कथाः बादलको बस्त्र लगाएका राजा र बालक

  • ख-
  • ख+

पौराणिक जमानाको कुरा हो। कुनै एक राज्यका राजा बस्त्रमा अति शौखिन थिए। राम्रा राम्रा बस्त्र लगाएर घुम्नु उनको एउटा शोख थियो। बस्त्र निर्माताहरुले कुनै पनि नयां कपडा राजालाई नदेखाई बिक्री गर्न पाउंदैनथे। कसैले बदमासी गर्ला भनेर ठूलै संख्यामा घुमुवाहरु राखिएका थिए। राजाको यस्तो गतिविधिले जनता खुसि त थिएनन तर बोल्न सक्दैनथे। एकजना अति चतुर व्यक्तिले राजाको सबै कुरा नियालीरहेको थियो।
एक दिन एकजना घुमुवाले राजालाई ”शहरमा बादलको बस्त्र तयार हुने गरेको” कुरा सुनायो। राजाले उक्त बस्त्र बनाउने काम कसरी हुने रहेछ हेर्ने र आफ्नो लागि पनि बस्त्र तयार गराउने सोचेर कालिगढकै निवासमा गए। राजा आएको जानकारी पाएर सो व्यक्तिले फलामको तान चलाउन थाल्यो। राजाले यता उति हेर्यो केहि देखेन अनि सोध्यो ”के गर्दै हो ?” उक्त व्यक्तिले जवाफ दियो ”अहिले काम छैन तर तानमा खिया लाग्ला भनेर तान सफा गरेको।” राजाले फेरो सोधे ”खै त तानको डोरी”। उसले भन्यो ”महाराज यो तानमा सुनको डोरी चाहिन्छ, अहिले काम छैन , त्यहि भएर खाली भएको हो।”
राजाले आफ्नो लागि पनि बादलको बस्त्र तयार गराउन बिचार गरेर सोधे ”एक जनाको लागि बस्त्र लयार गर्दा सुन कति लाग्छ ?” कालिगढले जवाफ दियो ”करिव ७ धार्नी।” राजा फर्केर दरवार गए। केहि दिनमा कालिगढलाई तान सहित दरवारमा हाजिर हुन आदेश आयो। राजाले आफ्नो लागि दरवारमै बसेर बादलको बस्त्र बनाउन जिम्मा दिए। कालिगढले काम शुरु गर्यो। केहि दिनपछि राजाले आफ्नो भान्छेलाई कस्तो कपडा तयार हुंदैछ हेर्न भनेर पठाए। चलाख कालिगढले मानिस आएको थाहा पाएर स्वागत गर्दै आथित्यता गरेर भन्यो ”जो मानिस व्यभिचारी र पापी छ त्यसले मैले बुनेको बादलको कपडा देख्न सक्दैन, केवल धर्मात्माले मात्र देख्दछ।”अनि केहि मिठाई फलफुल खुवाएर राजाको भान्छेलाई तानको नजिक लग्यो। भान्छेले खाली तान बाहेक केहि पनि देखेन तर आफुलाई धर्मात्मा देखाउन ”कति राम्रो बस्त्र” भनेर फर्कियो र राजालाई ”निकै राम्रो बस्त्र तयार हुंदै गरेको ” कुरा सुनायो। एवम रितले राजाले आठपहरिया, दरवारका कर्मचारी, मन्त्रीलाई हेर्न पठाए, सबैले आफुलाई धर्मात्माको श्रेणीबाट तल झारेनन। राजाले महारानीलाई पठाए, महारानीले पनि ”अति शुन्दर बस्त्र तयार हुंदै गरेको” कुरा सुनाईन। अन्त्यमा राजा आफै हेर्न गए, केहि पनि देखेनन तर राजाले आफुलाई व्यभिचारी र पापीको आरोप लाग्ला भनेर स्यावास दिंदै भने ”कति राम्रो बस्त्र”। राजा फर्किन लागेको बेला देखेर कालिगढले भन्यो ”सरकार कैंची, सिउने धागो लगायतको लागि थप तिन धार्नी सुन चाहियो, सुन पाए आजको सात दिनमा म बस्त्र तयार गरेर सरकारलाई शहरमा जन समक्ष पठाउन सक्छु।” राजाले थप सुन पठाइदिए।
बस्त्र तयार भयो, सबैको सामु सुनको कैंची चलाएर कलिगढले कपडा काट्यो अनि सिलाई गर्यो। कसैले पनि कपडा देखेनन तर सबैले ”अतिनै राम्रो छ” भने। राजाले उक्त बस्त्र लगाएर शहर परिक्रमा गर्नु अगाडी नै ”उक्त बस्त्र पापी र व्यभिचारीले नदेख्ने” कुरा हल्लाको रुपमा बाहिर आयो। राजाले तोकिएको दिन उक्त कपडा कालिगढको हातबाट लगाए। ऐनामा हेरे, आफुलाई नाङ्गै देखे तर बस्त्र सुहायो भनेर रथमा बसे। सबैले राजालाई नाङ्गै देखे तर कसैले पनि आफुलाई निच देखाउन खोजेनन। रथ यात्रा शुरु भयो, भेटिएका जनताले बस्त्रको बखान गर्दै गए। कसैले सत्य बोल्ने आंट गरेनन। एक जना अर्को राज्यको नागरिक करिव ५ बर्षको बालक सहित आफन्तकोमा जांदै रहेछ। उसलाई यो कुराको केहि जानकारी थियो तर बालकलाई सम्झाउन समय पाएको रहेनछ। राजाको रथ त्यहि व्यक्ति नजिक पुग्यो, उक्त बालकले आफ्नो पितालाई सोध्यो ”बाबा त्यो मानिस किन घोडागाडीमा नाङ्गै हिंडेको?” उसले आफ्नो बच्चालाई ”चुप लाग्न” भन्यो। राजाले यो कुरा सुनेका थिए, आफुलाई हेरे, आसेपासेलाई हेरे सबै टाउको झुकाएर बसेका थिए।
राजाले कुरा बुझे अनि त्यहांबाट भागेर बेपत्ता भए, त्यो राज्यले अहिलेसम्म राजा नपाएको कुरा पौराणिक किवदन्तीमा जिवितै छ।
(पौराणिक कथन- साभारः हरिराम नागिला , प्रमुख प्रशासकिय अधिकृत, व्यास नगरपालिका)

(*सम्पादित)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?