सराङकोट महायज्ञमा १ करोड १३ लाख संकलन

सर्वज्योति
  • ख-
  • ख+

पोखरा, १८ फागुन।सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव अन्तरगत पाँचौं दिन आइतबारसम्म कुल १ करोड १३ लाख बढी दान संकलन भएको छ । आज मात्रै २० लाख बढी दान संकलन भएको महायज्ञका कोषाध्यक्ष शिव कोइरालाले जानकारी दिएका छन् ।

आइतबार सराङकोट जैसीथोक निवासी उमनाथ चपाई परिवारबाट रु.३ लाख २२ हजार २ सय २२, पोखरा १८ निवासी पूर्णप्रसाद तिमिल्सीनाको परिवारबाट पनि समान रु.३ लाख २२ हजार २ सय २२, पालिखेचोक निवासी विरेन्द्रमान् पालिखे परिवारबाट २ लाख ३३ हजार ३ सय ३३, जन्मदिनको अवसरमा महायज्ञका कोषाध्यक्ष शिव कोइराला परिवारबाट रु.७५ हजार, गोठादीका कर्णबहादुर थापा परिवारबाट रु.५० हजार १ सय एवम् अन्य दाताको समेत गरी रु.२० लाख बढी दान संकलन भएको कोषाध्यक्ष कोइरालाले जानकारी दिए।

महायज्ञ मध्यतिर आइरहदाँ भक्तजनको सहभागिता पनि बढ्दै गएकोे छ ।सुरुमा झरीका कारण केही प्रभावित सो यज्ञमा मौसममा क्रमिक सुधार आएसँगै जनसहभागिता बढ्दै गएको हो ।आजसम्म करिव ६० हजार दर्शकले सहभागिता जनाएको प्रचारप्रसार संयोजक कृष्ण थापाकाे भनाइ छ। अन्नपूर्ण केवलकार मार्फत आजसम्म १२ हजार, निःशुल्क बस सेवा मार्फत २० हजार तथा निजी सवारी साधन प्रयोग गरि त्यतीमा मात्रामा भक्तजन सराङकोट धाम पुगेको उनको भनाई छ।

समग्र कास्की, यहाँका विभिन्न संघसंस्था, पर्वत तथा तनहुँबाट पनि स्वस्फूर्त रुपमा भक्तजनको सहभागिता बढ्दै गएको उनले बताए। त्यसका साथै दाताको सहभागिता तथा दान रकम पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ।अझै दाताहरु आउने क्रम जारी रहेकाे र दाताको पहिचान पनि गरेकाे मूल आयोजक समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताए। प

सराङकोट पुग्ने विदेशी पर्यटक समेत यज्ञ स्थलमा रमाइरहेको देख्न सकिन्छ। सराङकोट धामसँगै त्यहाँ जारी यज्ञको शनिबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका हुन् । सराङकोटमा वि.स २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका तथा भैरव मन्दिर, स्वागतद्वार निर्माण भइसकेका छन् ।

ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ । त्यहाँ अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ । सराङकोट टपमा सडकका अलवा पोखरा स्थित सेदीबाट अन्नपूर्ण केवलबार मार्फत पनि पुग्न सकिन्छ । यज्ञ अवधिभर प्रतिव्यक्ति २ सयमा केबलकारबाट सराङकोट टप आउजाउ गर्ने व्यवस्था मिलाइएको छ ।अन्य समयमा भने दुईतर्फी यात्राका लागि ७ सय ५० लिने गरिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्