
कास्की । पाेखराकाे दोविल्लाघाटलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने सराेकारवालाहरुले बताएका छन् । सेतीनदी र फुस्रेखोलाको दोभानमा रहेको दोविल्लाघाट पोखरा महानगरको वडा नं १७, २१ र ३३ का बासिन्दाले घाटको रुपमा प्रयोग गर्दै आएका छन् ।
बुधबार आयाेजित एक कार्यक्रममा स्थानीय बासिन्दा र महानगरका जनप्रतिनिधिहरुले यस्ताे प्रतिवद्धता जनाएका हुन् । कार्यक्रममा महानगरकाे वडा न २१ का वडाध्यक्ष दीपक सुवेदी र १४ न का वडाध्यक्ष बाेधराज कार्कीले सार्वजनिक जग्गाको संरक्षणमा सबैको साथ र सहयोग लिएर अगाडि बढ्ने बताउदै यसकाे संरक्षण र विकासका लागि वडाको तर्फबाट विशेष पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
बोटविरुवा सहितको पार्क निर्माण गरी सो पार्क तथा घाट रहेको क्षेत्रलाई धार्मिक तथा सामाजिक रुपमा विकास गरेर पर्यटकीय स्थलका रुपमा अगाडि बढाउन दोविल्लाघाट क्षेत्रको संरक्षण गर्नका लागि पहल गरिएको व्यवस्थापन समितिका अध्यक्ष भरत रायमाझीले जानकारी दिए ।
सो अवसरमा दाउरा गोदामको उद्घाटन गरी समितिका अध्यक्ष रायमाझी र उनको परिवारका तर्फबाट दुवै वडाका वडाध्यक्षको रोहवरमा सिड मनिको रूपमा समितिलाई दाउरा हस्तान्तरण गरेका थिए। एउटा सब जलाउनका लागि समितिले दाउराको मूल्य ५ हजार ५ सय रूपैयाँ क़ायम गरेको छ ।
समितिका अध्यक्ष रायमाझीका अनुसार घाट क्षेत्रमा सार्वजनिक उपयोगका लागि शौचालय, प्रतिक्षालय तथा शव जलाउनका लागि आवश्यक पर्ने दाउरा राख्नका लागि सुविधासम्पन्न भवन निर्माण गरिएको छ ।
बुधवार बाबा फ़ाउण्डेशन नेपाल, रोटरी क्लब अफ पोखरा पाराडाईज र दशनामी समाज कास्कीको संयुक्त आयोजना साथै लायन्स क्लब अफ पोखरा अभियानको आयोजनामा पनि बृक्षारोपण सहित डस्टबीन प्रदान गरिएको थियाे ।
समितिका अध्यक्ष रायमाझीलाई फ़ाउण्डेशनका सचिव टंकराजअधिकारी, रोटरी क्लबका अध्यक्ष देवेन्द्र पराजुली, दशनामी समाजकाका अध्यक्ष भूपेन्द्र गिरी र लायन्स क्लब अफ पोखरा अभियानका अध्यक्ष दिनेश भण्डारीले बोटबिरुवा र डस्टबीन हस्तान्तरण गरेका थिए ।
समितिका अध्यक्ष रायमाझीको अध्यक्षतामा भएकाे कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २१ र १४ का वडाध्यक्षद्वय बोधराज कार्की र दीपक सुबेदीको बिशेष उपस्थिति रहेको थियाे । कार्यक्रममा वडा न २१ का वडा सदस्य कृष्ण वहादुर थापा नेत्र लाल भण्डारी कमल मोहन पौडेल र भूपेन्द्र गिरी ‘ठूलो’ लगायतले मन्तव्य राखेका थिए ।