११ करोड ठगी आरोपमा सहकारीका अध्यक्ष पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

बागलुङ — बचतकर्ताको ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा पर्वतको कुश्मा बजारस्थित माता पाथीभरा सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेका छन् । गत शुक्रबार उनलाई प्रहरीले पक्राउ गरेको हो ।

सहकारीको रकम हिनामिनामा श्रेष्ठ पक्राउ परेका हुन् । उनी अध्यक्ष रहेको सहकारीका ११ जनाविरुद्ध पीडितले जाहेरी दिएका छन् । प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको प्रहरी निरीक्षक केशव केसीले बताए । ‘अदालतबाट म्याद थप भैसकेको छ, अब मुद्दा दायर हुन्छ,’ उनले भने, ‘छिट्टै अभियुक्तहरू पक्राउ पर्छन् ।’

 

पर्वतकै तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठका भाइ हुन् किशोर । बालगोपालविरुद्ध पनि २९ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । उनी अहिले फरार छन् । हाल बालगोपाल अस्ट्रेलिया पुगेर लुकेको पीडितले बताए । कुश्मा नगरपालिका– १ की ५५ वर्षीया शकुन्तलाकुमारी श्रेष्ठको जाहेरीमा बालगोपालसहित २२ जनालाई अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

विशेष गरी पर्वतका तीन सहकारीमा ५० करोड बढी हिनामिना गरेको आरोपमा बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । सबै सहकारीले रकमको हिनामिना गर्न व्यवस्थापन समितिको मिलेमतो, अध्यक्ष वा पदाधिकारीले आफूखुसी रकम लैजाने र सफ्टवेयरसमेत दुरुपयोग गरेको पाइएको छ । त्यस बाहेक व्यक्तिगत रूपमा आफन्तको नाउँमा बिनातमसुक, बिनाधितो रकम लगानी गरेको देखिएको हो । कतिपय नक्कली ऋणीसमेत बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिल्ला सरकारी वकिलको कार्यालयमार्फत दुईवटा सहकारी संस्थाविरुद्ध अदालतमा मुद्दा दायर भैसकेको हो । तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठ फरार छन् भने ग्रामीण कृषि सहकारी संस्थाका अध्यक्ष लेखनाथ शर्मा पक्राउ परिसकेका छन् ।

सहकारी रजिष्ट्रारको कार्यालयले गरेको अनुगमनमा उनीहरूको गतिविधि फर्जी भेटिएको थियो । बचतकर्ताले पनि सहकारीमा समस्या आएको भन्दै गत पुसमा उजुरी दिएका थिए । त्यसपछि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको प्रहरी निरीक्षक केशव केसीले बताए । माता पाथीभराका ११ जनाविरुद्ध बचतकर्ताले दिएको जाहेरीमा भने अनुसन्धान पूरा भइनसकेको हो । ‘ती बाहेक अन्य व्यक्तिसमेत रकम हिनामिनामा मुछिएको पाइएपछि प्रहरीले सूक्ष्म अध्ययन र अनुसन्धान गरिरहेको छ,’ केसीले भने, ‘केही दिनमा अरु वास्तविकता खुल्नेछ ।’ प्रहरीले दैनिक सहकारी ठगीको क्षेत्रमा मात्रै अध्ययन र अनुसन्धान गरिरहन बाध्य भएको उनले बताए ।

सहकारीहरूले कर छली गरेर अवैधानिक लाभ लिने उद्देश्यले कृत्रिम खर्च लेखांकन समेत गरेको सहकारी रजिष्ट्रारको कार्यालय पोखराबाट आएका विज्ञ निर्मल गौतमले सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

सिस्टमबाट भौचर र कारोबार नै मेटाउने गरी गरेका क्रियाकलाप संगठित अपराधमा समेत सूचीकृत गर्न सकिने समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले बताए । उनले भागेर विदेश गएकाहरूको हकमा पनि पक्राउ गर्न पहल भैरहेको बताए । ‘नेपालको नागरिक भागेको अवस्थामा रेडकर्नर नोटिसले काम गर्छ,’ उनले भने, ‘विदेशको नागरिकता लिएको देखियो भने सुपुर्दगी सन्धि कार्यान्वयन गर्न सकिन्छ ।’ आम बचतकर्ताको रकम संरक्षण गर्ने काममा राज्यलाई जागरुक बनाइरहेको उनले बताए ।

संघ सरकार र प्रदेश सरकारबाट नियमन गर्ने सहकारीमा बढी समस्या आएको उनले बताए । ‘संघको नियमन गरिने १ सय ३५ सहकारीमध्ये १७ वटामा समस्या देखियो,’ उनले भने, ‘उनीहरूले अर्बौं रकम ठगेका छन् ।’ स्थानीय तहले नियमन गर्ने सवालमा भने थोरै सहकारी समस्यामा परेको बताए ।

सहकारी सञ्चालकले गरेको बेथितिले बचतकर्ताको भने पारिवारिक बिखण्डन, मानसिक समस्या तथा आर्थिक संकट आएको समाजशास्त्रका प्राध्यापक राजेन्द्र पहाडीले बताए । ‘कतिपय मानिस मानसिक समस्यामा परिसकेका छन्, उनीहरूको जीवन रक्षाको विषयसमेत जटिल बनेको छ,’ उनले भने, ‘आर्थिक विषय समयमा मिलेन भने यहाँ जघन्य अपराध, आत्महत्या र बिखण्डनको समस्या आउने निश्चित छ ।’ समयमा सहकारी क्षेत्रको समस्या समाधान नभए समाजमा दुर्घटना निम्तिन सक्ने उनले बताए ।
साभारः कान्तिपुर दैनिक

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्