पोखरा । मानव सेवा फाउन्डेसनको आयोजनामा पोखराको लेकसाइडस्थित नेपाल ट्रष्टको जग्गा बाराहीघाटमा हुने तय भएको कोटिहोम पोखरा १७ स्थित सदा शिवजी शिद्धेश्वर हरिहर मन्दिर बिरौटामा हुने भएकाे छ । मन्दिरले भोगचलन गरेको गुठीको जग्गासहित आपपासका स्थानीयहरुको जमीनमा २०८१ चैत १७ गते देखि २०८२ जेठ २६ गतेसम्म कोटिहोम महायज्ञ आयोजना हुने भएकाे छ ।
बाराहीघाट क्षेत्रमा गत फागुन २३ गते कोटिहोम महायज्ञ स्थलको भूमिपुजन गर्ने क्रममा पोखरा महानगरपालिकाका नगर प्रहरीले भूमिपुजन रोक्न खोजेपछि दुवै पक्षविच झडपको स्थिति सिर्जना भएको थियो । झडपमा पोखरा नगरप्रहरी ११ जना र कोटीहोम पक्षधरका ९ जना घाइतेसमेत भएका थिए ।
फागुन २६ गते जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्लाअधिकारी, जिल्लाका सुरक्षा निकायका प्रमुख , पोखरा महानगरपालिकाकी उपप्रमुख, वार्ड अध्यक्षहरु कार्यपालिकाको सदस्यहरु, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, विश्वहिन्दु महासंघका प्रतिनिधि, कोटिहोम महायज्ञको आयोजक मानव सेवा फाउण्डेसन नेपालका प्रतिनिधि लगायतको उपस्थितिमा बैठक बसी कोटिहोम सञ्चालन गर्न दिने निर्णय गर्दै समस्या समाधान समिति गठन गर्ने निर्णय गरेको थियो ।
उक्त समितिले वैकल्पिक स्थानको खोजि गरी अन्ततः कोटिहोम महायज्ञ लेकसाइड क्षेत्रबाट पोखरा महानगरपालिका वार्ड नं. १७ मा रहेको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर (शिद्ध गुफा वेद विद्याश्रम गुठी व्यबस्थापन समिति) को स्वामित्वमा रहेको बिरौटाको जमिन तथाआसपासका स्थानीयको जमिन भाडामा लिएर सञ्चालन हुने भएको छ ।
पोखरा १७ मा रहेको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर व्यबस्थापन समिति, समस्या समाधान वार्ता समिति, पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटा, पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय कास्कीले कोटिहोम महायज्ञ सञ्चालन गर्नको लागि अनुमति दिए पश्चात अहिले कोटिहोम महायज्ञको आयोजक मानव सेवा फाउण्डेसन नेपाल कास्की परिवार महायज्ञको तयारीमा जुटिसकेको छ ।
आइतवार महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्णमूर्ती जीमहाराजलाई महायज्ञ स्थल आसपासमा रहेका आमा समूहका प्रतिनिधि, टोल बिकास समितिका प्रतिनिधिहरु, स्थानिय संघसस्थाका प्रतिनिधिहरु उपस्थित भई खुशी व्यक्त गर्दै भव्य स्वागत समेत गरेका थिए । उनीहरुले कोटिहोम सफल बनाउनको लागि ऐक्यबद्धता समेत व्यक्त गरेका छन् ।








