुन् भन्नेबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।

‘क्यालिफोर्नियाको गाँजाको गुणस्तर राम्रो हुने भएकाले पठाएको हो कि भन्ने प्रारम्भिक अनुसन्धानमा खुलेको छ। नेपालमा किन आयो र कहाँ पुर्‍याउन लागियो, कसले पठायो भन्नेबारे थप अनुसन्धान भइरहेको छ,’ एसएसपी खनालले भने, ‘यसअघि पनि सात पटक क्यानडा र अमेरिकाबाट यसरी नै गाँजा ल्याएको देखिएको छ।’ (शिर्षक परिवर्तन) श्रोतः सेतोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्