बालबालिकाले परीक्षामा लिने तनावले मानसिक समस्या निम्त्याउँछ ?

डा. प्रदिप पाण्डे
  • ख-
  • ख+

तनाव नलिने मानिस त संसारमा सायदै कोही होला । तर तनाव वा चिन्ता कति लिने भन्नेमा चाहिं फरक पर्छ । हरेकलाई कुनै न कुनै किसिमको तनाव हुन्छ । आर्थिक, सामाजिक, पारिवारिक, करिअर, काम धेरै कुराको तनाव हुन्छ । यस्तो तनाव वयस्क व्यक्तिलाई हुन्छ ।

बालबालिकालाई पनि आफ्नै खालको तनाव र चिन्ता हुन्छ । यसमध्ये उनीहरुलाई धेरै हुने तनाव हो परीक्षाको । परीक्षाको बेला राम्रो गर्नुपर्छ भन्ने चिन्ता त बालबालिकाकै लागि स्वभाविक नै हो तर यो तनावमा परिणत भयो भने समस्या हुनसक्छ । त्यसैले उनीहरुमा उत्पन्न हुनसक्ने तनावको सही व्यवस्थापन गर्नुपर्छ ।

परीक्षाको तनावले बालबालिकामा दीर्घकालीन मानसिक असर पर्न सक्छ ?

 

परीक्षाको तनाव क्षणिक हुन्छ । त्यसैले खासै बालबालिकामा कुनै पनि प्रकारको दीर्घकालीन मानसिक असर गर्दैन । तर तनाव लामो समयसम्म भइरहेमा यसले नकरात्मक रुप पनि लिनसक्छ । एन्जाइटी, डिप्रेसन जस्ता विभिन्न मानसिक समस्या हुनसक्छ ।

परीक्षाको बेला बालबालिकाले कति तनाव लिन्छन् भन्ने विषयमा अभिभावकको ठूलो भूमिका हुन्छ । उदाहरणका लागि आफ्नो छोराछोरीलाई यति अंक ल्याउनैपर्छ, ए प्लस ल्याउनैपर्छ भन्ने दबाब दिने, फेल भयो भने यस्तो गर्छु भनेर तर्साउने जस्ता मानसिक दबाब दिएमा बच्चामा तनावको दीर्घकालीन असर पर्न सक्छ । तर परीक्षाको बेला अभिभावकले तिनीहरुलाई राम्रो व्यवहार र अनावश्यक तनाव नदिएको खण्डमा दीर्घकालीन मानसिक समस्या हुँदैन ।

सामान्य भाषामा तनावलाई नियमित प्रक्रियामा भएको कुनै पनि परिवर्तनले निम्त्याउने शारीरिक, मानसिक, भावनात्मक तथा व्यावहारिक प्रतिक्रिया भनेर बुझ्नुपर्छ ।

तनावका भावनात्मक लक्षणः छिट्टै रिस उठ्ने, दिक्क लाग्ने, छटपटी हुने, मनमा धेरै कुरा खेल्ने, अरुसँग घुलमिल हुन मन नलाग्ने ।

तनावका शारीरिक लक्षणः अल्छी लाग्ने, आलस्य हुने, टाउको दुख्ने, मांसपेशी दुख्ने, निद्रा नलाग्ने, चिन्ता लागिरहने, दिमागमा कुरा खेलिरहने, ध्यान केन्द्रित गर्न गाह्रो हुने ।

समाधान कसरी गर्ने ?

तनावलाई धेरैले नकारात्मक रुपमा लिन्छन् । कोही त तनाव भयो भनेर आत्तिन्छन् पनि । त्यसैले तनाव भयो भन्दैमा डराउनुपर्दैन । जीवनमा हुने क्षणिक तनाव जस्तै विद्यार्थीलाई परीक्षाको बेला हुने तनावले उनीहरुलाई अघि बढ्न पनि मद्दत गर्छ ।

बालबालिकाले परीक्षाको बेलामा लिएको तनावले पढाइ गर्न प्रोत्साहन मिल्ने, ऊर्जावान् बनाउने र सचेत राख्न मद्दत गर्छ । जस्तै( यति दिन मात्र बाँकी छ है परीक्षा आउन । यसले विद्यार्थीलाई परीक्षाको प्रभावकारी तयारी गर्नमा सहयोग गर्छ र, नतिजा राम्रो आउँछ । त्यसैले उनीहरुलाई परीक्षाको चिन्ता लिए पनि धेरै तनाव नलिन सुझाउनुपर्छ ।
डा. प्रदिप पाण्डे
नशा तथा मानसिक रोग विषेशज्ञ
साभारः अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्