पाेखरा । प्रसिद्ध पर्यटकीय स्थल सराङकोटधाममा रहेकाे कैलाशेश्वर महादेव प्राङ्गणमा आरती पूजा हुन थालेका छ । फागुनकाे अन्तिम साेमबारदेखि मन्दिर प्राङ्गणमा आरती पूजाकाे थालनी गरिएकाे हाे ।
सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले प्रत्येक सोमबार साँझ ५ः३० बजेदेखि आरती पूजा गर्न थालेकाे हाे । आरती पूजामा सहभागी हुने भक्तजन र अवलाेकन गर्न जाने पर्यटकका लागि सुलभ दरमा केवलकारबाट जाने आउने व्यवस्था समेत गरिएकाे बताइएकाे छ ।
प्रत्येक साेमबार दिउसाे ४ बजेपछि केवलकारबाट आउन जान दुई सय ५० रुपैयाँमा टिकट लिन सकिने अन्नपूर्ण केवलकारका महाप्रवन्धक दिनेश पाैडेलले जानकारी दिएका छन् । केवलकारमा नेपाली पर्यटक र भक्तजनहरूका लागि साेमबार दिउसाे ४ बजेपछि याे विशेष व्यवस्था गरिएकाे हाे ।

त्यसैगरी नेपालीले चैत्र २५ सम्म केबलकारकाे टिकट ख़रीदमा ५०% छुट पाउने समेत व्यवस्था गरिएकाे बताइएकाे छ । त्यस मार्फत सराङकोट धामको थप प्रवद्र्धन हुने अपेक्षा गरिएको केवलकारका महाप्रवन्धक पाैडेलकाे भनाइ छ । अन्य व्यक्तिहरुको लागि भने केवलकारको शुल्क ७ सय रुपैया रहेको छ । पोखराको लेकसाइडबाट कम्पनीले निःशुल्क सटल बस सेवा संचालन गरेकाे छ ।
पञ्चमुखि गणेश मुर्ति, कैलाशेश्वर शिव मन्दिर, १०८ शिवलिङग तथा जलधारा, ऐतिहासिक भूमेकालिका तथा भैरव मन्दिर, भ्युटावर लगायतका संरचनाका कारण सराङकोटधामलाई पाेखराकाे प्रमूख धार्मिक पर्यटकीय गन्तव्यका रुपमा हेरिएकाे छ ।
५१ फिट अग्लो पंचमुखी गणेश मूर्तिको दिव्य उपस्थिति र अविस्मरणीय दृश्यहरूका कारण यस क्षेत्रकाे महत्व थप बढ्दै गइरहेकाे सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीकाे भनाइ छ ।

प्रत्येक साेमबार हुने आरतीका कारण धार्मिक पर्यटनमा थप टेवा पुग्ने विश्वास समितिले लिएकाे अध्यक्ष जिसीले बताएका छन् । समितिले उक्त आरतीको दर्शनका लागि सबै भक्तजनसँग आव्हान समेत गरेको छ।
यसअघि सराङकोट धामको उन्नयनका लागि समितिले गएकाे १४ फागुनदेखि २१ गतेसम्म श्रीमद् भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव गरेको थियो । त्यसमार्फत करिव ३ करोड दान संकलन भएको छ । सराङकोट धाममा नियमित पूजाआजा भने विगतदेखि नै हुँदै आइरहेको छ ।








