जाडोमा बढ्ने दम रोगको समस्या, भ्रम र उपचार

डा. राजु पंगेनी छातीरोग तथा सघन उपचार विशेषज्ञ
  • ख-
  • ख+

दम श्वासप्रश्वाससँग सम्बन्धित समस्या हो । दमलाई रोग भन्दा पनि एउटा लक्षणको रूपमा लिन सकिन्छ । यो समस्यामा श्वासनली वा वरिपरिको जोडिएको खण्ड सुन्निन्छ । जसकारण फोक्सोमा हावा जान कठिनाइ हुन्छ ।

जतिखेर एलर्जी उत्पन्न गर्ने कारक तत्त्व एलर्जन्स र अप्ठ्यारो उत्पन्न गर्ने तत्त्व इरिटेटस श्वासनलीको सम्पर्कमा आउँछन् । त्यसपछि सास फेर्न समस्या हुन थाल्नु नै दम हो । श्वासप्रश्वासको समस्याबाट मुख्यतः दुई प्रकारको दम हुन्छ, सीओपीडी (दीर्घ दमरोग) र ब्रोन्कियल आस्थामा (दमखोकी) ।

दमको कारण

दमको कारण फरक(फरक हुन्छ । सबैभन्दा बढी मात्रामा देखिने सीओपीडी दमको कारण धुम्रपान र वायु प्रदूषण हो । वंशाणुगत जोखिम र वातावरणीय प्रभावले दमखोकी हुने सम्भावना बढी हुन्छ । सामान्यता परिवारका कुनै सदस्यलाई दम छ भने अरूलाई पनि देखिन सक्छ । वातावरणीय प्रदूषणलाई पनि दम हुने कारण मानिन्छ । धुवाँधुलो र विभिन्न औषधि (जस्तैः एस्पिरिन) पनि दमका कारक हुन् ।

दम भइसकेकालाई घरभित्र एलर्जी गराउने (उपियाँ, उडुस, साङ्ला, कार्पेट वा सिरकको धुलो, धुवाँ, घरपालुवा जनावरका रौं आदि) कुराले झन् समस्या निम्त्याउँछ । यसैगरी धुम्रपान, वातावरणीय प्रदूषण र तनावले पनि दम बढाउँछ ।

लक्षण

दममा श्वासप्रश्वासका कोषिकाहरुले एक प्रकारको इन्जाइम उत्पादन गर्छन्, जसले फोक्सोको मांसपेशीहरूलाई खुम्च्याई श्वासनलीमा व्यवधान उत्पन्न गराउँछ । जसले सास फेर्न अप्ठेरो महसुस भई खोकी लाग्ने, स्वाँस्वाँ हुने, छाती कस्सिने, छातीबाट सिट्ठीको जस्तो आवाज निस्कने र छाती भारी हुनु यसका प्रमुख लक्षण हुन् ।

नाकबाट पानी बग्ने, नाक बन्द हुने, हाच्छ्युँ आइरहने, जीउमा डाबर देखिने आदि समस्या पनि देखिन सक्छ । यी लक्षण सबै एकसाथ देखा नपर्न पनि सक्छन् ।

जाडोमा किन बढ्छ दम ?

जाडोमा चिसो हावा लाग्ने हुँदा दमका बिरामीलाई छिटो असर गर्ने हुन्छ । जसले श्वासनलीको आकारलाई साँघुरो बनाउँछ र त्यसले दमको समस्या हुन्छ ।

जाडोमा लामो समयसम्म घरभित्र भेन्टिलेसन बन्द गरेर बस्दा एकबाट अर्कोमा संक्रमण सर्ने जोखिम हुन्छ । जाडोमा वायु प्रदूषणको मात्रा समेत बढेको हुन्छ । त्यसले पनि अझ असर गर्ने हुन्छ ।

अर्को जाडोमा विभिन्न प्रकारका धुवाँ निस्किने हिटरको प्रयोग र दाउरा बालेर आगो ताप्ने गरिन्छ । जसबाट निस्किने धुवाँले पनि दमको समस्या बढ्न सक्छ ।

