नेपालीहरूमा दाँतमा कीरा लाग्ने र गिजाको समस्या बढी देखिन्छ । दाँतको समयमा हेरचाह नगर्दा विभिन्न समस्या देखा पर्ने गरेका छन् । दाँतका कारण मुखको रोग पनि देखा पर्छ ।
यदि दाँतको सफाइ र हेरचाह राम्ररी गर्ने हो भने यी समस्या निम्तिने सम्भावना कम हुन्छ । त्यसैले दाँत र गिजामा के कस्ता समस्या देखा पर्छन् ? स्वास्थ्यको महत्त्वपूर्ण भाग गिजा र दाँतको समस्या समाधान कसरी गर्ने ? लगायत विषयमा गिजारोग विशेषज्ञ डा. खुश्बु गोयलसँग गरिएको कुराकानीः
मुख गन्हाउने कारण के–के हुन् ?
सास गन्हाउने समस्याको मुख्य दुई कारण हुन्छ । एउटा मुखको कारण निम्तिन्छ र अर्को मुखभन्दा बाहिरको कारण । मुखमा घाउ खटिरा आएमा, जिब्रो राम्ररी सफा नहुँदा, गिजा पाकेमा, दाँतमा कीरा लागेमा, खाल्डो परेमा तथा दाँत राम्ररी सफा नभएमा पनि मुख तथा सास गन्हाउने गर्छ । त्यसैगरी दाँतको कापमा तथा मुखमा फोहोर जम्मा भएर बसेमा पनि त्यहाँ अड्किएका फोहोरका कारण मुख गन्हाउने गर्छ ।
त्यस्तै, मुखमा जटिल समस्या उत्पन्न भएमा मधुमेह, श्वासप्रश्वासनलीमा मिर्गौलामा समस्या उत्पन्न भएमा पनि मुख तथा सास गन्हाउने समस्या उत्पन्न हुने गर्छ ।
गिजाबाट रगत आउने कारण ?
नियमित ब्रस गरिएन वा गिजाको सफाइमा ध्यान दिइएन भने दन्ते लेउ जम्मा हुन्छ र गिजामा भएका ब्याक्टेरियाका कारण गिजा सुन्निने, चिलाउने दुख्ने र पाक्ने जस्ता समस्या देखिन्छ । जसले गर्दा सुरुमा गिजाबाट रगत आउने र समयमा उपचार भएन भने ठूलो सङ्क्रमणमा परिवर्तन हुनसक्छ । जसले गर्दा पेरियोडोन्टाइटस नामको रोगको मुख्य कारण बन्न सक्छ । त्यो रोगले गिजा यति कमजोर हुन्छ कि दाँत हल्लिने र झर्ने समस्या समेत आउँछ ।
दाँत सिरिङ–सिरिङ गर्ने समस्याको कारण चाहिं के हो ?
दाँत सिरिङ–सिरिङ हुनुलाई मेडिकल भाषामा हाइपर सेन्सेटिभिटी भनिन्छ । यसको विभिन्न कारण हुन्छ । दाँतको बाहिरी भागलाई इनामेल भनिन्छ । इनामेलभन्दा भित्रको भाग डेन्टिन हो । सबैभन्दा भित्रको भागलाई पल्प भनिन्छ । विभिन्न कारणवश इनामेल खिइँदा डेन्टिन देखिन्छ र सिरिङ–सिरिङ हुन्छ । गिजा आफ्नो ठाउँबाट तल झर्यो भने त्यसको कारण पनि दाँत सिरिङ-सिरिङ हुन्छ ।
दाँत कीरा लाग्ने कारण नि ?
दाँतमा कीरा विभिन्न कारणले लाग्छ । खानेकुरा खाएपछि राम्रोसँग सफा नहुँदा दाँत फोहोर हुन्छ र कीरा लाग्छ । खानेकुरा खाँदा दाँतमा अड्कियो र मुख कुल्ला गरिएन भने दाँतमा कीरा लाग्ने सम्भावना बढी हुन्छ ।
गिजाको समस्या र दाँतमा कीरा लाग्ने समस्याको उपचार के छ ?
