काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनमा इन्दिरा राना मगरको पक्षमा १६६ र विपक्षकी उमेदवार मुक्ताकुमारी यादवको पक्षमा ९७ मत परेको थियो । रानालाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।
प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी हुनुभएको थियो । जसमध्ये नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहनुभयो ।
मगरलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत सत्तारुढ गठबन्धनका दलहरुले मतदान गर्नुभएको थियो ।
नेपाली कांग्रेसले भने उपसभामुखमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाएको थियो ।








