सल्यान दुर्घटना अपडेट: भान्जीको बिहेबाट फर्किएका एकै परिवारका ५ जनाको मृत्यु, मृतक ८ जनाकै पहिचान

  • ख-
  • ख+

रुपन्देही । बुधबार बिहान सल्यानमा भएको जीप दुर्घटनामा मृत्यु भएका ८ जनाको पहिचान खुलेको छ । बाँके कोहलपुर धकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिम जाँदै गरेको रा १ ज ५६३ नम्बरको जीप कपुरकोट गाउँपालिका वडा नं ३ मूलपानीमा आज बिहान साढे तीन बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा जीप चालक कपुरकोट गाउँपालिका वडा नं ६ जलवाङका २१ वर्षीय जितबहादुर बोहोरा, सोही ठाउँका ३७ वर्षीय धर्मा ओली, ४० वर्षीय टोप बहादुर ओली, उनका ११ वर्षीय छोरा बसन्त ओली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली र ३५ वर्षीय ललित ओली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिएका छन् ।

सो घटनामा गम्भीर घाइते कपुरकोट गाउँपालिका ६ जलवाङकै ३५ वर्षीय तिलक ओलीको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिपमा ९ जना सवार रहेको र जिप अनियन्त्रित भइ सडकबाट करिब १ सय ५० मिटर तल खसेको प्रहरीको भनाई छ ।

घटना रातीको समयमा भएपनि बिहानै प्रहरी, जनप्रतिनिधि र स्थानीयले उद्दार गरेका थिए । कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भरारीले कपुरकोटका लागि दशैंको मुखमा निकै पीडादायी घटना भएको बताए ।

सो घटनामा एकै परिवारका ५ जनाले ज्यान गुमाएका छन् । भान्जीको बिहेमा गएर फर्केका ७० वर्षीय खुमलाल वली, उनकी श्रीमति ५५ वर्षीय कुमारी वली, भाइहरु धर्म ओली र ललित ओली, ११ वर्षको छोरा बसन्त ओलीको मृत्यु भएको भरारीले बताए । अहिले सबै शवहरु संकलन गरेर पोष्टमार्टका लागि जिल्ला अस्पताल लैजान थालिएको छ । ( नोपल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?