बच्चामा नेतृत्व गुण विकास गर्न सिकाउनुपर्ने ५ कुरा

पदम जोशी, मनोविद्
  • ख-
  • ख+

सबै अभिभावक आफ्ना छोराछोरीलाई उपयोगी कुरा सिकाउन चाहन्छन् । उनीहरूको व्यक्तित्व राम्रोसँग विकास गर्न चाहन्छन् ताकि उनीहरूले ठूलो भएपछि सफलता हासिल गर्न सकुन् ।

जीवनमा सफलता हात पार्न आमाबाबुले छोराछोरीहरूमा नेतृत्व गुणको पनि विकास गर्नुपर्छ । बालबालिकामा नेतृत्व गुण विकास गर्नु भनेको उनीहरूको आत्मविश्वास बढाउनु र व्यक्तिगत, व्यावसायिक स्तरमा उनीहरूको विकासलाई प्रोत्साहन दिनु हो ।

यदि बच्चामा नेतृत्वको गुण छ भने उसले आफ्नो रुचिको क्षेत्रमा उत्कृष्ट काम गर्न सक्छन् । नेतृत्व भनेपछि राजनीति भन्ने एउटा सोच छ समाजमा । तर नेतृत्व राजनीति मात्र होइन, परिवार समाजमा पनि आवश्यक हुन्छ । त्यसैले बच्चालाई नेतृत्व विकास भनेको के हो भन्ने कुरा बुझाउनुपर्छ ।

बच्चाहरूमा शारीरिक, भावनात्मक, बौद्धिक र मानसिक विकास हुने क्रममा नै नेतृत्व गुणको विकास भयो भने उनीहरूले आफ्नो क्षेत्रमा सफलता हात पार्न सक्छन् ।

बच्चामा नेतृत्व गुण विकास गर्ने सबैभन्दा राम्रो तरिका कुनै कुरा देखाएर नै हो । बच्चासँग कुराकानी गर्दा जिम्मेवारी र सहानुभूति झल्किने गरी प्रभावकारी ढंगले गर्नुपर्छ । कार्य क्षेत्रमा र समाजमा नेतृत्व गरिरहेको अभिभावकबाट बच्चाले पनि धेरै कुरा सिकिरहेको हुन्छ । अभिभावकले गरेको कुरा र कामलाई बच्चाले याद गरिरहेका, पछ्याइरहेका हुन्छन् । अभिभावकको व्यवहारमा नेतृत्व कौशल देखेर बच्चाहरूले पनि यसलाई अपनाउन थाल्छन् ।

बच्चामा नेतृत्व गुण विकास गर्न जति महत्त्वपूर्ण भूमिका अभिभावकको हुन्छ, त्यति नै महत्त्वपूर्ण भूमिका विद्यालयका शिक्षक(शिक्षिकाको पनि हुन्छ । त्यसैले बच्चामा नेतृत्व गुण विकास गर्न शिक्षक र अभिभावकले बच्चालाई मुख्यगरी यी पाँच कुरा सिकाउनुपर्छ ।

सञ्चार सीप

यो एउटा सीप हो जुन हरेक बालबालिकामा हुनु जरुरी छ । कुराकानी गर्ने गुण अर्थात् सञ्चार सीपले हरेक व्यक्तिलाई जीवनमा अगाडि बढ्न मद्दत गर्न सक्छ । भनिन्छ नि ‘बोल्नेको पीठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन’। त्यसैले बच्चालाई अरूको अगाडि आफ्नो कुरा खुलेर र स्पष्टसँग राख्न सिकाउनुपर्छ । यदि बालबालिका हुर्किएर मिडिया, राजनीति, मार्केटिङ जस्ता क्षेत्रमा करिअर बनाउन चाहन्छन् भने ‘कम्युनिकेसन स्किल’ उनीहरूको लागि निकै उपयोगी हुन्छ ।

आजकल सञ्चार सीप सुधार गर्न विभिन्न तालिम लिने चलन छ । तर यदि आमाबाबुले बच्चालाई सानैदेखि सबैसँग कुरा गर्न प्रेरित गरे उनीहरुलाई लाभदायक हुन्छ ।

हार स्वीकार्न

कठिनाइ र गल्तीहरूप्रति सकारात्मक दृष्टिकोण अपनाउने आमाबाबुका बच्चाले नयाँ कुरा सिक्ने क्षमता राख्छन् । बालबालिका धेरै किसिमका क्रियाकलापमा सहभागी हुन्छन् तर हारेको खण्डमा निराश हुन सक्छन् । हारे पनि प्रयास गर्न छोड्नु हुँदैन । प्रयास गरिरहँदा सफल भइन्छ भन्ने कुरा बच्चालाई सिकाउनुपर्छ । बच्चालाई बुझाउनुपर्छ कि जीवनमा जीत र हार दुवै स्वीकार गर्नुपर्छ । बालबालिकामा हार स्वीकार गर्ने बानीको विकास गरियो भने यो गुण नेतृत्व विकासको लागि सहयोगी हुन्छ ।

सामाजिक कार्यक्रममा सहभागी हुन

बालबालिकाले सक्रिय रूपमा सामाजिक काममा भाग लिएपछि मात्र बालबालिकामा नेतृत्वको गुण विकास हुन सक्छ । यस्ता गुण विकास गर्न छोराछोरीहरूलाई सामाजिक कार्यक्रमहरूमा भाग लिन प्रेरित गर्नुपर्छ । सामाजिक कार्यक्रममा भाग लिंदा उनीहरूले अरूसँग मिलेर काम गर्न सिक्छन् । यसले पनि उनीहरूको नेतृत्व गुणलाई बढाउँछ ।

खेलकुदमा सहभागी गराउने

खेलकुद शारीरिक क्रियाकलापका लागि मात्रै होइन, मानसिक स्वास्थ्यलाई पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । खेल वा खेलकुदमा संलग्न बालबालिकाले आफ्नो समस्या आफैं समाधान गर्न सक्छन् । यस्ता बालबालिका प्रायः समस्या समाधानमा केन्द्रित हुन्छन् । जसले उनीहरूमा नेतृत्व गुणको विकास पनि हुन्छ ।

आत्मविश्वास बढाउन सहयोग गर्ने

बाल्यकालदेखि नै आफ्ना बच्चाको आत्मविश्वास बढाउन सहयोग गर्नुपर्छ । आत्मविश्वास बढाउन बच्चालाई अतिरिक्त क्रियाकलाप, विद्यालय समारोह र सामाजिक कार्यक्रम आदिमा भाग लिन प्रेरित गर्नुपर्छ । यस्ता गतिविधिले बालबालिकाको आत्मविश्वास बढाउँछ । आत्मविश्वास भएका बच्चा अक्सर नयाँ काम गर्न हिच्किचाउँदैनन् । यो नेतृत्वको लागि धेरै महत्त्वपूर्ण गुणमध्ये एक हो ।

साभारः अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्