सर्वोच्चले आप्रवासी भनेपछि भारतको सिक्किममा आन्दोलन चर्किदै

  • ख-
  • ख+

काठमाडौं । भारतको सर्वोच्च अदालतले सिक्किमका नेपाली भाषीलाई आप्रवासी भनेपछि सिक्किममा आन्दोलन चर्किएको छ । सर्वोच्चको फैसलाले नेपाली भाषलाई अपमानित गरेको भन्दै सिक्किमको प्रमुख प्रतिपक्ष दल सिक्किम डेमोक्रेटिक फ्रन्टले शनिबार र आइतबार सिक्किम बन्दको घोषणा गरेको थियो ।

बन्दका क्रममा विभिन्न ठाउँमा प्रहरीसँग धरपकड र सिक्किम डेमोक्रेटिक पार्टीको कार्यालयमा तोडफोड समेत भएको थियो । सिक्किमका नेपाली भाषीहरु आन्दोलनमा उत्रिएपछि सिक्किम अस्तव्यस्त बनेको छ ।

सिक्किम डेमोक्रेटिक फ्रन्टले बुधबार पनि सिक्किम बन्दको घोषणा गरेको छ । नेपाली भाषीलाई आप्रवासी भनिएको फैसला सच्याउनुपर्ने मागसहित सिक्किमका नेपाली भाषीहरुले संयुक्त समिति बनाएर आन्दोलनमा उत्रिएका छन् ।

‘हामी विदेशी होइनौ, हामी भारतका लागि खतरा छैनौं’, नेसनलिस्ट सिक्किम युनाइटेड अर्गनाईजेसनका नेता देउकुमार प्रधान भन्छन्, ‘सिक्किमले आफ्नो माटो दिएर १९७५ मा भारतलाई समर्पित गरिसकेको छ । तर, हामीलाई विदेशीको लाञ्छना लगाइएको छ ।’

सर्वोच्च अदालतले आफ्नो फैसला सच्याउनुपर्ने माग सिक्किमका नेपाली भाषीले राखिरहेका छन् । १३ जनवरीमा भारतको सर्वोच्च अदालतले करसम्बन्धी एउटा मुद्धाको छिनोफानो गर्ने क्रममा सिक्किमका नेपाली भाषीलाई विदेशी नागरिक भनेपछि आफूहरु अस्तित्व जोगाउन सडकमा उत्रिएको बताउँछन् सिक्किमका पूर्वमुख्यमन्त्री पवनकुमार चाम्लिङ ।

सिक्किम सन् १९७५ मा भारतमा विलय भएको थियो । सन् २००८ देखि सिक्किमका रैथानेले आयकरमा छुट पाउँदै आएका थिए । यो प्रावधानले समानताको हक खोसिएको भन्दै सन् २०१३ मा भारतको सर्वोच्च अदालतमा मुद्धा परेको थियो ।

यही मुद्धाको फैसला गर्दै सर्वोच्चले सिक्किमका नेपाली भाषीलाई विदेशी मूलका आप्रवासी नागरिक भनेको थियो ।

सर्वोच्चको फैसला विरुद्ध सिक्किम आन्दोलित भएपछि सिक्किम सरकार फैसला पुनरावलोकनको माग लिएर सर्वोच्च अदालत पुगेको छ । सिक्किम आन्दोलित भएपछि २ फेब्रुअरीमा स्वास्थ्यमन्त्री मनिकुमार शर्मा र १ फेब्रुअरीमा एडभोकेट जनरल सुदेश जोशीले पनि राजीनामा दिएका छन् ।

सिक्किमा अहिलेसम्म भएका ६ मुख्यमन्त्रीमध्ये पाँच नेपाली भाषी छन् । अहिले सिक्किम क्रान्तिकारी मोर्चाको नेतृत्वमा सिक्किममा ६ वटै जिल्लामा नेपाली भाषी सडकमा उत्रिएका छन् ।

सिक्किम प्रोगेसिभ युथ फोरमका महासचिव रुपेन कार्कीले नेपाली भाषीलाई लामो समयदेखि बाहिरिया भन्दै अपमानित गरिदै आएको र अहिले सर्वोच्चले नै विदेशी भनेपछि आफूहरु आन्दोलनमा उत्रिएको बताए । सिक्किमा ५८ प्रतिशत नेपाली भाषी छन् ।

नेपाली भाषीलाई विदेशी मूलका भनेपछि दार्जिलिङका नेपाली भाषी समेत आन्दोलित भएका छन् । आइतबार दार्जिलिङमा समेत सर्वोच्च अदालतको फैसलाको विरोध गर्दै प्रदर्शन भएको छ । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्