डा. रविन नेपाली । मिर्गौलासम्बन्धी रोग दीर्घकालीन र क्षणिक खालका हुन्छन्। दुई खाले रोगका छुट्टाछुट्टै कारण हुन्छन्। सुगर, प्रेसरका कारणले मिर्गौलामा दीर्घकालीन समस्या हुन्छ। अर्कातिर पिसाबमा रगत देखिने, प्रोटिन चुहिनेजस्ता मिर्गौलाका आफ्नै समस्या पनि हुन्छन्।

शरीरमा पानीको मात्रा कम भएर, झाडापखला लागेर, ज्वरो आएर क्षणिक खालका समस्या देखिन्छन्। त्यस्तै औषधीको जथाभाबी प्रयोग गर्दासमेत यस्तो समस्या देखिन्छ।

मिर्गौलाका धेरै रोगमा लक्षण देखिँदैनन्। जस्तै सुगरका कारणले हुने मिर्गौलाको रोग लागेको थाहा हुँदैन। त्यसैले प्रेसर र सुगरका बिरामीले कम्तीमा वर्षको एक पटक मिर्गौला परीक्षण गर्नुपर्छ।

मिर्गौला रोग लागिसकेपछि खुट्टाहरू सुन्निने, बिहान उठ्दा मुख सुन्निने, पिसाबमा फिज देखिने, पिसाब कम हुनेजस्ता लक्षण देखिन्छन्। कुनै संक्रमणका कारणले मिर्गौला बिग्रिएको छ भने ज्वरो आउने, पिसाब पोल्ने, पिसाब गर्दा थोरै हुने हुन्छ।

परिवारमा कसैलाई मिर्गौलाको समस्या छ भने कम्तीमा वर्षमा एक पटक मिर्गौला परीक्षण गर्नुपर्छ। त्यस्तै पिसाबमा कुनै समस्या भयो भने पनि परीक्षण गर्नुपर्छ। वर्षमा एक पटक मात्रै मिर्गौला परीक्षण गर्न सके यसको उपचार सहज हुन्छ। सुरूमै समस्या थाहा भयो भने उपचार सहज हुन्छ।

दीर्घकालीन रोगलाई सकेसम्म रोक्न सकेकै राम्रो हो। कुनै पनि तरिकाले उपचार सम्भव नभए मिर्गौला डायलासिस गर्नुपर्छ। त्यस्तो अवस्थामा मिर्गौला प्रत्यारोपणसमेत गर्नुपर्ने हुन्छ। नेपाल सरकारले डायलासिस सेवा निः शुल्क गरेको छ। त्यस्तै मिर्गौला प्रत्यारोपणमा समेत सुविधा दिएको छ।

त्योभन्दा ठूलो कुरा रोग लाग्न नदिनु नै हो।

(मिर्गौला रोग विशेषज्ञ डाक्टर नेपाली नेपाली त्रिवि शिक्षण अस्पताल र अल्का अस्पतालमा कार्यरत हुनुहुन्छ ।) (सेतोपाटी)

अन्तिम पटक अध्यावधिक गरिएको 25 Viewed

प्रतिक्रिया दिनुहोस्