पोखरा । पोखरा महानगरपालिकाले बिराट कोटिहोम महायज्ञ रोक्न गरेको माग अस्वीकार गर्दै उच्च अदालत पोखराले यसअघिको अन्तरिम आदेशलाई नै सदर गरेको छ। सोमबार न्यायाधीश दीपेन्द्र अधिकारी र उमेश कोइरालाको संयुक्त इजलासले फागुन १ गतेको अन्तरिम आदेशलाई निरन्तरता दिएकाे हाे ।
उच्च अदालतका न्यायाधीशद्वय अधिकारी र कोइरालाको संयुक्त इजलासले यसअघि उच्च अदालतका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दको इजलासले गरेको फैसलालाई नै सदर गरेको हो । इजलासले यस मुद्दालाई अग्राधिकार दिएर छिटो पेशी तोकी कानूनसम्मत निर्णय गर्नसमेत आदेश गरेको छ ।
यही फागुन १ गते उच्च अदालतले कोटीहोम सञ्चालनमा कुनै बाधा अवरोध नगर्न अन्तरिम आदेश दिएको थियो । महानगरपालिकाले यो आदेश एक पक्षीय भएको आरोप लगाउँदै खारेज गर्न मागसहित उच्चमै निवेदन दिएको थियो । अन्तरिम आदेशमा असन्तुष्टि जनाउदै पोखरा महानगरपालिकाले फागुन १२ मा भ्याकेट निवेदन दर्ता गराएको थियाे ।
सो निवेदनमाथि सोमबार सुनुवाई गर्दै अधिकारी र कोइरालाको इजलासले फागुन १ गते भएको अन्तरिम आदेशलाई अन्यथा गरिरहनु नपर्ने फैसला गरेको हो ।
महानगरपालिकाको तर्फबाट अधिवक्ता शुकदेव गौतम र विपक्षी मानव सेवा फाउण्डेशनको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय कृष्णबहादुर थापा र राजु बस्नेतका साथै अधिवक्ता वीरेन्द्र केसी, दुर्गाप्रसाद कोइराला, दीपक शर्मा पौडेल र तोयनाथ पौडेलले बहस गरेका थिए ।
फागुन १ गते अदालतले मानव सेवा फाउण्डेशनले प्राप्त गरेका अनुमति पत्र, नेपाल ट्रष्ट र सम्बन्धित सरकारी निकायको निर्णय तथा महायज्ञ आयोजनाका लागि गरिएको तयारीलाई आधार मानेर विपक्षी पोखरा महानगरपालिका र मातहतका निकायलाई कानूनी रूपमा बाधा पुग्ने कुनै कारण बाहेक अन्य कुनै पनि अवरोध सिर्जना नगर्न आदेश दिएको थियो ।
पोखराको बाराहीघाटस्थित ४८ रोपनी क्षेत्रफलमा आयोजना गर्न लागिएको ‘श्री गण्डकी शत कुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ’ सञ्चालनमा कुनै बाधा अवरोध नगर्न आदेशमा भनिएको छ ।

आदेशमा भनिएको थियो, ‘मानव सेवा फाउण्डेशनले नेपाल ट्रष्टको स्वामित्वमा रहेको बाराहीघाटको करिब ४८ रोपनी जग्गा भाडामा लिएर २०८२ वैशाख सुरुदेखि ३० गतेसम्म कोटीहोम विराट ज्ञान महायज्ञ आयोजना गर्ने तयारी गरिरहेको छ, महायज्ञ सञ्चालनका लागि नेपाल ट्रष्टको कार्यालय, काठमाडौंले तोकिएको भाडा लिएर अनुमति दिएको छ भने पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, पोखराले समेत सहमति प्रदान गरिसकेको छ, साथै पोखरा महानगरपालिका वडा नं. ६ कार्यालयले मिति २०८१ मंसिर ९ गते पत्रमार्फत अनुमति प्रदान गरेको देखिन्छ ।’
केही दिन अघि पोखरा महानगरपालिकाले नेपाल ट्रष्टलाई पत्राचार गर्दै महायज्ञ सञ्चालनका लागि महानगरको तर्फबाट अनुमति नदिएको भन्दै पत्र पठाएको थियो । यस निर्णयलाई गैरकानूनी ठहर गर्दै मानवसेवा फाउण्डेशनले उच्च अदालतमा उत्प्रेषण परमादेशसहितको निवेदन दिएको थियो ।
मानव सेवा फाउण्डेशनले कोटीहोमका लागि २५ प्रतिशत तयारी पूरा गरिकसकेको भन्दै जसरी पनि कोटीहोम लगाएरै छाड्ने जनाएको छ । कोटीहोमका लागि काठ दाउरा संकलन गर्ने क्रममा चौतारीका वर पीपरका रुख ठुटै हुने गरी काटिएपछि तीव्र आलोचना भएको थियो ।
कोटी होममा श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमददेवी भागवत कथा वाचन हुनुको साथै लाखौँको विवाह, ब्रतवन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप, तीन सय भन्दा बढी ब्राह्मण गुरुको दैनिक उपस्थिति, लाखौँ रामनाम पुस्तिका वितरण गरी अरबौं रामनाम लेखिने र एक करोड शिवलिङ्ग स्थापना गरी एक करोड बेलपत्रद्वारा पुजन गरिने जनाइएको छ ।
आगामी २०८१ चैत्र १७ बाट २०८२ बैशाख १७ सम्म कोटीहोमको प्रचारात्मक कार्यक्रम हुने र बैशाख १७ देखि जेठ २६ सम्म कोटीहोम सञ्चालन गर्ने आयोजकको तयारी छ ।








