पर्यटन राजधानी पोखरामा करिब २० लाख स्वदेशी तथा विदेशी पर्यटकहरू भित्राउने लक्ष्यका साथ भ्रमण वर्ष घाेषणा गर्न लागिएकाे छ । फागुन ३ गते शनिबार पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा गरिने भएकाे हाे ।
पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले भ्रमण वर्षकाे औपचारिक घोषणा गर्ने बताइएकाे छ । महानगरका ३३ वटै वडाहरूबाट स्थानीय भेषभुषा सहित वृहद झाँकी निकालिने बिहीबार आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ ।
घोषणा समारोहको तयारीका लागि पाेखरा महानगरका नगर प्रमुख धनराज आचार्यको संयोजकत्वमा १ हजार ५० सदस्यीय मुलआयोजक समिति, आचार्य कै नेतृत्वमा एक निर्देशक समिति र पर्यटन क्षेत्रको प्रतिनिधित्वमा कार्यसम्पादन समिति सहित ४३ वटा उपसमितिहरू गठन गरिएका छन् ।
यी समिति तथा उपसमितिहरूमा पोखरा महानगर क्षेत्रमा क्रियाशील सरकारी र गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिहरू, चार वटै सुरक्षा निकाय, उद्योगी व्यवसायी, सूचना तथा सञ्चार क्षेत्र, राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय टोल विकास संस्थाहरू, अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरू लगायतको प्रतिनिधित्व रहेको छ ।
भ्रमण वर्षका अवसरमा विदेशमा पोखराको प्रवर्द्धन गर्ने गरी सद्भावना दूतहरू समेत घोषणा गर्ने तयारी गरिएको छ । वर्ष भरी पोखराको पर्यटन प्रवर्द्धनात्मक गतिविधिहरू सञ्चालन गरिने छन् ।








