ईन्जिनियर न्यौपानेद्वारा ऋषिङ- घिरिङ कालिगण्डकी टारलाई राष्ट्रिय औद्योगिक रणनीतिक केन्द्र बनाउन पहल

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ । इन्जिनियर श्रीराम न्यौपानेले तनहुँको रिसिङ–घिरिङ गाउँपालिकामा अवस्थित कालीगण्डकी टार क्षेत्रलाई राष्ट्रिय औद्योगिक रणनीतिक केन्द्रका रूपमा विकास गर्न पहल सुरु गरेका छन्।

क्षेत्रको समग्र विकासका लागि इन्जिनियर न्यौपानेले अर्थविद्, लगानी बोर्ड नेपालका पदाधिकारी, गैरआवासीय नेपाली (एनआरएन) संघका नेतृत्व तथा पर्यटन व्यवसायीहरूसँग भेटघाट र छलफल गरेका छन्।

यसक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा अर्थविद् डा. स्वर्णिम वाग्लेसँग भेट गरी कालीगण्डकी कोरिडोरसँग जोडिएको तनहुँको रिसिङ–घिरिङ क्षेत्रमा फैलिएको करिब १० हजार हेक्टर समथर भर्जिन टारलाई धौबदी फलामखानीको कच्चा पदार्थ प्रयोग गर्दै स्टिल प्रोसेसिङ तथा म्यानुफ्याक्चरिङ प्लान्टसहितको राष्ट्रिय औद्योगिक रणनीतिक केन्द्रका रूपमा विकास गर्ने अवधारणाबारे विस्तृत छलफल गरेका छन्। उक्त छलफलमा राज्यको भूमिका, बजेट विनियोजन र लगानी मोडेलका विषयमा समेत विचार–विमर्श गरिएको थियो।

त्यसैगरी, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीसँगको भेटमा इन्जिनियर न्यौपानेले औद्योगिक रणनीतिक केन्द्रसम्बन्धी अवधारणाको प्रगति समीक्षा गर्दै सम्बन्धित मन्त्रालयहरूसँगको समन्वय, स्रोत परिचालन, लगानी संरचना तथा आगामी रोडम्यापबारे प्रारम्भिक छलफल गरेका छन्।

उद्योग सचिव मधुसुदन बुर्लाकोटीसँगको भेटमा पनि कालीगण्डकी कोरिडोरसँग जोडिएको रिसिङ–घिरिङको टार क्षेत्रलाई धौबदी फलामखानीको कच्चा पदार्थ प्रयोग गरी स्टिल प्रोसेसिङ तथा म्यानुफ्याक्चरिङ प्लान्टसहितको राष्ट्रिय औद्योगिक रणनीतिक केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावनाबारे अवधारणा प्रस्तुत गरिएको थियो।

यसैक्रममा गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्षद्वय जिवा लामिछाने र महेश श्रेष्ठ तथा पर्यटन व्यवसायी टासी लाक्पा शेर्पासँग भएको प्रारम्भिक छलफलमा रिसिङ–घिरिङको कालीगण्डकी टार क्षेत्रमा औद्योगिक केन्द्र स्थापना गर्न विदेशी तथा गैरआवासीय नेपाली लगानी कसरी आकर्षित गर्न सकिन्छ भन्ने विषयमा विचार–विमर्श गरिएको छ। सो अवसरमा इन्जिनियर न्यौपानेले क्षेत्रलाई दीर्घकालीन औद्योगिक रणनीतिक केन्द्रका रूपमा विकास गर्ने अवधारणा प्रस्तुत गर्दै सम्भावित लगानी अवसरबारे जानकारी गराएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?