भारतको झारखण्डका मुख्यमन्त्री पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

नयाँदिल्ली — भारतको झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेनलाई प्रवर्तन निर्देशनालय (ईडी) ले बुधबार राति पक्राउ गरेको छ । झारखण्डको राजधानी राँचीमा सोरेनसँग मुख्यमन्त्री निवासमै दिनभरि बयान लिएको ईडीका अधिकारीहरूले राति उनलाई नियन्त्रणमा लिएका हुन् ।
मुख्यमन्त्री सोरेनमाथि जमिन खरिदबिक्रीमा भ्रष्टाचार गरेको आरोप छ । ईडीले पक्राउ गरेको औपचारिक जानकारीअघि सोरेनले राति नै राज्यपालकहाँ पुगेर मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।
डी केन्द्र सरकारमातहतको निकाय हो । उक्त निकायले सम्पत्ति शुद्धीकरण, विदेशी मुद्रा कानुनको उल्लंघनलगायत विषयमा छानबिन गर्छ । मुख्यमन्त्रीको पदमा रहेकै अवस्थामा सोरेन पक्राउ परेका हुन् । राँचीमा रहेको भारतीय सैनिकमातहतको चार एकडभन्दा बढी जग्गा नक्कली कागजात बनाएर बिक्री गरिएको र त्यसमा मुख्यमन्त्रीको संलग्नताको आरोप छ । राज्यमा विपक्षमा रहेको भारतीय जनता पार्टीले उक्त मुद्दामा मुख्यमन्त्री सोरेनमाथि कारबाहीको माग गर्दै आएको थियो ।

बिहारमा सत्ता उलटफेर भएको दुई दिनपछि बिहारबाटै फुटेर बनेको झारखण्डमा पनि राजनीतिक उथलपुथल भएको हो । सोरेनले धेरै दिनदेखि ईडीलाई बयान दिन अस्वीकार गर्दै आएका थिए । दुई दिनअगाडि उनको दिल्लीस्थित निवासमा ईडीले छापा मारेको थियो । सोरेन दिल्ली आएको सूचना पाएर ईडी उनको निवासमा पुगेको थियो । तर, उनी भेटिएनन् । ईडीका अधिकारीले त्यहाँबाट ३६ लाख नगद र एउटा बीएमडब्लू कार नियन्त्रणमा लिएको थियो । झारखण्ड मुक्ति मोर्चा पार्टीबाट सोरेन मुख्यमन्त्री भएका थिए । उनी आदिवासी जनजाति समुदायलाई प्रतिनिधित्व गर्छन् ।

सोरेनको राजीनामा तथा उनको पक्राउ प्रकरणपछि झारखण्डमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । सोरेनको पार्टी झारखण्ड मुक्ति मोर्चाले चम्पई सोरेनलाई विधायक दलको नयाँ नेता चयन गरेको छ । कांग्रेसको समर्थनमा मोर्चाले बहुमत सदस्य ४३ जनाको समर्थन राज्यपाललाई पेस गरेको छ । बहुमत सांसदहरू राज्यपाल कार्यालय अगाडि राति अबेरसम्म जम्मा भएका थिए । उनीहरूले राज्यपाल अगाडि बहुमत पुष्टि गर्न ‘परेड’ नै गर्ने प्रयास गरे पनि भवनमा प्रवेशको अनुमति दिइएको थिएन ।
८१ सदस्यीय विधानसभामा झारखण्ड मुक्ति मोर्चाको २९ र भाजपाको २६ सदस्य छन् । त्यहाँ कांग्रेसको समर्थनमा सोरेन मुख्यमन्त्री थिए । पुनः मोर्चा र कांग्रेसकै गठबन्धनले सरकार बनाउने दाबी गरेको छ ।

बिहारमा सत्ता उलटफेर भएलगत्तै त्यहाँका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव र उनका छोरा पूर्वउपमुख्यमन्त्री तेजस्वी यादवसँग पनि ईडीका अधिकारीले घण्टौं बयान लिएको छ । ईडीका अधिकारीले लालुसँग सोमबार लगातार १० घण्टा र त्यसको अर्को दिन मंगलबार तेजस्वीसँग बयान लिएको थियो । जागिरको बदला जमिन लिएको आरोपमा लालु र उनको छोरामाथि ईडीले अनुसन्धान गर्दै छ । लालु रेलमन्त्री रहेका बेला जमिन लिएर केही व्यक्तिलाई जागिर दिएको उनीमाथि आरोप छ । बिहारमा आइतबार नीतिश कुमारले लालुसँगको सहकार्य छाडेर भाजपालाई साथमा लिएर सरकार बनाएका छन् ।

त्यस्तै, ईडीका कारण दिल्लीका मुख्यमन्त्री आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालको पनि समस्या बढाएको छ । ईडीले केजरीवाललाई बयानका लागि आउन पाँचौं पटक पत्र पठाएको छ । हरेक पटक केजरीवालले त्यसलाई पन्छाउँदै आएका छन् ।

मदिरा बिक्रीको लाइसेन्समा भ्रष्टाचार भएको आरोपमा ईडीले केजरीवाल नेतृत्वको सरकारमाथि अनुसन्धान गर्दै आएको छ । ईडीले एक वर्ष अगाडि उक्त मुद्दामा केजरीवाल सरकारका उपमुख्यन्त्री मनीष सिसोदियालाई पक्राउ गरेको थियो । त्यस्तै, आम आदमी पार्टीका नेता राज्यसभा सदस्य सञ्जय सिंह पनि उक्त मुद्दामा जेलमा छन् ।
साभारः कान्तिपुर दैनिक

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्