दम र खानपान

दमको कारक खानेकुरा नभएकाले खानेकुरा खासै बार्न आवश्यक हुँदैन । दमका बिरामीले सन्तुलित भोजन र व्यायाममा भने विशेष ध्यान दिनुपर्छ । एन्टिअक्सिडेन्ट भएका सागपात फलफूल बढी मात्रामा खानुपर्छ ।

सुन्तला, केरा लगायत फलफूल पनि दमका बिरामीले धेरै खान हुँदैन भनेको सुनिन्छ । यसमा पनि कुनै वैज्ञानिक आधार छैन । तर केही खानेकुरा खाँदा दम बढेको जस्तो लाग्छ भने त्यस्ता खानेकुरा बार्न सकिन्छ । दमका बिरामीले धुम्रपान गर्नु हुँदैन र धेरै चिसो खानेकुरा भने खानु हुँदैन ।

दमका बिरामीलाई राहत दिन धेरै औषधि र सिरप उपलब्ध छन्, तर श्वासप्रश्वास उपचारका लागि इनहेलर सबैभन्दा राम्रो उपचार हो । ट्याब्लेट वा सिरप औषधिको प्रयोग गर्दा यसको प्रभाव २५ देखि ३० मिनेट लाग्छ । जबकि इनहेलरमा रहेको औषधि तुरुन्तै फोक्सोमा पुग्छ र श्वासप्रश्वासमा तत्काल प्रभाव देखाउँछ ।

अन्य औषधिको तुलनामा इनहेलर औषधि सुरक्षित हुनुका साथै यसको साइड–इफेक्ट पनि कम हुन्छ । औषधिको नगन्य मात्रा मात्र रक्तसञ्चारमा पुग्ने हुँदा यसले शरीरमा गर्ने ‘साइड-इफेक्ट’ कम हुन्छ । त्यसैले इनहेलर विधिलाई श्वासप्रश्वासको उपचारका लागि सर्वोत्तम मानिएको छ । त्यसैले दमको अट्याक हुनेबित्तिकै इन्हेलरको प्रयोग गरेर राहत पाउन सकिन्छ । इन्हेलरको प्रयोग गर्ने सही तरिका चिकित्सकसँग सिक्नुपर्छ ।

दमको जटिलता

दमको समयमा उपचार गरिएन भने शरीरमा अक्सिजनको मात्रा कम हुने कार्बन डाइअक्साइडको मात्रा धेरै हुने र घरमा नै अक्सिजन लगाएर बस्नुपर्ने समेत हुनसक्छ ।

दमको बिरामीले राम्रोसँग ख्याल नगर्ने हो भने अन्य समस्या पनि आउँछन् । दमले मुख्य रुपमा फोक्सोलाई असर गर्छ । दम लागेपछि फोक्सोले श्वास लिने वा अक्सिजन शरीरमा पुर्‍याउने क्रम कम हुन्छ । साथै, दमले मुटुलाई पनि असर गर्छ । मुटुको प्रेसर बढाएर मुटु फेल हुने सम्भावना हुन्छ ।

दम निकै बढ्यो भने दम बिग्रिएर अस्पताल नै भर्ना हुनुपर्ने अवस्था पनि आउँछ । दम बढेकै कारण खुट्टामा रगत जम्ने समस्या, हेमोग्लोबिन बढी हुने जस्ता जटिलता पनि आउन सक्छ । तर समयमै उपचार गरियो भने यो सबै जटिलताबाट जोगिन पनि सकिन्छ ।

उपचार

दम नियन्त्रणका लागि मुख्यतः खाने र तान्ने दुई प्रकारका औषधि प्रयोग गरिन्छ । तान्ने औषधि पनि ग्यासजस्तो र क्याप्सुलभित्र पाउडरको रुपमा पाइन्छ । यी औषधिहरूको मुख्य काम दमलाई नियन्त्रणमा राख्ने र कहिलेकाहीं श्वासप्रश्वासमा धेरै कठिनाइ भएमा त्यसलाई सजिलो बनाउने हुन्छ । औषधि तान्न वा खान नसक्ने अवस्थामा नसाबाट र बाफको रुपमा (नेबुलाइजर प्रयोग गरी) औषधि दिन सकिन्छ ।

