पाेखरा । कास्कीकाे पोखरा महानगरपालिका वडा नं २१ दोविल्लाघाटमा १०८ धारासहतिको शिव मन्दिर बन्ने भएकाे छ । गत शनिबार एक कार्यक्रमका बीच साे मन्दिरकाे शिलान्यास गरिएको छ । देवघाट, गलेश्वरधाम, हरिहरगुफा र नर्वदेश्वर मन्दिर सन्यास आश्रमका पीठाधीश डा. स्वामी श्री १००८ आत्मनन्द गिरी महाराजजीले मन्दिरको शिलान्यास गरेका हुन् ।
साे क्षेत्रलाई धार्मिक स्थलको रुपमा विकास गर्ने दोविल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिको योजना अनुसार शिव मन्दीरको शिलन्यास गरिएको हो । उक्त घाटमा यस पहिले शवदाहस्थल व्यवस्थित गर्न मलामीको लागि बिश्राम स्थल, अन्त्यष्टिका लागि आवश्यक दाउरा र दाउरा राख्ने गोदामघर निर्माण, बृक्षारोपण र तारवार लगाइएको छ ।
पीठाधीश डा. गिरीले सेती नदीको किनारमा बगरको रुपमा रहेको सार्वजनिक जमिन पवित्र धार्मिक क्षेत्रका लागि उपयुक्त स्थल रहेको बताए ।
कार्यक्रममा बोल्दै पूर्वसभासद एवं उद्योगी कृष्णप्रसाद आचार्यले धार्मिक स्थलको संरक्षण र संम्बद्धनमा स्थानीयले अग्रसरता लिएको भन्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले मन्दिर निर्माणमा ५ लाख रुपैया सहयोग गर्ने बचन पनि दिएका छन् । त्यस मध्ये आचार्यले ३ लाख सहयाेग गरिसकेका छन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति कास्कीका सदस्य सिता विकले धार्मिक स्थालको रुपमा विकास गर्ने समितिको योजनमा साथ र सहयोग रहेको भन्दै जनप्रतिनिधिको हैसियतले आवश्यक सहयोग गर्ने बचन दिइन् । साे कार्यक्रमकाे संचालन समितिकी सचिव रमादेवी आचार्यले गरेकी थिइन् ।
मन्दिर निर्माणका लागि पोखरा–२१ घर भइ हाल अमेरिका रहेका गोपाल रायमाझीले ५० हजार रुपैया आर्थिक सहयोग गरेका छन् । उनले यस पहिले पनि सोही स्थनाको संरक्षण र विकासका लागि १ लाख ५९ हजार रुपैया दिएको र थप ५ लाख रुपैया सहयोग गर्ने घोषणा गरेको समितिका अध्यक्ष भरत रायमाझीले जानकारी दिए ।
यस्तै अमेरिका बस्ने बसन्त रायमाझीले २६ हजार ६ सय, अष्ट्रेलिया बस्ने सोनी रायमाझीले ३५ हजार, टेकनाथ भण्डारीले २५ हजार, चितवन घर भै हाल अमेरिका बस्ने नगेन्द्र पाैडेलले २६ हजार ६००, धादिङ घर भै हाल बैलायत बस्ने राजेश/संगिता लंसालले ५१ हजार, काठमाडौ घर भइ हाल अमेरिकामा बस्ने सिता थापाले १३ हजार ३ सय आर्थिक सहयोग गरेको समितिका सल्लाहकार मोती गिरीले जानकारी दिए ।
यस्तै मन्दिर निर्माणका लागि गोप्य दान साथै आमा समूह, टोल विकास संस्था लगायतका संघ संस्थाबाट समेत आर्थिक सहयोग प्राप्त भएको समितले जनाएको छ ।
सेती नदीको कटानबाट बचेको एक सय २० रोपनी जग्गालाई स्थानीयले संरक्षण गरेर राखेका छन् । सार्वजनिक जग्गाको संरक्षण पनि हुने र नदी किनारमा धार्मीक स्थल बनाउन उपयुक्त हुने भएकाले स्थानीयको सक्रियतामा मन्दीर निर्माण थालिएको अध्यक्ष रायमाझीले बताए ।
उक्त क्षेत्रलाई गुरुयोजना बनाएर व्यवस्थित रुपमा विकास गरिने अध्यक्ष रायमाझीले जानकारी दिए । सार्वजनिक शौचालय र दाउरा राख्ने गोदाम घर ध्रुव थापा स्मृति प्रतिष्ठान ललितपुर जावलाखेलको सम्पूर्ण लगानीमा निर्माण भएको हो। दाह-संस्कारका लागि दाउरा अध्यक्ष रायमाझीले छोरा सरस रायमाझीको शुभ विवाहको अवसरमा (दाउराको कोष ) दान गरेका हुन् । समितिको निर्णय अनुसार एक जनाकाे दाह-संस्कार गर्दा न्युनतम ५५ सय शुल्क निर्धारण गरेको छ ।