यदि गिजासम्बन्धी कुनै समस्या देखा परे दन्त चिकित्सककहाँ गएर गिजामा जम्मा भएको दन्त लेउ र दन्ते पत्थरलाई सफा गर्नुपर्छ । जम्मा भएर बसेको फोहोर सफा भएपछि गिजाको समस्या ठीक हुन्छ ।
गिजा सम्बन्धी जटिल समस्या देखिएको छ भने शल्यक्रिया पनि गर्नुपर्ने हुनसक्छ । गिजाको आकार एकदमै बढेको, गिजा तलतिर सरेको, गिजामा पिप जम्मा भएर ठूलो सुन्निएको जस्ता अवस्थामा शल्यक्रिया गर्नुपर्छ । यसका लागि गिजा रोग विशेषज्ञ दन्त चिकित्सकसँग परामर्श गर्नुपर्छ ।
दाँतमा कीरा लाग्न थालेपछि दाँतको सतह कालो हुँदै जान्छ । दाँतमा भर्खरै कीरा लाग्न थालेको छ भने सिमेन्ट लगाएर भर्न सकिन्छ । त्यस्तै कीरा लागेर दाँत खाल्डो भइसकेको छ भने दुई चरण गरेर सिमेन्ट लगाउन सकिन्छ ।
दाँत दुखेको, सुन्निएको र हल्लिएको छ भने दाँतलाई जरासम्म कीराले खाइसकेको बुझ्न सकिन्छ । त्यसका रुट क्यानल उपचार (आरसीटी) गर्नुपर्ने हुन्छ । यो विधिमा दाँतको जरादेखि उपचार गर्दा दाँतको चपाउने भाग वा भित्री भागमा सानो प्वाल बनाएर दाँतको नसासम्म पुगेर उपचार गरिन्छ ।
दाँतको र गिजाको समस्याबाट बच्ने उपाय
दिनको दुई पटक खाना खाइसकेपछि उपयुक्त तरिका प्रयोग गरेर दाँत माझ्नुपर्छ । दाँत माझ्दा फ्लोरिडेटेड पेस्टको प्रयोग गर्नुपर्छ, जसले दाँतलाई मजबुत बनाउँछ । दाँत माझ्नुका साथै हरेक पटक खाना खाइसकेपछि राम्रोसँग कुल्ला गर्नुपर्छ, जसले दाँतमा दन्ते लेउ जस्तो फोहोर बस्न दिंदैन ।
दाँतको बीचबीचमा रहेका फोहोरहरू ब्रस गर्दा ननिस्किन सक्छ । त्यसैले डेन्टल फ्लसको प्रयोग गरेर निकाल्नुपर्छ ।
मुखबाट दुर्गन्ध आउँछ भने माउथवासको प्रयोग गर्न सकिन्छ । तर यसलाई लामो समय प्रयोग गर्न भने मिल्दैन । माउथवासमा ‘एन्टिब्याक्टेरियल प्रोपटी’ हुन्छ । त्यसले मुखमा भएको चाहिने जीवाणुलाई पनि मारिदिन्छ र मुखमा फंगल इन्फेक्सन हुने, घाउ आउने जस्ता समस्या निम्तिन सक्छ । त्यसैले माउथ फ्रेसनरलाई दैनिक प्रयोग गर्नु राम्रो हुँदैन । चिकित्सकको सल्लाहमा प्रयोग गर्नुपर्छ ।
सकेसम्म वर्षको दुई पटक ६–६ महिनाको फरकमा वा कम्तीमा पनि वर्षमा एक पटक दन्त चिकित्सक वा विशेषज्ञ चिकित्सकसँग सल्लाह लिनुका साथै दाँत सफा गराउनुपर्छ । यसले दाँतमा निम्तिने जटिलताबाट बच्न सकिन्छ ।
दाँत माझ्ने सही तरिका
दाँतलाई सही तरिकाले दुई मिनेट ब्रस गरे पुग्छ । गिजा र दाँतको बीच प्लाक जम्मा हुने भएकाले ब्रसलाई दाँत र गिजातिर फर्काएर ब्रसको ब्रिसल्सलाई अगाडि पछाडि गरेर फोहोर निकालेर फाल्ने हो । तीन-तीनवटा दाँतलाई छुटाएर नरम तरिकाले दाँत माझ्नुपर्छ ।
दुई दाँतको बीचमा पनि ब्रस गर्नु आवश्यक हुन्छ । त्यसका लागि इन्टर डेन्टल ब्रसको प्रयोग गर्नुपर्छ । दुई दाँतको बीचमा ग्याप छैन भने डेन्टल फल्सको प्रयोगले सफा गर्नुपर्छ । यसरी माझ्यो भने दाँतमा समस्या कम आउँछ ।
तस्वीरःशंकर गिरी
साभारः अनलाइनखबर
डा. खुश्बु गोयल
दाँत प्रत्यारोपण तथा गिजारोग विशेषज्ञ