लुम्बिनीमा दानपात्रमा जम्मा भएका ४० देशका पैसा अलपत्र

  • ख-
  • ख+

गौतम बुद्धको जन्मस्थल लुम्बिनीस्थित दानपात्रमा सङ्कलित ४० भन्दा बढी देशका मुद्रा सटही नभएपछि थन्काएर राख्नुपरेको अधिकारीहरूले बताएका छन्।

नेपाल राष्ट्र बैङ्कले केही निश्चित देशका बाहेक अरू देशका मुद्रा साट्दैन। त्यसैले राष्ट्र बैङ्कले नसाट्ने मुद्रा पोको पारेर राख्नुपरेको छ, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले भने।

भट्टराईले अमेरिकी डलरको औसत विनिमय दरअनुसार सबैभन्दा थोरै युक्रेनको ६ हरिभनिया (नेपाली करिब २१ रुपैयाँ) देखि सबैभन्दा धेरै श्रीलङ्काको २२ लाख रुपैयाँ (नेपाली करिब ८ लाख रुपैयाँ) सम्म साटिएका छैनन्।

लुम्बिनी नेपालको एउटा प्रमुख पर्यटकीय गन्तव्य हो।

एक करोड रुपैयाँभन्दा बढी भएको अनुमान

लुम्बिनीमा भारत र अन्य देशहरूबाट उल्लेख्य मात्रामा पर्यटकहरू आउने गर्छन्

लुम्बिनी विकास कोषका अनुसार अहिले लुम्बिनीमा ४२ देशका मुद्रा थन्किएका छन्।

नेपाली रुपैयाँमा ती मुद्रा साट्न सकेको खण्डमा एक करोड रुपैयाँभन्दा बढी आम्दानी हुने कोषका अधिकारीहरूको अनुमान छ ।
नेपाल राष्ट्र बैङ्कले अहिले विभिन्न २१ देशका मुद्रा सटही गर्दै आएको छ।
नेपाल राष्ट्र बैङ्कले मुद्रा सटही गर्दै आएका देशहरूका मुद्रा साट्न कुनै समस्या छैन। नेपालका हरेक बैङ्कले साट्छन्, तर नेपाल राष्ट्र बैङ्कले सटही नगर्ने मुद्रा साट्न तत्काल गाह्रो छ,ू राष्ट्र बैङ्कका सूचना अधिकारी नारायणप्रसाद पोखरेलले भने।

त्यसका लागि राष्ट्र बैङ्कले थप मुलुकको मुद्रा साट्ने नीतिगत निर्णय गर्नुपर्छ।

के हुनसक्छ समाधान ?
लुम्बिनी विकास कोषले नसाटिएका ती मुद्राहरू केही टिनको बाकसमा र केही कपडामा पोको पारेर राखेको छ।

राष्ट्र बैङ्कले मुद्रा सटही गर्ने देश थप्ने कुरा नेपालमा कति मात्रामा उक्त देशको मुद्रा आउँछ भन्नेमा पनि भर पर्छ। त्यसका लागि लुम्बिनी विकास कोषले त्यहाँ जम्मा भएका विदेशी मुद्राको विवरणसहित राष्ट्र बैङ्कमा सम्पर्क गरे केही न केही निकास निस्कन पनि सक्ला, सूचना अधिकारी पोखरेलले थपे।

लुम्बिनी विकास कोषका सूचना अधिकारी हरिध्वज राईका अनुसार केही वर्ष अगाडिसम्म लुम्बिनीमा भारतबाहेक सबैभन्दा बढी पर्यटक श्रीलङ्काबाट आउने गरेका थिए।

तर अहिले भने श्रीलङ्काबाट आउने पर्यटकहरू घट्दै गएको र पछिल्लो समय म्यानमार थाईल्यान्ड र भियतनामका पर्यटक बढेका छन्।

यी देशका मुद्रामध्ये थाईल्यान्डको भाटबाहेक अरू मुद्रा नेपालमा साटिने गरेको छैन।

लुम्बिनीमा पर्यटक आउने प्रमुख देशका मुद्रा नै सटही नहुँदा उनीहरूले गरेको दानको अर्थ नहुने हो कि भन्ने पनि समस्या देखियो, कोषका कोषाध्यक्ष भट्टराईले भने।

हामीले दानमा आएका मुद्रा साट्ने प्रयास भने गरिरहेका छौँ।
कोषकाअनुसार दान पात्रमा जम्मा हुने पैसा लुम्बिनी विकास कोषको आम्दानीको मुख्य स्रोतमध्ये एक हो।

कोभिड महामारीअघि लुम्बिनीको दान पात्रमा वार्षिक करिब तीन करोड रुपैयाँ सम्म जम्मा हुन्थ्यो भने अहिले घटेर करिब ७० लाखको हाराहारीमा रहेको कोषले जनाएको छ।

लुम्बिनी विकास कोषले कोभिड महामारीपछि लुम्बिनी आउने पासपोर्टधारी पर्यटकको सङ्ख्या पनि घट्दै गएको बताएको छ।

सूचना अधिकारी राईका अनुसार गत वर्ष करिब २४ हजार पर्यटक मात्र लुम्बिनी आएका थिए जबकि कोभिड महामारी शुरू हुनु अगाडिका वर्षहरूमा पौने दुई लाखसम्म विदेशी पर्यटकले लुम्बिनीको भ्रमण गरेका थिए।

कोभिड महामारीपछि भारतबाट लुम्बिनी आउने पर्यटक सङ्ख्या भने उल्लेख्य रूपमा वृद्धि भएको पाइएको छ।

कोभिड महामारीअगाडि दुई लाखभन्दा बढी भारतीय पर्यटक लुम्बिनी आएका थिए।
विकास कोषका अनुसार कोरोनाभाइरसका कारण दुई वर्ष सुस्ताएका भारतीय पर्यटकहरू पछिल्लो वर्षदेखि भने फेरि बढ्न थालेका छन्।

गत वर्ष २ लाख ३० हजारभन्दा बढी भारतीय पर्यटकहरु लुम्बिनी आएको राईले बताए।

लुम्बिनी आउने नेपाली पर्यटकलाई पनि कोरोनाभाइरसले असर पारेको पाइएको छ। कोरोनाभाइरसको प्रकोप शुरू हुनुअघि महिनाको झन्डै एक लाख नेपाली लुम्बिनी पुगेको कोषको तथ्याङ्कमा उल्लेख छ।

तर अहिले भने महिनाको ५० हजारकै हाराहारीमा नेपालीहरू लुम्बिनी पुग्ने गरेका छन्। (बिबिसि)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्