ईन्जिनियर श्रीराम न्यौपानेलाई घिरिङ्गमा सम्मान

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ, -तनहुँ जिल्लाको घिरिङ गाउँपालिका वडा नम्बर ३ स्थित ग्याँजा गाउँमा एक विशेष कार्यक्रमका बीच वरिष्ठ इन्जिनियर श्रीराम न्यौपानेलाई भव्य रुपमा सम्मान गरिएको छ। रिसिङ र घिरिङ स्थित कालीगण्डकी नदी छेउमा रहेका समथरटारहरूलाई स्टिल, सिमेन्ट गिट्टी-बालुवा, हाइड्रोजन इनर्जी, रासायनिक मल र विस्फोटक पदार्थ उत्पादन सहितको राष्ट्रिय औद्योगिक रणनीतिक केन्द्र बनाउन सकिन्छ भन्ने अवधारणा प्रस्तुतकर्ता, भलिबल प्रतियोगिताको प्रमुख अतिथि, विद्यालयलाई डिजिटल सामग्री सहितको स्मार्ट बोर्ड, ह्विलचियर, स्ट्रेचर, साउन्ड सिस्टम आदिको हस्तान्तरण जस्ता कार्यक्रम गरी गाउँकै गौरवको रुपमा चिनिनुभएका न्यौपानेलाई स्थानीयवासीहरूले सम्मान व्यक्त गरेका हुन्।

कार्यक्रममा विद्यालय र गाउँको विकास, पूर्वाधार निर्माण र प्राविधिक क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदानको उच्च मूल्याङ्कन गरिएको थियो। स्थानीय समाजसेवी र युवाहरूले न्यौपानेको इमान्दारिता, लगनशीलता, पेशागत निष्ठा र समाजप्रतिको योगदान प्रेरणादायी रहेको बताएका थिए।

यसै अवसरमा गाँजा गाउँको टोलमस बसोबास गर्ने अधिकांश स्थानीयवासीहरू सामूहिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।

नवप्रवेशीहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीका पुर्व जिल्ला सभापति विकास सिग्देलले टीका लगाएर स्वागत गर्दै पार्टीको सिद्धान्त, सुशासन, पारदर्शिता र जवाफदेहिताको राजनीतिले आकर्षित गरेको बताएका छन्। उनीहरूले दलहरूको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै नयाँ राजनीतिक संस्कारको अपेक्षासहित रास्वपा रोजेको स्पष्ट पारे।

कार्यक्रममा बोल्दै वरिष्ठ इन्जिनियर न्यौपानेले भने- अब राजनीति गर्ने शैली परिवर्तन गर्न जरुरी छ। राजनीति भिजनमुखी र नतिजामुखी हुन आवश्यक छ।

कार्यक्रममा बोल्दै पार्टी प्रतिनिधिले ग्याँजा गाउँबाट देखिएको यो सामूहिक सहभागिताले देशभर सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे। “एउटै टोलबाट सामूहिक पार्टी प्रवेश हुनु परिवर्तन प्रतिको जनआकांक्षाको स्पष्ट सङ्केत हो”- उनको भनाइ थियो।

सम्मान र पार्टी प्रवेश कार्यक्रमले गाँजा गाउँमा उत्साह र राजनीतिक चेतनाको नयाँ तरङ्ग सिर्जना गरेको छ।
स्थानीयवासीहरूले आगामी दिनमा गाउँको समस्या समग्र विकास, सुशासन र नागरिक सहभागितामा अझ सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?