दमको समस्या भएका व्यक्तिले प्रत्येक वर्ष फ्लु विरुद्धको तथा पाँच वर्षमा निमोनियाको खोप लगाउनुपर्छ । मौसमी फ्लुको संक्रमण भएमा पनि श्वासप्रश्वासमा समस्या हुनसक्छ । त्यसैले फ्लुबाट जोगाउन उनीहरूले प्रत्येक वर्ष फ्लुको खोप र पाँच वर्षमा निमोनियाको लगाउनु उचित हुन्छ ।
नियन्त्रणको उपाय

मुख्यतया वातावरणमा पाइने एलर्जिन वा एरिट्यान्टले दमको समस्यालाई बढाउने हुनाले आफूलाई कुन कुराले गाह्रो बनाउँछ त्यसबाट जोगिनुपर्छ । धुम्रपानले श्वासप्रश्वासको समस्या निम्त्याउन मद्दत गर्छ र त्यसलाई बढाउँछ पनि । दम भएका वा नभएका व्यक्तिले पनि चुरोट पिउनु हुँदैन र अरूले पिएर फालेको धुवाँबाट पनि जोगिनुपर्छ ।

साथै, चिसोबाट जोगिनुपर्छ । जाडोयाममा दमरोगले झन् च्याप्छ । त्यसैले घर वा कोठालाई न्यानो पार्ने, न्यानो लुगा लगाउने गर्नुपर्छ । सकेसम्म चिसोबाट बच्नुपर्छ । फ्रिजमा राखिएका चिसो खानेकुरा पनि खानु हुँदैन ।

घरको वातावरण सफा र धुलोरहित राख्नुपर्छ । गलैंचाहरू भ्याक्युम क्लिनर लगाएर सफा गर्नु उपयुक्त हुन्छ । सकेसम्म एलर्जी भएका मानिसले कोठा आफैंले सफा नगर्ने र गर्नैपर्ने भएमा राम्रो गुणस्तरको मास्क लगाएर मात्र सफा गर्नुपर्छ । जुन मौसममा धुवाँधुलो बढी हुन्छ, बाहिरी प्रदूषण हुन्छ, त्यो समयमा विशेष काम नपरी बाहिर निस्कनु हुँदैन । जानै परे मास्कको प्रयोग गरेर मात्र जानुपर्छ ।

घरपालुवा जनावर भएका घरमा तिनीहरूको रौं जताततै झरेको हुन्छ । घरपालुवा जनावरको रौं एलर्जिक हुन्छ । यस्तो अवस्थामा तिनीहरूको रौंले दमको आघात बढाउँछ र समस्या निम्त्याउन सक्छ । त्यसैले दमको समस्या भएको व्यक्ति भएको घरमा कुकुर, बिरालो, परेवाजस्ता जनावर र पन्छी नपाल्नु राम्रो हुन्छ । पाल्नैपर्ने भएमा घरबाहिर राख्ने गरी पाल्ने गर्नुपर्छ ।

दमबारे केही भ्रम र सत्यता

भ्रमः दमका बिरामीले सामान्य जीवन बिताउन सक्दैनन् ।

– दमका बिरामीले सामान्य जीवन जिउन सक्दैनन् भन्ने कुरा पूर्णतया गलत धारणा हो । बाल्यकालदेखि दमको समस्या भएका व्यक्तिले चिकित्सकको सल्लाहअनुसार औषधि र उपचार गरिरहने हो भने समस्या कम हुन्छ र सामान्य व्यक्तिको जस्तै जीवनयापन गर्न सहज हुन्छ । दमको धेरै लक्षण देखा पर्ने व्यक्तिलाई समस्या कम गर्न इनहेलर प्रयोग गर्ने सल्लाह दिइन्छ ।

