दिपक मनाङेलाई कांग्रेसको समर्थन

  • ख-
  • ख+

मनाङ । नेपाली कांग्रेस मनाङले आगामी ४ मंसिरमा हुने प्रदेश सभा निर्वाचनका लागि राजीव गुरुङ (दिपक मनाङे) लाई समर्थन गर्ने भएको छ ।

प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र रहेको मनाङमा निर्वाचन क्षेत्र नम्बर (ख) मा स्वतन्त्र उम्मेदवारको रुपमा कांग्रेसले राजीव गुरुङलाई समर्थन गर्ने भएको हो । कांग्रेस जिल्ला कार्यसमिति मनाङको बिहीबार बसेको बैठकले गण्डकी प्रदेश सरकारका मन्त्रीसमेत रहनु भएका गुरुङलाई समर्थन गर्ने निर्णय गरेको हो ।

कांग्रेस नेतृत्वको सरकार बनाउन भूमिका खेल्नुभएका वर्तमान खेलकुदमन्त्री गुरुङलाई गठबन्धनको भावना र पार्टीको नीतिअनुसार सहयोग गर्ने निर्णय गरेको कांग्रेस मनाङले जनाएको छ । कांग्रेसको भातृसंगठन नेपाल तरुण दलको पूर्वअध्यक्षसमेत रहनु भएका गुरुङ केही वर्ष पहिले पार्टी परित्याग गरी स्वतन्त्र बन्नुभएकाे थियाे ।

अघिल्लो निर्वाचनमा पनि स्वतन्त्र उम्मेदारी दिनु भएका गुरुङलाई तत्कालीन समयमा एमालेले साथ दिएको थियो । यद्यपि गण्डकी प्रदेश सरकारमा कांग्रेस नेतृत्वको सरकार निर्माण हुन गुरुङको विशेष भूमिका रहेको थियो ।

प्रदेश निर्वाचन क्षेत्र (ख) सँगै कांग्रेस मनाङले प्रतिनिधि सभातर्फ पार्टी केन्द्रीय सदस्य एवं निवर्तमान जिल्ला सभापती टेकबहादुर गुरुङलाई सर्वसम्मत सिफारिस गरेको छ ।

बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फ महाधिवेशन प्रतिनिधि च्यूङ गुरुङ (कर्मा)लाई सिफारिस गरेको छ । त्यसैगरी प्रदेश सभा निर्वाचनका लागि निर्वाचन क्षेत्र (कं) मा भने प्रत्यक्षतर्फ चारजनाको नाम सिफारिस गरेको छ ।

सिफारिस हुनेहरुमा पार्टी महासमिति सदस्य साङदो लामा, जिल्ला उपसभापति चन्द्र घले, क्षेत्रीय सभापति छिरिङ घ्याल्पो लामा र प्रदेश अधिवेशन प्रतिनिधि मुनिन्द्रजङ गुरुङ रहनु भएकाे छ । बैठकको निर्णयानुसार प्रदेश सभा निर्वाचन क्षेत्र (क) का लागि भने समानुपातिकतर्फ जिल्ला सचिव महेन्द्र घले सर्वसम्मत सिफारिस हुनुभएकाे छ ।

त्यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्र (ख)का लागि समानुपातिकतर्फ कर्मा गुरुङ र गीता गुरुङलाई सिफारिस गरेको कांग्रेस मनाङले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्