भ्रमः दमका बिरामीले व्यायाम गर्न सक्दैनन् ।

– दमका बिरामीले आफ्नो अवस्था र रोगको जटिलअनुसार सामान्य व्यायाम गर्न सक्छन् । यद्यपि, दमको समस्या भएका व्यक्तिले धेरै गाह्रो खालको कसरत भने गर्नु हुँदैन । दैनिक व्यायाम गर्न थालेपछि व्यायाम गर्न सक्ने क्षमता बढ्दै गएर सामान्य हिंड्ने, योग, पौडी खेल्ने र साइकल चलाउने जस्ता व्यायाम गर्न सक्छन् । व्यायाम गर्दा योगा तथा फिटनेस ट्रेनरको सहयोग लिनु उपयुक्त हुन्छ । व्यायाम गर्दा खोकी लाग्ने, सास फेर्न कठिनाइ हुने वा छाती कसिलो महसुस हुन्छ भने विश्राम गर्नुपर्छ ।

भ्रमः दमका बिरामीका लागि इन्हेलर भन्दा अन्य औषधि राम्रो हुन्छ ।

– दमका बिरामीलाई राहत दिन धेरै औषधि र सिरप उपलब्ध छन्, तर श्वासप्रश्वास उपचारका लागि इनहेलर सबैभन्दा राम्रो उपचार हो । ट्याब्लेट वा सिरप औषधिको प्रयोग गर्दा यसको प्रभाव २५ देखि ३० मिनेट लाग्छ । जबकि इनहेलरमा रहेको औषधि तुरुन्तै फोक्सोमा पुग्छ र श्वासप्रश्वासमा तत्काल प्रभाव देखाउँछ । अन्य औषधिको तुलनामा इनहेलर औषधि सुरक्षित हुनुका साथै यसको साइड–इफेक्ट पनि कम हुन्छ ।

भ्रमः दम एक घातक रोग हो ।

‍- दम एक घातक रोग हो, यो आंशिक सत्य हो । दमबाट पीडित व्यक्तिले पर्याप्त मात्रामा अक्सिजन नपाउँदा समयसँगै उनीहरूको अवस्था बिग्रिन सक्छ । यसबाहेक दमका बिरामीले आवश्यकताभन्दा बढी औषधि सेवन गरेमा फोक्सोमा पनि असर हुनसक्छ । यस्तो अवस्थामा दमका बिरामीले औषधिको सही डोज लिन जरुरी हुन्छ । साथै, पर्याप्त मात्रामा अक्सिजन उपलब्ध हुने वातावरणमा बस्नुपर्छ ।

भ्रमः दमको औषधि जीवनभर प्रयोग गर्नुपर्छ ।

– दमको निदान भएका व्यक्तिलाई लक्षणको आधारमा औषधि दिइन्छ । सबै दमका बिरामीलाई जीवनभर औषधिको आवश्यकता पर्दैन । मौसमी दमको लक्षण देखिएका मानिसलाई त्यो खास मौसममा मात्र औषधि दिइन्छ ।

यदि लक्षणहरू कहिलेकाहीं मात्र देखा पर्छ भने लक्षण देखा पर्दा मात्र इनहेलर प्रयोग गर्नुपर्छ । यद्यपि, दमका लक्षण बारम्बार देखिने व्यक्तिले रोगलाई नियन्त्रणमा राख्न लामो समयसम्म नियमित रूपमा इनहेलर लिनुपर्ने हुनसक्छ ।

भ्रमः अस्थामा भएपछि बच्चा कमजोर हुन्छन्, फोक्सो बिग्रिन्छ, एन्टिबायोटिक नखाई ठीक हुँदैन ।

– अस्थामा खासगरी स्वस्थ मानिस, अझ स्वस्थ बालबालिकामा देखिने समस्या हो । रोगसँग लड्ने क्षमता राम्रो हुनेहरूमा पनि देखिन्छ । राम्रोसँग उपचार गरे पूर्णरूपमा निको पार्न सकिन्छ । यो एलर्जीका कारण हुने हुँदा एन्टिबायोटिकको जरुरत पर्दैन ।

डा. राजु पंगेनी
छातीरोग तथा सघन उपचार विशेषज्ञ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?